२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मृत्यु भएका अधिकांश डौड गाविसका

पूरै गाविस शोकाकुल
मोहन शाही

काठमाडौ — परिवारमा खान, लाउन नपुगेपछि डौड ५ का वीरे लुहार १२ वर्षकै उमेरदेखि भारतमा काम गर्दै आएका थिए ।

उनी मुम्बईमा चौकीदारी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । कमाइको पैसा जोगाएर गाउँमै जमिन किनेर श्रीमतीसँगै खेती-किसानी गर्ने उनको सपना थियो । त्यही सपनालाई साकार गर्न उनी शुक्रबार मुम्बई जानका लागि दिपायल-महेन्द्रनगरको बसमा पोकापन्तुरा हालेर निस्के ।
त्यही बस दमाईडाँडामा खस्दा उनको सपना त टुट्यो नै, सदाका लागि उनले संसार छाडे । भाइ वीरे गुमाएको पीडा सहन नसकी धौले लुहार शनिबार दिपायलमा छटपटाइरहेका भेटिए । भाइ बितेको खबर सुनेपछि अत्तालिएका धौलेले पीडा पोख्दै भने, 'यतिबेला आँखाअगाडिको गाड (खोला), पहाड र खोंच केही देखिरहेका छैनौं, हामी गरिबका लागि मृत्यु पनि कति सस्तो भएर आउँदोरहेछ ।'
रिनुवा ढोली पनि अन्नपातकै समस्या झेलेर भारत जान घरबाट निस्केका थिए । श्रीमती तुलीलाई सँगै लगेर दु:खसुख साट्ने उनको योजना थियो । 'तर मेरा जेठा दाइ र भाउजूको मृत्यु त्यसरी हुनु लेखेको रहेछ,' रिनुवाका भाइ पदम ढोलीले भने, 'खान, लाउन नपुगेर परदेश हिँडेका मजदुरका घरमा बज्रपात भयो ।'
दुर्घटनामा परी मरेका तथा घाइते भएका डौड गाविसका आफन्तहरू गाडी भाडा नपाएर दिपायलमा शनिबार बेलुकीसम्म अलपत्र थिए । 'नियमित गाडी पाउन सकेनौं, रिजर्भ गरेर जान सक्ने पैसा हामीसँग छैन,' डौड ५, पातालगाउँका डम्बर भण्डारीले भने, 'सकिन्छ भने हामीलाई अहिले गाडीको व्यवस्था गरेर मृत आफन्तहरू रहेको ठाउँसम्म पुर्‍याई मन शान्त पार्ने व्यवस्था गरिदिनुस् ।' भण्डारीका भाइ जन्मबहादुर र भाउजू बिस्नाको मृत्यु भएको छ भने भतिज कृष्णको कम्मर भाँचिएको छ । बुहारीको हात र दाँत टुटेको छ । भारतको सितारगन्जमा पत्थरीको अप्रेसन गरेकाले पुनः परीक्षणका लागि नातिनी बोकेर भाउजू, भतिज र बुहारी घरबाट गएको डम्बर भण्डारीले बताए । भाइ जन्मबहादुर भने कामका लागि भारत जान लागेका थिए ।
घरको चुलो बाल्न भारत जाने कामदार बोकेर गएको बसमा अधिकांश डौड गाविसका थिए । दुर्घटनाका कारण डौड गाविस शोकाकुल छ । वासुदेवीका ३ जनाको पनि मृत्यु भएको छ । अधिकांश विपन्न समुदायका भएकाले कैलालीमा भएको दुर्घटनामा आफन्तको मृत्यु र घाइते हुँदा पनि समयमा पुग्न सकेनन् । 'गाउँमा ऋण खोज्नै समस्या भयो,' धौले लुहारले दुःखेसो गरे, 'जता गए पनि सबैका आफन्त परेका छन्, कसलाई सहयोग माग्ने समस्या नै भयो ।' डोटीमा सबैभन्दा बढी रोजगारी खोज्दै भारत जाने गाविसमध्ये डौड पर्छ । डौड गाविस सचिव लालबहादुरले दुर्घटनाले असह्य क्षति पुर्‍याएको बताए । उनले घाइतेको उपचार र मृतकको दाहसंस्कारका लागि खर्च अभाव रहेकाले सम्बन्धित निकायलाई सहयोग गर्न अपिल गरे । दुर्घटनामा मृत्यु भएका १२ मध्ये ७ जना डौड गाविसवासी हुन् ।
डोटीका सभासद वीरबहादुर बलायरले शोक वक्तव्य जारी गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित घाइतेहरूको उपचारमा तत्काल लाग्न आग्रह गरेका छन् । सवारी दुर्घटना बढ्दै गइरहेकाले ट्राफिक नियमको पालना गर्न सभासद बलायरले सबैमा आग्रह गरेका छन् । त्यस्तै नेपाली कांग्रेस डोटीले पनि शोक वक्तव्य जारी गर्दै उचित क्षतिपूर्तिका लागि पहल हुनुपर्ने बताएको छ ।



 

प्रकाशित : मंसिर १४, २०७१ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?