कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

देवघाटमा श्रद्धालुको घुइँचो देव घाटमा श्रद्धालुको घुइँचो

पवन यादव

देवघाट (तनहुँ) — चितवन र तनहुँको संगम पवित्र तीर्थस्थल देवघाट धामस्थित बेनीमा बिहीबार बिहान ३ लाखभन्दा बढीले स्नान गरेका छन् ।

मुक्ति मिल्ने विश्वाससाथ बनेपाबाट बिहान ५२ जनाको टोलीमा मीना घिमिरे पनि आइपुगिन् ।
६२ वर्षीया उनले चौथो पटक स्थान गर्न आएको बताइन् । 'आफूबाट भएका पाप/दोष कटाउन आएकी हुँ,' उनले भनिन्, 'यहाँ नुहाउँदा पाप कट्छ ।' गाडी रिजर्भ गरेर आफूहरू यहाँ आएको उनले बताइन् । उनीजस्तै माघीस्नान गर्न परिवारसहित मकवानपुरको शिखरपुर ३ की सविना लामा पनि आएकी थिइन् । उनी गाउँबाट ७० जना तीर्थालुसाथ आएकी हुन् । सबैले पाप नष्ट पार्न देवघाट आइपुगेको बताए । नदीको संगममा श्रद्धालुले र्‍याफ्टिङमा ओहोरदोहोर गरे । सुरक्षाका लागि सशस्त्र प्रहरी बल कुरिनटारको गोताखोर टोली तैनाथ थियो ।
 दर्जनभन्दा बढी आधुनिक र काठको डुंगा नदीमा यात्रुको सुविधाका लागि सञ्चालनमा थिए । मेला भर्न पूर्व मेचीदेखि पश्चिम महाकालीलगायत भारतका विभिन्न स्थानबाट श्रद्धालु मेला भर्न आएका थिए । स्थानसाथै पूजापाठ गरी श्रद्धालु फर्केका छन् ।
टाढाका तीर्थालु बुधबारदेखि देवघाटधाममा आएर बसेका थिए । उनीहरूले रातिदेखि स्नान सुरु गरेका थिए ।
मेलालाई व्यवस्थित बनाउन देवघाट धाम क्षेत्र विकास समिति सक्रिय भएको थियो । मेला व्यवस्थापन गर्न १२ वटा विभिन्न उपसमिति बनाइएको थियो । सहजताका लागि नदीको किनारमा १६ वटा ठूला बत्ती जडान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले बताए । मेलामा अपि्रय घटना नभएको उनले बताए । भीड हुन नदिन सडकलाई एकतर्फी सञ्चालन गरिएको थियो । तीर्थालुका लागि बेनीघाटस्थल र आपटारीदेखि देवघाटसम्ममा गरी ३० वटा शौचालय बनाइएको सशस्त्र प्रहरी उपरीक्षक शम्भु उप्रेतीले बताए । मेला व्यवस्थापन समितिको सहयोगमा सशस्त्रले शौचालय बनाएको
उनले बताए । मेलामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तनहँु र चितवनबाट गरी करिब ५ सयभन्दा बढीको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी परिचालित थिए ।
देवघाट धाममा रहेका मठमन्दिर, आश्रमको सरसफाइ गरिएको मेला अनुगमन समितिका टंकनाथ पौडेलले बताए । धार्मिकस्थल मुक्तिनाथदेखि बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डदेखि बग्दै आएकी त्रिशूली नदीको संगमस्थल बेनी हो । बेनी घाटमा स्नान गर्नाले मोक्ष प्राप्ति, बैकुण्ठ धाम जाने, स्वर्ग लोक जाने विश्वास छ । धार्मिक ग्रन्थमा समेत यसको पुष्टि गरिएको छ । माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन ३३ कोटी देवीदेवता बेनीघाटमा स्नान गर्ने किंबदन्ती छ । तीर्थालुका लागि गलेश्वर आश्रम, हरिहर आश्रम, महेशसंन्यास आश्रम, मठमन्दिरमा र नअट्नेलाई त्रिपालमुनि बस्ने व्यवस्था मिालाइएको थियो ।



 

प्रकाशित : माघ २, २०७१ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?