हेर्दा हेर्दै पूरै बजार ढल्यो

बजारका सबै २ सय ५३ घर खण्डहर बने
लीलानाथ घिमिरे

सिपाघाट (सिन्धुपाल्चोक) — महाभूकम्प आएको कहालीलाग्दो दिनको पीडा सिपाघाट बजारका सुजितश्रेष्ठले अहिलेसम्म भुल्न सकेका छैनन् ।


सम्भवत: उनलाई त्यस कालो दिनको स्मृतिले सधै झस्काइ रहनेछ ।सिंगो मुलुकलाई स्तब्ध पार्ने त्यस भुकम्पले उनको बस्नेबास उठायो नै, त्यसभन्दा बढी पीडा हुने गरी उनको मुटुको टुक्रा छोरीलाई काखबाट चुडेर लग्यो ।
इन्द्रावतीको फाटमा यतिखेर हुर्कदै गरेको बर्खेधानको गाभाले हरियाली छाएको छ । फाटलाई बीच पारेर चिर्ने गरी पूर्वपश्चिम फैलिएको त्यस सुन्दर बजार भने खण्डहरमा परिणत भएको छ । बिनासकारी भुकम्पले सुजित जस्ता धेरैको काख खोसेको छ, केहीले आफ्ना अभिमावक गुमाएका छन् ।
सुजितका ६ जनको सुखि परिवार थियो । घरमै होटल थियो । त्यस दिन उनका बाबु र बहिनी खेतमा काम गर्न गएका थिए । उनकी पत्नि पानी लिन गएकी थिइन् । उनी काम बिशेषले बाहिर निस्केका थिए । उनका छोरा र छोरी भने घरमा खेल्दै थिए । त्यही बेला विनासकारी भुइचालो आयो । त्यसमै ति कलिला बालबालिका पुरिए । ‘भत्केको घरको छेउमै पुरिएकाले छोरालाई त्यही दिन निकाल्न सकियो,’ उनले आशु पुच्दै भने, ‘छोरीलाई कति प्रयास गर्दा पनि भेटिएन । दुइ दिनपछि उनको शव मात्र निकाल्न सकियो ।
एकाएक खण्डहरमा पुरिएको त्यस बजारमा ८ जनाको शब भेटिएको छ । तीबाहेक बाहिरबाट किनमेल गर्न आएका अरु केही ग्राहकसमेत पुरिएको आशंका गरिएको सुजितले बताए । बजारमा २ सय ५३ घर थिए । ती सबै खण्डहरमा परिणत भएका छन् । त्यहा रहेका पक्की घरसमेत कुनै बस्न लायकका नरहेको त्यही १२ बर्षदेखि सैलुन चलाएर बसिरहेका ओकिल महतोले बताए । सडकका दुइ किनाराका घर भत्केर बजारको सिरानदेखि पुछारसम्मै बाटो पूर्णत बन्द भएको थियो । भुकम्प गएको पाचौ दिन बल्ल सेनाको टोलीले डोजर ल्याएर बिहीबार दिउसो बाटो खुलाएको थियो ।
त्यस दिन महत्तो कपाल काट्न ठिक पर्दै थिए । एक्कासी घर हल्लन थाल्यो । त्यतिखेर उनीहरु सडकतिर भागे । सडकसमेत भत्केका घरहरुले पुरिन थालेपछि बजारबासी खेततिर भागेका थिए । उनले देख्दादेख्दै भुकम्पको पहिलै धक्कामा बजारका सबै घर खण्डहरमा परिणत भएका थिए । भवनसगै कैयौं चौपाया थिचिएका थिए । हरिमाया श्रेष्ठको भैसी खुट्टा भाचिएको अबस्थामा भेटिएको थियो । भैसीलाई उनले खुट्टोमा काम्रो लगाइ दिएकी छन् । ‘मान्छे भए अस्पताल लैजानु हुन्थ्यो,’ उनले भनिन्, ‘यस (भैसी)को बिजोग हुने भयो ।’
साहित्यकार रमेश बिकलले चर्चित उपन्यास ‘अबिरल बग्दछ इन्द्रावती’ मा सीपाघाट बजारको बर्णन गरेका छन् । त्यसले यस ठाउलाई मुलुकभर चिनाएको थियो । इन्द्रावती किनारको यो बजार सिन्धुपाल्चोकका भिमटार, सिपा पोखरे, भोटसिपालगातका गाबिसको ब्यापारिक केन्द्र हो । बजारका सबैघरहरु भत्कदा कति क्षति भयो भन्ने कुराको आकलन अझै गर्न सकिएको छैन ।
बजारमा हुने खानेहरुको समेत यतिखेर खुल्ला आकासमुनीको बास भएको छ । उनीहरु अहिलेसम्म ससकारका तर्फबाट केही राहत पाउन नसकेको बताउछन् । पीडित सुजितले आफूहरुले दालमोठ चिउरासमेत अरुसग मागेर सास धान्दै आएको बताए । बिहीबार एउटा कोरियाली सस्था र थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले उनीहरुलाई त्रिपाल, चाउचाउ, औषधिलगायतका सामग्री वितरण गरेको थियो । आफूहरुलाई सरकार भएको महसुस भने नभएको महतोले बताए ।

ढलेको आफ्नो घर देखाउँदै सुजित श्रेष्ठ । उनकी छोरी यही घरमा पुरिएकी थिइन् । तस्बिर: लीलानाथ घिमिरे/ईकान्तिपुर

प्रकाशित : वैशाख १९, २०७२ २०:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ऐतिहासिक विद्यालय खण्डहरमा परिणत

लीलानाथ घिमिरे

भोटसिपा (सिन्धुपाल्चोक) — सुरे तामाङले भर्खरै ६ कक्षा उत्तीर्ण गरे । उनी माथिल्लो कक्षामा पढ्न जाने उत्साहका साथ तयारीमा थिए । त्यसका लागि विद्यालयबाट उनले ७ कक्षाको किताब लगिसकेका थिए ।

आइतबार विद्यालय खुल्ने दिनको उनी अधिरताका साथ प्रतीक्षामा थिए । 
उनी विद्यालय जाने दिन आउनु अघि शनीबार आएको महाभुकम्पले उनको स्कुल सीपा तिनधारा जनता माद्यमिक विद्यालयलाई खण्डहरमा परिणत गरिदियो । ‘विद्यालको यस्तो हाल देख्दा रुन मन लाग्छ,’ उनले आखा रसिला पार्दै भने, यसलाई कसरी पहिलेको अबस्थामा ल्याउन सकिएला ? हाम्रो पढाइ कहिले सुचारु होला ।’
विद्यालयका ७ बटा भवन छन् । तीमध्ये एउटै सद्दे छैनन् । भुकम्पनिरोधक प्रविधि प्रयोग गरेर बनाइएको भनिएका भवनसमेत भत्किएका छन् । कार्यालय रहेको भवनका सबै भित्ता ढलेका छन् । कार्यालयमा रहेका पुस्तक, पत्रिका, विद्यार्थी/शिक्षकका हाजिरी रजिस्टर जताततै छरिएका छन् । दराज, कुर्सी, टेवल लडेका छन् । त्यसलाई सम्हाल्न विद्यालयमा भुकम्प गएका यतिका दिन वितिसक्दा कोही आएको छैन ।
विद्यालयकी कार्यालय सहयोगी सुनिता तामाङ विद्यालयकै स्वामित्वमा रहेको भवनमा बस्दै आएकी थिइन् । उनका ४ जनाको परिवार त्यही थियो । उनी खाना खानमात्र लागेकी थिइन् । भुकम्पको धक्काले उनका  आमाछोरीलाई खोल्सातिर हुत्याइ दियो । ‘हामी त्यहाबाट बल्ल उठेर डाडामा गएर बस्यौं, उनले भनिन्, त्यसको आधा घन्टासम्म बहोस भएछौं । होसमा आउदा आफू काम गर्ने विद्यालयको हालत हेरिनसक्नु थियो ।’ उनलाई छरपस्ट रहेका विद्यालयका सामग्रीको सुरक्षा गर्ने जागर अझै चलेको छैन ।  
सीपा तीनधारा मावि यस क्षेत्रको सम्भवत सबैभन्दा पूरानो इतिहास भएको विद्यालय हो । त्यस विद्यालयको शिक्षक रहेर भर्खरै अर्को स्कुलमा रमाना भएका स्थानीय सुरेशकृष्ण श्रेष्ठका अनुसार विक्रम सम्बत २००४ सालमा स्थापना भएको सिपातीनधारा प्राथमिक विद्यालय, कमला प्रावि र बीपी प्राविलाई गाभेर द्वन्द्वकालमा प्रस्तावित मावि बनाइएको थियो । अहिले यसमा करिव ४ सय ५० विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा १४ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।श्रेष्ठका अनुसार यस विद्यालयले हरेक बर्ष एसएलसीमा राम्रो नतिजा ल्याउदै आएको थियो ।
विद्यालय खण्डहरमा परिणत भएपछि आफ्ना बालबच्चाको पढाइ के हुने हो भन्ने चिन्ता अभिभावकलाई छाएको छ । ‘कुनै भवनमा कक्षा सञ्चालन गर्न सक्ने अबस्था छैन, स्थानीय अभिभावक राम तामाङले भने, ‘बालबच्चाले अब कसरी पढ्लान् र !’ उनीहरुको गाउँका पूरै घर भुकम्पले क्षतिग्रस्त भएका छन् । स्कुले बालबालिका अभिभावकसगै पालमुनी रात काट्दै आएका छन् । विद्यालयको यस्तो अबस्था भएपछि अभिभावकहरुलाई आफ्नो भन्दा छोराछोरीको भविष्यको चिन्ता थपिएको छ । सरकारले क्षतिग्रस्त विद्यालय पुननिर्माणको काम प्राथमिकता दिएर अगाडि बढाउनु पर्ने तामाङले बताए । 

प्रकाशित : वैशाख १९, २०७२ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT