कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जी सेभेनले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने

काठमाडौ — विश्वका ठूला अर्थतन्त्रहरुको संगठन जी सेभेनका सदस्य राष्ट्रहरुले नेपाललाई गत बैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने बताएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणका लागि अपेक्षित विदेशी सहायता जुट्ने/नजुट्ने आशंका भइरहेका बेला विश्वका धनी मुलुकहरूको संगठनले सघाउने प्रतिबद्धता जनाएका छन् । धनी देशहरूको संगठन जी ७ को जर्मनीमा सम्पन्न बैठकको घोषणापत्रमै नेपाललाई सघाउने विषय प्रमुखताका साथ राखिएको छ ।
बैठकपछि घोषणापत्र जारी गर्दै नेपाललाई चाहिने अत्यावश्यक सामग्रीहरू पठाइने उल्लेख गरिएको छ । यो समूहमा अमेरिका, बेलायत, जापान, जर्मनी, इटली, फ्रान्स र क्यानडा सदस्य छन् । मुख्यतया रूसमाथिको प्रतिबन्ध, वातावरणीय प्रभावमा केन्द्रित यसपटकको बैठकले नेपालबारे चासो राख्नु महत्त्वपूर्ण भएको विज्ञ बताउँछन् ।
यो समूहमा रहेका जापान, बेलायत र अमेरिका मुलुकका ठूला दातृ निकायमध्ये हुन् । जापानले भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनको साझेदार बन्ने प्रस्ताव नै गरेको थियो । पहिलोपटक सरकार आफैंले गर्ने र अक्टोबरतिर जापानसँगको सहकार्यमा दाता सम्मेलन आयोजना गर्ने तयारी सरकारको छ ।
आगामी असार १० गते दाता सम्मेलन काठमाडौंमै आयोजना हुँदै छ । उक्त सम्मेलन मुख्यतया सहयोग जुटाउनका लागि आयोजना गर्न लागिएको हो । यस्तो बेलामा विश्वकै सबैभन्दा धनी मुलुकहरूले भूकम्पले जनधनको क्षति भएको र यसको पुनर्निर्माण तथा पुन:संरचनाका लागि बहुपक्षीय र द्विपक्षीय आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाएका छन् ।
नेपाल सरकारको प्राथमिकतालाई ध्यान दिँदै उक्त समूहका सदस्यहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलनमा भूकम्पले क्षति भएका र हराएका सांस्कृतिक सम्पदाहरूको समेत पुन:स्थापनाका लागि योगदान गर्ने बताइएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७२ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?