कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाध्यताले गाउँ छाड्दै भोटे

अर्जुन शाह

बाजुरा — आफ्नो घर र गाउँ समाज चटक्क छाडेर बिरानो ठाउँमा हेपिएर गुजारा चलाउने रहर कसलाई पो हुन्छ र ! तर, बाध्यताका अगाडि कसको के लाग्छ? बाजुराको हिमाली भेगमा बसोबास गर्ने भोटे समुदाय मन भारी पार्दै जाडो छल्न गाउँघर छाडिरहेका छन्।

बाध्यताले गाउँ छाड्दै भोटे

अगाउँपानीका अधिकांश परिवारले घर छाडेर औल झर्ने तयारी गरेपछि श्रीलाल बिष्टले सबै दाजुभाइलाई निम्त्याएर भोजभतेर गरे। गाउँघर हेरचाह गर्न १/२ परिवारका बुढापाकालाई मात्रै छाड्ने सरसल्लाह भएको छ। घर बस्ने र औल झर्नेहरू एकसाथ बसेर मीठो मसिनो खाएर भोलिपल्ट पाँच महिनाका लागि छुट्टिँदै छन्। 'मन भारी बनाएर हामी गाउँ छाड्दै छौं,' श्रीलालले भने, 'वैशाखमा सबै सँगै फर्किन्छौं।'
मार्तडी, पाण्डुसेन, कोल्टी, कोटिला, बाँधु र बिच्छ्याँ गरी ६ गाविसमा भोटे समुदायको बसोबास छ। उनीहरू मंसिरदेखि पुसभरि यसैगरी गाउँघर छाड्छन्। 'हिउँदमा बस्ती सुनसान हुन्छ,' अगाउँपानीकै मेदाआङ्मु बिष्टले भनिन्।
यतिबेला पाण्डुसेनको उपल्लो क्षेत्रमा असाध्यै जाडो छ। बादल लाग्नासाथ हिमपात सुरु हुन्छ। हिमपातमा भेडाच्यांग्राको चरिचरन नहुँदा झनै कष्टकर हुन्छ। रूखो जमिनको उत्पादनले छाक टार्ने खेतीपाती हुँदैन। यही कारण उनीहरू चिसो छल्न औल र्झछन्।
सात वषर्ीया छोरीलाई घोडाको पिठ्यूँमा बाँधेकाले बिच्छ्याँका ज्याबल थापाको परिवारलाई घोडा र भेडा गन्तव्यसम्म डोर्‍याउन सजिलो भएको थियो। जिल्लाको विकट बिच्छ्याँका ज्याबलको परिवार घर छाडेर औल झरिसकेको छ। आफ्नो मुख्य सम्पत्तिका रूपमा रहेका करिब ५० भेडाच्यांग्रासहित ५ जनाको परिवार दक्षिणी क्ष्ाेत्रको बार्जुगाढमा बस्ने योजनामा छ। पाण्डुसेनकै रामबहादुर गुरुङको परिवार भने अछामको साँफेबगर बस्ने सोचमा छ।
गाउँमा हिउँदे अन्नपात नफल्ने र भेडाच्यांग्राको चरिचरन मुख्य समस्या हुने भएकाले यस अवधिमा उनीहरू औल झर्ने गरेको भोटे जनजाति सेवा समितिका अध्यक्ष नृप थापा भोटे बताउँछन्। 'यो बाध्यता पुर्खौंदेखि चलिआएको छ,' उनले भने। बाजुरा र अछामका विभिन्न स्थानमा पाल टाँगेर अस्थायी गुजारा चलाउने उनीहरू भेडाबाट विकट गाउँमा नुन, चामललगायत सामान ओसारपसारबाट भएको कमाइले गुजारा चलाउँछन्।
भेडाच्यांग्रा पालन तथा सामान ओसारपसार गर्ने पुख्र्यौली व्यवस्ााय गर्ने बेला उनीहरूको जीवनशैली नै बेग्लै थियो। बीचमा भेडाच्यांग्राका बथान र सुरक्षाका लागि अगाडि-पछाडि डरलाग्दा भोटे कुकुर लिएर मध्यरातदेखि हिंड्ने र दिनभर आराम गर्थे। दिउँसो भेडाच्यांग्रा चराउँथे। अहिले त्यस्तो छैन। मध्यरातमा भोटे हिडेको अहिले सुनिँदैन, दक्षिणी भेगका बासिन्दाले देख्नै छाडेको वषौर्ं भइसक्यो।

प्रकाशित : पुस १२, २०७१ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?