कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जग्गा प्लटिङमा रोक लगाइने

काठमाडौ — सहरीकरण बढ्दै गएका क्षेत्रमा जथाभावी प्लटिङ गर्ने र अव्यवस्थित बस्ती विस्तार गर्ने प्रवृत्ति निरुत्साहित गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले योजना निर्माण नगरी प्लटिङ स्वीकृति र नक्सापास नगर्न गाविस र नगरपालिकाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशभरका सबै गाविस र नगरपालिकामा भूउपयोग योजना लागू गर्ने निर्णय गरेको हो ।
'भूउपयोग योजना नहुँदा गाविस र नगरपालिकामा मनोमानी ढंगले भौतिक संरचना निर्माण गर्ने परिपाटी बस्यो,' मन्त्रालयको नगरपालिका महाशाखाका सहसचिव गोपी खनालले भने, 'योजना बनाएपछि मात्रै स्थानीय निकायहरूले तोकिएको क्षेत्रमा प्लटिङको स्वीकृति दिनेछन् ।'
गाविस र नगरपालिकाको निश्चित क्षेत्रलाई निश्चित कामकै लागि वर्गीकरण गरी भूउपयोग योजना बनाउने र त्यसका आधारमा तोकिएको कामका लागि मात्रै भौतिक निर्माणको स्वीकृति दिनुपर्ने मापदण्ड मन्त्रालयले तयार गरेको छ । नयाँ घोषणा गरिएका ७२ सहित १ सय ३० नगरपालिकाबाट योजना सुरु गर्ने र त्यसपछि गाविसहरूमा पनि विस्तार गर्ने योजना रहेको सहसचिव खनालले बताए ।
सहर र नगरोन्मुख क्षेत्रमा बढदो अव्यवस्थित सहरीकरण रोक्न मन्त्रालयले भूउपयोग योजना कार्यान्वयनलाई अनिवार्य गर्न लागेको वातावरण शाखाका उपसचिव चक्रपाणि शर्माले बताए । 'जथाभावी विस्तार गरेको बस्ती अत्यन्त जोखिमयुक्त हुने खतरा छ' शर्माले भने ।
सहरी क्षेत्रमा राजमार्ग र सडकको निश्चित भाग छाडेर मात्रै बस्ती विस्तारको स्वीकृति दिनुपर्नेछ । योजनामा प्लटिङ क्षेत्रमा तोकिएअनुसार सडक, विद्युत्, खानेपानी र ढल लगायत संरचना निर्माण हुनुपर्नेछ । मापदण्डअनुसार नभए गाविस वा नगरपालिकाले नक्सा अस्वीकृत गर्न सक्नेछ । संसदको विकास समितिको निर्देशन अनुसार मन्त्रालयले हाल भइरहेका प्लटिङ समेत मापदण्ड अनुसार निर्माण भए/नभएको सुनिश्चित गरेर मात्रै स्वीकृत गर्न स्थानीय निकायलाई निर्देशन दिने तयारी गरेको छ ।




 

प्रकाशित : कार्तिक ४, २०७१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?