२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वसन्तपुरमा तीनतले चीर ठड्याइयो

चेतबहादुर सिंह

काठमाडौ — हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ बिहीवार तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु भएको छ । विहानैदेखि राजधानीमा मेघ गर्जनका साथ अविरल पानी परिरहेको भए ता पनि चीर ठड्याउन आउने धालसिक्वमा मानन्धरहरुमा निकै उत्साह देखिन्थ्यो ।

हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ बिहीवार तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु भएको छ । विहानैदेखि राजधानीमा मेघ गर्जनका साथ अविरल पानी परिरहेको भए ता पनि चीर ठड्ाउन आउने धालसिक्वमा मानन्धरहरुमा निकै उत्साह देखिन्थ्यो ।
विहान ११ बजेर २३ मिनेटको शुभ साइतमा रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिव ३२ फीट अग्लो बाँसको चीर ठड्याएका थिए । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु गरेका थिए । त्यस अवसरमा गुरुजुको पल्टनले बन्दूक पडकाई बधाई गरेका थिए ।
चीर उठाएको हेर्न बसन्तपुरमा विदेशी पर्यटकहरु समेतको भीड लागेका थिए । त्यसै अवसरमा हनुमानढोकादरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याईएको मयलको रुखको हाँगा गाढेर पूजा गरेका थिए । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्नमुद्राका गोपीका मूर्तिहरु सजाई अविर छर्केर पूजा गरेका थिए ।
ऋतुहरुका राजा बसन्त ऋतुको आगमनलाई नेपालीहरु त्यसरी नै एकापसमा रंग अविर छ््यापी होली अर्थात फागु खेलेर स्वागत गर्ने परम्परा छ ।
फाल्गुणशुक्ल पूणिर्मा फागुन २१ गते राति ९.०७ बजेको साइतमा चीरलाई ढाली तानेर लगी टुंडिखेलको मध्यभागमा पुर्‍याएर १०.२५ दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलीपल्टदेखि बसन्त ऋतु प्रारम्भ हुनेछ ।
ऋतुराज बसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणिय देखिन थालेको वातावरमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ्ग, घोट्टा पिउने तथा ख्याली, टप्पा, बसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतिहरुले यस पर्वलाई आफूले मन पराएकासंग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायापि्रतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रुपमा पनि लिने गर्दछ । तराई भेकतिर भने पूणिर्माको भोलिपल्टदेखि होली सुरु हुन्छ ।
यस पर्वमा चीर ठड्याउने परम्परा सम्वन्धमा एक लोककथनअनुसार एक पटक यमुना नदीमा एक समूह गोपीनीहरु निवस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान श्रीकृष्णले ती गोपिनीहरुकोे सबै लुगाहरु नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्काे हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरुले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने 'निबस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरु दिनेछु ।' त्यसअनुसार गोपिनीहरुले श्री कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरु झारी दिएका थिए । श्री कृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतिकमा रंगीचंगी कपडाका टुक्राहरु झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्ने छ ।




प्रकाशित : फाल्गुन १४, २०७१ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?