कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कौवाघारीको 'शान्ति गाउँ’ सपना

दुर्गालाल केसी

कौवाघारी (दाङ) — सार्की समुदायको बसोबास रहेको गोल्टाकुरी ८ स्थित कौवाघारी गाउँको खुसी सशस्त्र द्वन्द्वले त्यतिबेला लुट्यो, जतिबेला घाँसपातका लागि जंगल गएका १२ जना मारिए। त्यो दुःखलाई सुखमा बदल्न शान्तिकालमा गाउँलेले बस्तीलाई 'शान्ति गाउँ' बनाउने सपना देखेका छन्।

कौवाघारीको 'शान्ति गाउँ’ सपना
तर, पहुँचविहीन द्वन्द्वपीडितको माग न राजनीतिक दलहरूले बुझे, न त सरकारले सुनेको छ।
राजाकोट जंगलको फेदीमा रहेको यस गाउँका सार्की किसान जंगलमा निर्भर थिए। दाउरा, हलो, जुवा, घरमा प्रयोग हुने काठ र घाँसपात लिन जंगलमा जान्थे तर त्यही जंगल सशस्त्र द्वन्द्वका क्रममा उनीहरूका लागि
काल बन्यो।
०५९ साउन १६ गते राजाकोटको जंगलमा हलो, जुवा लिन गएका कौवाघारीका सार्की दाजुभाइलाई सुरक्ष्ाा फौजले माओवादी आरोपमा हत्या गर्‍यो। रेेशम, निपबहादुर, देवीराम, रामप्रसाद, भूपाल, रमेश, मंगल, रमेश, सोमराज, रामलाललगायतलाई लाइन लगाएर गोली हानियो। सँगै गएका छविलालमात्र भागेर बाँच्न सफल भए। घटनापछि रेशमकी श्रीमती राधाले चिन्तैचिन्तामा २४ दिनभन्दा बढी बिताउन सकिनन्। भदौ १० मा उनले आत्महत्या गरिन्। उनका छोरी मिना, लुमा र छोरा अनिल अलपत्र परे। कौवाघारीमा झनै पीडा थपियो। एकै घरबाट तीन छोरा गुमाउने पनि छन्। कतिले एकै घरका दाजुभाइ गुमाए। कौवाघारी पीडैपीडाको गाउँ थियो। मरेर पनि बाँचेको भन्दै छविलालका नाममा गाउँमा चोक नै नामकरण गरियो। त्यही गाउँमा आजभोलि नमुना शान्ति गाउँको चटारो छ। युद्धले दिएको पीडा भुल्न गाउँमा विकासका संरचना थप्ने काम भइरहेको छ। सडक, नाला, खानेपानी
ट्यांकी, कुवा, सिँचाइ, चौपारी निर्माणजस्ता काममा द्वन्द्वपीडित खटेका छन्।
'पीडा त के मेटिन्थ्यो र तैपनि बसेको गाउँठाउँको विकास हुँदा केही सान्त्वना हुन्छ। सधैं द्वन्द्वपीडित भनिने गाउँको परिचय अब शान्ति गाउँका रूपमा होस् भन्ने चाहना छ,' छोरा सोमराजलाई गुमाएका देवबहादुर सार्कीले भने, 'युद्धले क्ष्ाति पुर्‍याएको गाउँलाई विकासमा नमुना बनाउनु आवश्यक छ। अब फेरि त्यस्तै पीडा भोग्नु नपरोस् भन्ने कामना छ।'
उनी विगत सम्झँदा बेचैन हुन्छन् तैपनि गाउँमा थपिएका केही विकासले जीवनप्रति आशावादी छन्। 'घटना सम्झँदा पागलजस्तो हुन्छु। अहिले बेसहारा छु। बुढेसकालमा सहायता गर्ने कोही छैन,' उनले भने, 'जंगलमा काम गर्न गएका छोराहरू मारिए। हाम्रो के दोष थियो? त्यो क्ष्ातिको राहतस्वरूप हाम्रो गाउँको विकासमा बजेट आउने गरेको छ। यसलाई सदुपयोग गरी गाउँको विकास गर्दैछौं।' उनले छोराको मृत्युपछि नातिहरू १४ वषर्ीय दिनेश र ११ वषर्ीय सुशीलको पालनपोषण गरिरहेका छन्। बुहारी माया काठमाडौं बसेर सिलाइकटाइ व्यवसाय गर्छिन्।
सरकारले द्वन्द्वकालमा धेरै क्ष्ाति बेहोरेका ठाउँमा शान्ति गाउँका लागि बजेट दिन थालेपछि कौवाघारीमा विकासका केही संरचना बनेका हुन्। हालसम्म ४३ लाख लगानी भएको नमुना शान्ति गाउँ निर्माण समिति अध्यक्ष नेत्रबहादुर सार्कीले बताए। यस वर्ष पनि ३० लाख विनियोजन भएको उनले जानकारी दिए। अहिलेसम्म गाउँभित्र छविलाल चोकदेखि गोरा डाँडासम्म डेढ किलोमिटर सडक फराकिलो बनाउने, नाली निमर्ाण गर्ने र ग्राबेल गर्ने काम सम्पन्न भएको छ।
दुई वटा कुवा खनेर सिँचाइका लागि मोटर जडान गरिएको छ। तुई सोताबाट एक हजार मिटरसम्म पाइप बिस्तार गरी सिँचाइका लागि तयारी गरिएको छ तर यसपालि वषर्ामा बाढीले क्ष्ाति पुर्‍याएपछि अवरोध भएको छ। गाउँमै चौपारी निर्माण भएको छ। यस वर्ष गोरा डाँडादेखि गैरागाउँ हुँदै बंगलापुरसम्म सडक निर्माण र बागे चिरामा कल्भर्ट निर्माण गर्ने योजना रहेको अध्यक्ष सार्कीले बताए।
सडकको समस्या भएकाले यसैमा प्राथमिकता दिएको उनले बताए। 'एम्बुलेन्स आउने बाटोसमेत नभएकाले पहिले सडकमा लगानी गर्‍यौं। अब आयआर्जनका काम गर्ने सोच छ,' सार्कीले भने, 'युद्धको पीडा सम्झेर कति रोइरोइ बस्नु। अब बाँकी जीवन सहज बनाऔं भन्ने लागेको छ। युद्धको क्ष्ातिलाई विकासमा
बदल्दै छौं।'
गाउँमा केही विकासका संरचना बने पनि दोषीलाई कारबाही नहुँदासम्म चित्त नबुझ्ने लक्ष्मी नेपालीले बताइन्। 'दोषीलाई कारबाही भएपछि मात्र हाम्रो मनमा शान्ति आउनेछ। गाउँलाई नमुना शान्तिमात्र भनेर भएन,' उनले भनिन्, 'श्रीमानको हत्या गर्नेलाई कारबाही भएको देख्न चाहन्छु। कुनै पनि पार्टीमा नलागेका दाउरा बेचेर खाने गरिबलाई त्यसरी लाइन लगाएर गोली हान्नु जघन्य अपराध हो।'
युद्धकालमा कौवाघारीजस्ता पाँच वटा 'सामूहिक हत्याकाण्ड' भएका थिए। पाँच घटनामा पाँच दर्जनभन्दा बढी सर्वसाधारणको राज्य पक्षबाट ज्यान गएको छ। सेनाबाट घोराही ३ बर्गद्धीमा ११, लक्ष्मीपुर ३ बेलुवामा ९ र फूलबारी ६ बाख्रेमा ६ जना सर्वसाधारणको हत्या भएको थियो। यसैगरी डुरुवा ५ पहरूवामा ८ जना किसानलाई बेपत्ता पारिएको छ। यी सबै घटनाका मृतकहरू दलित र थारू समुदायका मात्र छन्। बर्गद्धी, बेलुवा र पहरूवामा थारू तथा फूलबारी र गोल्टाकुरीमा दलित समुदायका किसानहरू मारिएका हुन्।
सबै मृतक आफ्नो जीविका चलाउने काममा रहेका बेला र संस्कृतिअनुसार चाडपर्व मनाइरहेका बेला मारिएका छन्। लक्ष्मीपुरको बेलुवामा बाली भित्रिएपछि थारू समुदायमा मनाइने पेन्नेई पर्वका अवसरमा थारू किसान मारिएका हुन्। फूलबारीको बाख्रेमा तीजको अघिल्लो दिन मासु काटिरहेका बेला दलित समुदायका किसानहरू मारिएका हुन्। यसैगरी डुरुवाको पहरूवामा थारू समुदायको हारे गुरुवाको पूजाआजाका क्रममा पक्राउ गरी बेपत्ता पारिएका हुन्। घोराहीको बर्गद्धीमा धान दाइँ गरिरहेको समयमा खेतमै सेनाले लाइन लगाएर गोली हानेको थियो। यी सबै ठाउँमा शान्ति गाउँ निर्माणको सपना छ तर बजेट अभावमा भनेजस्तो काम हुन सकेको छैन।

प्रकाशित : माघ १७, २०७१ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?