कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'हेड सर' जेल परेपछि विद्यार्थी अलपत्र

भूषण यादव

वीरगन्ज — पर्साको एक दलित प्राविका प्रधानाध्यापक हत्या कसुरमा जेल परेपछि त्यहाँ अध्ययनरत करिब एक सय विद्यार्थी अलपत्र परेका छन्। सदरमुकाम वीरगन्जबाट ५५ किमि पश्चिम महादेवपट्टी गाविसको प्राणनाथ दलित प्राविका प्रअ जवाहिर पासवान ०७० पुस २९ मा कारागार चलान भएका हुन्।

'हेड सर' जेल परेपछि विद्यार्थी अलपत्र

सुवर्णपुर ४ का भगन पासवानका १६ वषर्ीय छोरा कमलेशको हत्यामा पासवानको संलग्नता प्रमाणित भएपछि अदालतले कैद तोकेको हो। ०७० असार २४ गते राति खाना खाएर गएका कमलेशको भोलिपल्ट बिहान घरनजिक बाँसघारीमा शव फेला परेको थियो। 'हेड सर' जेल गएपछि विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ। विद्यालयको खाता रोक्का भएकाले राहत र बालविकासका शिक्ष्ाकले तलब पाएका छैनन्। बिहीबार विद्यालय पुग्दा कलिला विद्यार्थी कक्षाबाहिरको खाल्डो पुर्न माटो हालिरहेका थिए। केहीले विद्यालय पोसाकसमेत लगाएका थिए।
हातमा कोदालो र तगाड बोकेर पालैपालो माटो ओसारिरहेका थिए। दुईकोठे भवनमा छानो नभएकाले जाडोमा बाहिर घाममा पठनपाठनका लागि खाल्डो पुरेको विद्यालयकी परिचर हीरामती पासवानले बताइन्। 'हेडसर जेल जानुअघि एक सयभन्दा बढी विद्यार्थी आउँथे,' उनले भनिन्, 'अहिले २५/३० जना मात्र आउँछन्।' नजिकै अर्को विद्यालय नभएकाले अधिकांश विद्यार्थी घरमै दिन बिताइरहेका छन्। उक्त विद्यालयमा अधिकांश विद्यार्थी दलित समुदायका छन्। 'सबैको पढाइ बिथोलियो,' उनले भनिन्, 'विद्यालयको खाता रोक्का भएकाले १० महिनादेखि तलब पाएको छैन।'
राहत र बालविकाससहित विद्यालयमा दुई शिक्षकको दरबन्दी छ। प्रअ जेल गएपछि बालविकासकी शिक्षिका कमलावती पासवान पनि आएकी छैनन्। 'उनी प्रअकी श्रीमती हुन्,' परिचर पासवानले भनिन्, 'निजी स्रोतकी शिक्ष्ािका गीता बस्नेत पनि तलब नपाएपछि कात्तिकदेखि अनुपस्थित छिन्।' परिचर पासवान प्रअकी भाइबुहारी हुन्। उनका पति व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन्, जो दाइ जेल परेपछि मजदुरी गर्न भारत गएका छन्।
उक्त विद्यालयबारे आफूले जानकारी पाएको जिल्ला शिक्ष्ाा अधिकारी बरखुप्रसाद रजकले बताए। 'विद्यार्थीको पठनपाठन प्रभावित बनेको सूचना पाएको छु,' उनले भने, 'विद्यालयसम्म पुग्न सकेको छैन।' शिक्षक व्यवस्था गरी विद्यालय सुचारु गर्न स्रोत व्यक्तिलाई निर्देशन दिइएको उनले बताए। हालसम्म जिल्ला शिक्षाबाट कसैले चासो नलिएको स्थानीय महेन्द्र पासवानले गुनासो गरे।
विद्यालयको समस्या समाधानका लागि पहल थालिएको व्यवस्थापन समिति अध्यक्ष रमेश यादवले बताए। विद्यार्थीलाई अल्झाउन भए पनि उनले गाउँकै पुनम कुमारीलाई हेरचाह गर्न खटाएका छन्।
 

प्रकाशित : मंसिर २६, २०७१ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?