जीप दुर्घटनामा ८ घाइते, २ गम्भीर

घनश्याम गौतम

गुल्मी — बुटवलबाट लिम्घातर्फ जाँदै गरेको जीप गुल्मीको रुरु गाविस ३ पुलक्याम्प नजिकै आज दुर्घटना हुँदा ८ यात्रु घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।


नेपाली सेनाले निर्माण गरी असोज १ गते देखि संचालनमा आएको रिडी रुद्रवेणी सडकको पुलक्याम्प नजिकै माथिबाट ढुंगा झरेपछि बचाउने क्रममा अनियन्त्रित भइ लु१ज १८३३ नम्बरको जीप सडकबाट कालिगण्डकीमा खसेको हो ।
सेनाले सडक निर्माणका क्रममा सडक छेउबाट झरेका ढुंगा र माटो कालिगण्डकीको किनारमै रहेकाले जीप डुब्न नपाउँदा दुर्घटनामा सबैको ज्यान बचेको प्रहरीले जनाएको छ ।
घटनास्थल पुगेका प्रहरी सहायक निरिक्षक बसन्त भुसालका अनुसार रिडी बजार नजिकै दुर्घटना भएकाले स्थानीयले तत्काल उद्धार गर्दा यात्रुहरुको ज्यान बचेको भुसालले जानकारी दिए । जीपको पछाडीको भाग कालिगण्डकीमै डुबेको छ ।
दुर्घटनाका घाइते मध्ये गुल्मीको लिम्घा गाविस ६ का २८ वषिर्य विनोद शाही, र लिम्घा गाविस ३ का ४३ वषिर्य युवराज ज्ञवाली गम्भिर छन् । उनीहरु सहित ४ जनाको मिसन अस्पताल र ४ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भैरहेको छ । घटनामा चालक सुकबहादुर ठाडामगर, ठुलोलुम्पेक गाविस ७ की रिना थापा, लिम्घा गाविस ३ का मिलन केसी, राधिका ज्ञवाली, हुमनाथ ज्ञवाली, गोविन्द ज्ञवाली र मुर्गिया २ रुपन्देहीकी मनु पौडेल र सबिप पौडेल घाइते भएको प्रहरी निरीक्षक महेन्द्र नेपालले बताए ।
जीप सडकबाट झण्डै ५० मिटर तल झरेको छ । ढुंगा जोगाउने क्रममा अनियन्त्रित भएको जीप सडक चौडा बनाउने क्रममा छेउमा थुपि्रएको माटोमा पुगेपछि जीप चिप्लिएर तल झरेको प्रहरी नियन्त्रणमा रहेका चालक सुकबहादुरले बताएका छन् । जीपमा १७ यात्रु सवार थिए ।


प्रकाशित : आश्विन ९, २०७१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?