यार्चा मौसम

दार्चुलामा पठनपाठन ठप्प
मुगुका गाउँ पनि सुनसान
विष्णुलाल बुढा, मनोज बडू, राजबहादुर शाही

मध्य पश्चिम — यार्चा संकलनलाई पाटनहरूमा प्रवेश खुला गर्ने दिन नजिकिंदै गर्दा तल्लो भेगका गाउँ सुनसान हुन थालेका छन्। विद्यार्थी पनि लेक उक्लिन थालेकाले विद्यालयहरू खाली भइसकेका छन्। डोल्पाका पाटनहरूमा जेठ १८ देखि प्रवेश दिइने भएको छ।

यार्चा संकलनलाई पाटनहरूमा प्रवेश खुला गर्ने दिन नजिकिंदै गर्दा तल्लो भेगका गाउँ सुनसान हुन थालेका छन्। विद्यार्थी पनि लेक उक्लिन थालेकाले विद्यालयहरू खाली भइसकेका छन्।
डोल्पाका पाटनहरूमा जेठ १८ देखि प्रवेश दिइने भएको छ। गाउँमा तन्नेरी भेटिन छाडेका छन्। टाढाका विद्यार्थी हिंडिसकेका र नजिकका तयारीमा जुटेपछि पठनपाठन ठप्प भएको उपल्लो दुनैस्थित ध्रुवतारा प्राविका प्रधानाध्यापक लक्ष्मण कार्कीले बताए। उक्त विद्यालयसहित सदरमुकामस्थित बालमन्दिर प्रावि र सरस्वती उच्चमाविमा शिक्षक मात्र भेटिन्छन्। गत आइतबारदेखि नै विद्यार्थी उपस्थिति शून्य भएको बालमन्दिरकी शिक्षक अम्बिका हमालले बताइन्। यार्चा मौसमका कारण जिल्लाका अधिकांश विद्यालयमा पठनपाठन ठप्प रहेको जानकारी आएको निमित्त शिक्षा अधिकारी वीरबहादुर धामीले बताए। ‘यार्चाबाट हुने कमाइको लोभमा अभिभावकले नै आफ्ना बालबालिकालाई पाटनतिर लाने गरेका छन्,’ उनले भने।
६ वर्षका बालबालिकादेखि ७० वर्षका वृद्धवृद्धासमेत यार्चा टिप्न पाटनतिर लागेका छन्। जसका कारण छिमेकी जाजरकोट, रुकुम र जुम्लाका विद्यालय पनि प्रभावित भएका छन्। ती जिल्लामा पनि विद्यालय बन्द रहेको यार्चा टिप्न फोक्सुन्डोको फूलबारी पाटन पुगेका जाजरकोट रामिडाँडास्थित कालिका आदर्श मावि का कक्षा ९ का विद्यार्थी धीरेन्द्र शाहीले बताए। ‘यो पढ्नेभन्दा यार्सा टिपेर कमाउने बेला हो नि,’ उनले भने। यस मौसममा आफूजस्ता हजारौं विद्यार्थी पाटनमा भेटिने उनले बताए। डोल्पाका ८७ प्रावि, १८ निमावि, ९ मावि र ५ उच्चमावि सुनसान छन्। सबैमा गरी ९ हजार ५ सय अध्ययनरत छन्। यार्चा मौसममा १५ देखि २० दिन पठनपाठन ठप्प हुन्छ।
विगतमा जेठ १० देखि यार्चा टिप्न पाटनहरू खुला गरिन्थ्यो, यस वर्ष वर्षा र हिमपातका कारण एक साता सरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार सामुदायिक वन उपभोक्ता समिति र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मिति सार्ने निर्णय गरेका हुन्।

दार्चुलामा पठनपाठन ठप्प


उत्तरी क्षेत्रका विद्यार्थी उच्च हिमाली भेगतिर हिंडेका छन्। त्यस क्षेत्रका विद्यालय २० दिनसम्म बन्द रहने छन्।
मार्मा र दुहु क्षेत्रका घुसा, खण्डेश्वरी र गुल्जर गाविसका सबै विद्यालयमा पठनपाठन ठप्प छ। ती क्षेत्रका अधिकांश बासिन्दा यार्चा टिप्न हिंडिसकेका छन्।
हिउँदे र बर्खे बिदामा कटौती हुने गरी व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बिदा दिइएको जिल्ला शिक्षा अधिकारी विष्णुदत्त भट्टले बताए। सितोला, तपोवन, सिप्टी र सुनसेराका विद्यालय व्यवस्थापन समितिले १५ देखि २० दिन बिदा तोकेका छन्।
हिकिला स्रोत केन्द्रअन्तर्गतका विद्यालयहरू पनि बन्द भएको स्रोत व्यक्ति करनसिंह ठगुन्नाले जानकारी दिए। उच्चमावि हिकिला भने बन्द भएको छैन। कक्षा ९ र १० मा आधाभन्दा बढी विद्यार्थी अनुपस्थित रहेको शिक्षक पुलेन्द्रबहादुर कार्कीले बताए।
करिब एक महिना संकलित यार्चाबाट त्यस क्षेत्रका बासिन्दाको वर्ष दिनको गुजारा चल्छ।
जिल्लाका २१ भन्दा बढी गाविसका बासिन्दाको आम्दानीको मुख्य स्रोत यार्चा नै हो। ‘त्यही भएर सिंगो परिवार संकलनका लागि लेकतिर जान्छन्,’ सम्पाल मावि सुन्सेराका शिक्षक हरिसबहादुर बमले भने।
गौरीलमाण्डांै उच्चमावि हिकिलाका कक्षा ९ का विद्यार्थी मानसिंह धामीले गत वर्ष यार्चा बेचेर ९० हजार रुपैयाँ कमाएका थिए। ‘घरमा कमाउने कोही छैन,’ उनले भने, ‘यसैबाट वर्षभरि घर र पढाइ खर्च जुटाउनुपर्छ।’

मुगुका गाउँ पनि सुनसान

जिविसले १४ वर्षमुनिकालाई पाटन क्षेत्रमा जान रोक लगाएको छ। त्यसको प्रचारप्रसार पनि व्यापक भएको तर अहिले लेक उक्लिने लर्कोमा ७ वर्षका बालबालिका पनि छन्। कसैले रोक्न खोजे उनीहरू लुकी–लुकी पाटन प्रवेश गर्छन्।
यसैबाट थाहा हुन्छ, यार्चा टिप्ने आकर्षण ग्रामीण भेगमा कति छ। पूर्वी करान भेगका बासिन्दा यार्चा टिप्न पाटनतिर उक्लिएपछि विद्यालय र गाउँ सुनसान छन्। प्रभात उच्च मावि रोवा, बुद्ध उच्च माविमा माग्रीलगायत २६ विद्यालयको पठनपाठन ठप्प भएको छ।
प्रभात उच्च माविमा कक्षा ५ माथिका सबै विद्यार्थी लेकतिर गएका छन्। उनीहरू २ महिनापछि फर्किएपछि मात्र पठनपाठन सुचारु हुने छ। ‘पैसा कमाउने मौसम हो, विद्यार्थी पढाइ छोडेर सातुसामलसहित पाटन उक्लिएका छन्,’ प्रभात उच्च माविकी शिक्षक टीकालक्ष्मी हितानले भनिन्, ‘हामी फुर्सदिला भएका छौं।’
रोवा ५ का दल कुमाईका अनुसार विद्यार्थीले यार्सा टिपेर डेढ महिनामा ४० देखि ६० हजारसम्म ल्याउँछन्।
जाजरकोटबाट ७ दिन हिंडेर करिब डेढ सय विद्यार्थी यार्चा खोज्न मुगुको पाटनतिर लागेका छन्। उनीहरूलाई यार्चा पाइने स्थानसम्म पुग्न २ साता लाग्छ।

प्रकाशित : जेष्ठ १६, २०७२ १३:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भुलेर दु:खहरू

रोजिता अधिकारी

काठमाडौ — सिन्धुपाल्चोक, चौताराको, टुँडिखेलमा त्रिपालको अस्थायी आश्रयस्थलमा बस्छिन् सरिता आचार्य । गत वैशाख १२ गतेको महाभूकम्पपछि उनी परिवारसहित यहाँ बस्दै आएकी हुन् । विदेशीले दिएको त्यो त्रिपालमुनि अन्य तीन परिवारका २० जना पनि बस्छन् ।

५ जना जति सजिलै अट्ने त्रिपालभित्र २० जनाको बसोबास । देख्नले पनि सजिलै भेउ पाउन सक्छ, उनीहरूको कठिनाइ ।
बिहान उठेर टेन्टको एउटा कुनामा रहेको भान्छामा हतारहतार खानपिन सकाएर सरिता करिब साढे ९ बजे कापीकलमको बाकस बोकी नजिकैको अर्को सेल्टरमा पुग्छिन् । महाभूकम्पपछि सिन्धुपाल्चोक चौतारा वरवरका बालबालिकाका लागि सेभ आवर सोल (एसओएस) ले सञ्चालन गरेको आकस्मिक कक्षभित्र सरिताभन्दा पहिल्यै बालबालिका पुगिसकेका हुन्छन् ।
भूकम्पमा घर ढलेपछि टँुडिखेल सेल्टरमा बसिरहेका र चौतारा वरपरका सयभन्दा धेरै बालबालिका त्यहाँ पढ्न आउँछन् । उनीहरूको उक्त आकस्मिक कक्षा औपचारिक रुपमै सुरु हुन्छ, राष्ट्रिय गान ‘सयौं थुड्गा फूलका हामी एउटै माला नेपाली’ बाट । बिहान १० देखि बेलुका ५ बजेसम्म नर्सरी देखि ५ कक्षासम्मका बालबालिकालाई पढाउने, चित्र बनाउन लगाउने, गेम खेलाउनेलगायतका क्रियाकलाप हुन्छन् त्यहाँ । चौतारा वरपरका ४ जना स्वयंसेवी शिक्षिकाले बालबालिकाई पढाइरहेका छन् । उनीहरूमध्येकै एक हुन् सरिता । उनी पेसाले शिक्षिका होइनन् । शिक्षिका बन्ने रहर पनि थिएन उनलाई । बीए पढ्दै गरेकी उनी भूकम्पभन्दा पहिले किराना पसल सञ्चालन गर्थिन् । १२ गते सिन्धुपाल्चोक र दोलखाको सिमालाई केन्द्रबिन्दु बनाएर गएको ७.९ रेक्टरको भूकम्पले उनको दैनिकी बदल्दिएको हो ।
केही वर्षअघि सरिताको पिताको मृत्यु भयो । त्यसपछि जेठो सन्तान भएकाले घर सञ्चालनको जिम्मा उनले पनि बहन गर्नुपर्‍यो । श्रीमान्को मृत्युपछि सरिताकी आमाले एक छोरी र दुई छोराको पालनपोषण र पढाइको लागि निकै संघर्ष गर्नुपर्‍यो । सम्पत्तिको नाममा चौतारामा एउटा घर थियो । उनीहरूले त्यही घरमा पसल सुरु गरे । सामान्य जीवन जिउन पुग्ने कमाइ हुन थाल्यो । तर परिवारको सुध्रँदो अवस्थालाई भूकम्पले एक्कासी हल्लाइदियो । ‘एक्कासि एक दिन फेरि हामी पहिलेकै दिनमा पुग्यौं,’ सरिताले गला अवरुद्ध पार्दै भनिन् । गह भरिएर उनी एकछिन बोल्न सकिनन् । सम्पत्तिको नाममा भएको एउटा घर र एउटा मात्र आम्दानीको स्रोत पसललाई भूकम्पले तहसनहस बनाइदियो । ‘अब कहाँ जाने? के गर्ने? कसरी भाइहरू र मेरो पढाइ खर्च निकाल्ने? घर कसरी बनाउने? त्यसको चिन्ताले आमा बिरामी नै पर्नुभयो,’ उनले सुनाइन्,‘एउटा पनि सामान निकाल्न नपाई घर गर्लम्मै ढल्यो, पसल पनि सबै पुरियो, त्यसपछि आमाको स्वास्थ्य पनि बिग्रन थाल्यो, मलाई अब कसो गर्ने र के गर्ने भन्ने मात्र सोच आउन थाल्यो जसले म पनि बिरामी परेझै भएँ ।’
त्यसपछि सरिताले दु:ख भुल्न र मन बहलाउन पढाउने बाटो रोजेकी हुन् । ‘त्यत्तिकै बस्दा भत्केको घर, पसल, पढाइ, आमा र भाइहरूको बारेमा मात्र सोच आयो । सोच्दासोच्दा म नै बिरामी परेझै भएँ । यसो यताउति हेरें, चौतारामा मेरोजस्तो दु:ख अरूको पनि पाएँ । अनि सोचें यो विपत्को अवस्थामा आफ्नो दु:खलाई मात्र सोच्नुभन्दा केही त्यस्तो काम गर्नु उचित ठानें जसले आफ्नो दु:ख पनि भुल्न सहयोग गरोस् । अनि बालबालिका पढाउने निर्णय गरें । भूकम्प गएको चौथो दिनबाट म भूकम्पपीडित बालबालिका पढाउन थालें ।’ आफूलाई बालबालिका पहिलेदेखि नै मन पर्ने उनले सुनाइन् ।
उनीसँग कुराकानी गरिरहँदा दिउँसोको १२ बज्दै थियो । त्यति नै खेर दुई तीनजना बालबालिका ‘सरिता मिस, सरिता मिस हामीलाई पेपर दिनुस्’ भन्दै आइपुगे । सरिताले बालबालिकाको हातमा पेपर र पेन थमाइन् । बालबालिकाको चित्र बनाउने समय भएको रहेछ । त्यत्तिकैमा एक बालिकाले सोधिन्, ‘मिस केको चित्र बनाऊँ?’ सरिताले फ्याट्ट भनिन्, ‘घरको चित्र बनाऊ ।’ नजिकै बसेर ती बालिकाले चित्र कोर्न थालिन् । पहिले एउटा सग्लो घर बनाइन्, त्यसपछि एउटा भत्केको जस्तो घर बनाइन् र सग्लो घरको माथि ‘बिफर’ र भत्केको घरको माथि ‘आफ्टर’ लेखिन् अनि सरितालाई देखाइन् । ती बालिकाले बनाएका तस्बिरले सरिताका आाखा फेरि छचल्किए । भनिन्, ‘सिन्धुपाल्चोकका अधिकांश बालबालिकामा अहिले यस्तै खाले फिलिङ छ । म एउटा २५ वर्षको केटीलाई त आफ्नो पीडा भुलाउन गाह्रो छ भने बालबालिकाभित्र रहेको डर चिन्ता कति गहिरो गरी गडेको होला?’ सरिताले प्रश्न गरिन् । यत्रो दिन बितिसक्दा पनि सरकारी तवरबाट बालबालिकामा कस्तो असर गरेको छ भन्नेबारे चासो नदिइएको उनको गुनासो थियो । ‘अब यी बालबालिकाहरूले आफ्नो डर कसरी र कैले भुल्लान्?’ उनले भनिन्, ‘सरकारले कक्षा सुरु गर्नुभन्दा पहिले बालबालिकाहरूको मनोविज्ञान कस्तो छ भन्नेबारे बुझे राम्रो हुने थियो ।’
भूकम्पले आफ्नो रुचि परिवर्तन गरिदिएको सरिताले अनुभव छ अहिले । भनिन्, ‘केही समयसम्म भूकम्पपीडित बालबालिकालाई पढाउने रहर छ । तथापि हाम्रो आफ्नो जीवनको टुङ्गो भने छैन । न बस्ते ठाउ छ न त जाने ठाउँ ।’ उनले थपिन्, ‘घरबाट लगाएकै लुगामा भाग्नुपरेकाले अहिले मसँग फेर्ने एक जोर कपडाधरि छैन । म दिनदिनै एउटै मैलो लुगा लगाएर पढाउन जान्छु । बालबालिका नजिक पुगेपछि म मेरो मैलो लुगामा पनि ध्यान दिन्नँ, मेरो आफ्नो भत्केको घरको बारेमा पनि सोच्दिनँ ।’
भूकम्पमा श्री सम्पत्ति गुमाएर पनि बालबालिका पढाउन दत्तचित्त सरिताकै जस्तो मन कतिको होला?

प्रकाशित : जेष्ठ १६, २०७२ १३:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT