सभासद महतो भए 'महामूर्ख'

जनकपुरमा हाेलीकाे राैनक
श्यामसुन्दर शशि

जनकपुर — मिथिला नाट्यकलाले बिहीबार आयोजना गरेको महामूर्ख सम्मेलनमा सभासद एवं पूर्वमन्त्री शत्रुघ्न महतो महामूर्ख घोषित भएका छन् । परिषद्का अध्यक्ष मदन ठाकुरले महतोलाई फलफूल र तरकारीको...

सभासद महतो भए 'महामूर्ख'
मिथिला नाट्यकलाले बिहीबार आयोजना गरेको महामूर्ख सम्मेलनमा सभासद एवं पूर्वमन्त्री शत्रुघ्न महतो महामूर्ख घोषित भएका छन् । परिषद्का अध्यक्ष मदन ठाकुरले महतोलाई फलफूल र तरकारीको कलात्मक माला, प्रशस्ती पत्र तथा प्रेमोपहार प्रदान गरेर वर्ष २०७१को महामूर्ख घोषणा गरेका थिए ।
दुई दिवसीय फागु महोत्सवको पहिलो दिन बुधवार फागु गीत प्रतियोगिता आयोजन गरेका थिए । प्रतियोगितामा सात ग्रामीण समूह सहभागी थिए । यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेशरंजन झालाई मूर्खाधिराज, बृहत्तर जनकपुर क्षेत्र परिषदका कार्यकारी निर्देशक उमेश यादवलाई वंशकुडहरि,पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई अजगर सिंह,प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानालाई मच्छराधीश उपाधि दिइयो ।
यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरलाई हराशंख, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीरालाई सिलौटानान्द, रामानन्द युवा क्लवका पुर्व अध्यक्ष जीवनाथ चौधरीलाई टुनमुसरीलाल, साहित्यकार अयोध्यानाथ चौधरीलाई खेसारीलाल, माडवारी युवा मञ्च जनकपुरका अध्यक्ष विशाल चौधरीलाई बोतलानन्द,युवा समाजसेवी सरोज मिश्रलाई वैशाखनन्दन तथा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य निर्मलकुमार चौधरीलाई बहुगामी पदवी प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई मिनापका पदाधिकारीहरुले तरकारीको माला ,प्रमाणपत्र र प्रेमोपहार प्रदान गरेका थिए । कार्यक्रममा हास्य कवि गोष्ठी,फागु गीत तथा हास्य क्षणिका पनि प्रदर्शन गरिएको थियो । रमेश रञ्जनको परिकल्पना तथा परमेश झाको निर्देशनमा मञ्चित नाट्य क्षणिकामा संविधानसभामा विद्यमान गतिरोध बारे चोटिलो व्यङ्ग प्रहार गरिएको थियो ।
जानकी मन्दिर प्राङ्गणमा उपस्थित हजारौंको सहभागितामा सम्पन्न कार्यक्रममा मिथिला नाट्यकला परिषदका कलाकारहरु सुनिल मल्लिक,ललित कापर,रामनारायण ठाकुर,मदन ठाकुर, गंगाकान्त मिश्रलगायतले फागु गीत तथा जोगीरा सुनाएर दर्शकलाई औघी मनोरञ्जन दिएका थिए ।
महामूर्ख घोषित भए पछि आफ्नो प्रतिक्रृया दिदै सभासद शत्रुघ्न महतोले भने -आत्म आलोचना गर्ने मिथिलाको पुरानो परम्परालाई निरन्तरता दिन खोजिएको अनुभव गरे । अहिले सम्म धेरै सम्मान पाएको छु तर यो अविस्मरणीय क्षण हो ।'
प्राज्ञ रमेश रंजन झाले आधुनिकीकरण संगै ओझेलमा पर्दै गएको मैथिली संस्कृतिलाई जगेर्ना गर्न मिनापले चलाएको यस अभियानको प्रशंसा गरे । उनको कथन थियो-मुलुक भित्रका साहित्य,कला र संस्कृतिको जगेर्ना गर्न राज्यले सकारात्मक भूमिका खेल्नु पर्छ ।
मच्छराधीशको उपाधि प्राप्त गरे पछि आफ्नो पहिलो प्रतिक्रृयामा प्रमुख जिल्ला अधिकारी ढुंगानाले फागुलाई मिथिलाको मौलिक पर्व भने । कार्यक्रमको उद्घाटन नाट्य क्षणिकाबाट गरिएको थियो । जसमा रामनारायण ठाकुर, मदन ठाकुर, विष्णुकान्त मिश्र,अनिल झा,सुरेन्द्र,धीरज,गंगाकान्त मिश्र, घनश्याम मिश्र, संतोष, संदीप, सोनू, मुकेश, ललितलगायत कलाकारहरुले उत्कृष्ट अभिनय गरेका थिए । यसैगरी दिगम्बर झा, नरेश ठाकुर, काशीकान्त झा,विजय दत्त मणि,अशोक दत्त,उमेश यादव, सरोज मिश्र, मनोज मुक्ति, ज्ञानेन्द्र झा, लिलिप घिसिङ्ग, शम्भु निर्दोशी, संतोषलाल कर्ण,ब्रजनन्दन झा,संतोष लाल दास,नागेश्वर मण्डल,लालजी ठाकुर तथा कैलाश दासलगायतका कविहरुले चोटिलो व्यङ्ग कविता पाठ गरेका थिए ।



प्रकाशित : फाल्गुन २१, २०७१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?