२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

न्याय खोज्न भौंतारिँदै

मनोज बस्नेत

काभ्रे — २८ वर्षदेखि बस्दै आएको घर गुन्डागिरी शैलीमा आएका एक समूहले डोजर लगाई भत्काइदिएपछि न्याय खोज्दै पीडित परिवार प्रहरी प्रशासनमा हारगुहार गर्न पुगेका छन् ।

कोही नभएको मौका छोपी घर भत्काउन आएको समूहले सामान झिक्न नदिई घर भत्काइदिएपछि उग्रतारा ६, सिनागालकी वृद्धा मिठु बानियाँसहित उनका परिवार न्याय खोज्दै प्रहरी प्रशासनमा पुगेका हुन् । दलबलसहित आएको समूहले चार दिनअघि घर भत्काइदिएका थिए । उनीसहित तीन परिवारका १३ सदस्य त्यस घरमा बस्दै आएका थिए ।
'हामीलाई न्याय चाहियो,' गहभरि आँसु बनाउँदै उनले भनिन्, 'पावर, पैसा छ भन्दैमा यहाँ जसले जे गरे पनि हुन्छ ?' न्याय पाउने आशामा प्रहरी, प्रशासनमा हारगुहार गरेको उनले बताइन् ।   
घरकै विषयलाई लिएर २ वर्षदेखि प्लटिङ गरी जग्गा बिक्री गर्ने समूह र बानियाँ परिवारबीच विवाद थियो । घर बनेको कित्ता ५७३ को २ रोपनी ११ आना जग्गा आफूहरूले किनिसकेको भन्दै प्लटिङ गर्ने समूहले यसअघि पटकपटक बानियाँको घर खाली गराउन प्रयास गरेका थिए । घर छोड्न नमानेपछि असोज १० मा प्लटिङ गर्ने समूहको पक्ष लिएर आएको समूहले बानियाँ परिवारमाथि आक्रमण गरेको थियो । आक्रमणमा मिठुका छोरा रामकृष्ण गम्भीर घाइते भएका थिए । उनको टाउकामा चोट लागेको थियो । त्यसबेला घटनाबारे जाहेरी दिन जाँदा इलाका प्रहरी बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक आश्विनकुमार गिरीले दर्ता गर्न मानेनन् । गिरी हाल जिल्ला प्रहरी कार्यालयमा छन् ।
'घर भत्काइसकेपछि मात्रै सूचना पायौं,' प्रजिअ दुर्गाप्रसाद भण्डारीले भने, 'अगावै सूचना आएको भए घर भत्काउन दिँदैनथ्यौं । घटनामा संलग्न डोजर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कानुनअनुरूप कारबाही गर्छौं ।' प्रहरीले डोजर चालक नगरकोटका २५ वर्षे कृष्ण तामाङलाई पक्राउ गरेको छ ।
मालपोतका अनुसार बानियाँकी काकी कान्छीसँग त्यो ज्ाग्गा दुई वर्षअघि उपेन्द्र सापकोटाले किनेको देखिन्छ । एक वर्षअघि उपेन्द्रसँग पाँचखालका राजन सापकोटाले जग्गा किनेको पाइयो । २०७० साउन २३ गते सापकोटासहित ६ जनाको नाममा जग्गाधनी प्रमाण पुर्जा जारी भएको छ । पछिल्लोपटक जग्गा किन्ने समूहले आफूले किनेको जग्गामा बनेको घर भन्दै भत्काउने प्रयास गरेको थियो । मालपोतको रेकर्डअनुसार त्यो समूहमा अनिता थिङ, राजनप्रसाद सापकोटा, रमेशप्रसाद सापकोटा, दीपकप्रसाद न्यौपाने, नारायण कट्टेल र महेशराज पौडेल छन् ।
'६ जना मिलेर हामीले त्यो जग्गा किनिसकेका छौं,' जग्गाधनी दीपक न्यौपानेले भने, 'आफ्नो नाममा रहेको जग्गाको घर खाली गराउनेबारे उनीहरूसँग धैरै पटक वार्ता गर्‍यौं । घरको क्षतिपूर्ति पनि दिन्छौं भन्दा उनीहरूले मानेनन् ।'

 

प्रकाशित : चैत्र १७, २०७० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?