२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गृहमन्त्रीको राजीनामा माग्दै थारुको प्रदर्शन

माग पूरा नभएसम्म आन्दोलनमा होमिन्छौ : सभासद मानपुर चौधरी
भरत जर्घामगर

लहान — टिकापुर घटनापछि सेना परिचालन गरि थारु समुदायमाथि दमन गरिएको भन्दै सिरहाका थारुहरुले बिहीबार यहाँ विरोध प्रदर्शन गरेका छन् ।

गृहमन्त्रीको राजीनामा माग्दै थारुको प्रदर्शन



थारु कल्याणकारी सभाको आव्हानमा सिरहाका विभिन्न ग्रामीण क्षेत्रबाट प्रदर्शनमा उत्रिएका थारु समुदायले विभिन्न जिल्लामा सयौं थारु आन्दोलनकारीलाई प्रहरी हिरासतमा यातना दिएर राखिएको भन्दै गृहमन्त्री वामदेव गौतमको राजीनामा मागे । लहानको शहिद चौकबाट सुरु गरिएको विरोध र्‍यालीले ‘थारुवान– थरुहट प्रदेश घोषणा गर, तराई मधेश, अप्पन प्रदेश, प्रहरी दमन बन्द गर, सेनालाई ब्यारेक फिर्ता गर’ लगायतका नारा लगाउँदै बजार परिक्रमा गरी सोही स्थानमा विरोध सभामा परिणत भएको थियो । सप्तरीबाट आएको जुलुश समेत विरोध सभामा सामेल भएको थियो ।



मुस्लिम, मधेसी, दलित, पीछडा वर्गका समुदायले विरोध प्रदर्शनमा सामेल भई एक्यैवद्धता जनाए । टिकापुर घटना दु :खद भएको भन्दै मारिएका प्रहरी र आन्दोलनकारीको सम्झनामा एक मिनेट मौनधारण पछि सुरु भएको विरोध सभामा सप्तरी क्षेत्र नं. १ का एमाओवादी सभासद मानपुर चौधरी, थारुवान– थरुहट संयुक्त संघर्ष समितिका सदस्य राजकुमार लेखी, पूर्वी थारुवान कोचिला संघर्ष समितिका सन्तोष थारु लगायतले थारुसहित मधेशी, मुस्लिम, दलित पिछडा वर्गका समुदायले उठाएका जायज माग सम्बोधन नभएसम्म सरकारसँग वार्तामा नबस्ने बताए । 

एमाओवादी सप्तरी क्षेत्र नं. १ का सभासद् मानपुर चौधरीले आफू जनताको मतले निर्वाचित भएकाले थारु समुदायको हक अधिकारका लागि लड्दा पार्टीले ह्वीप लगाउन खोज्छ भने त्यसलाई नमान्ने चेतावनी दिए । खसवादी शासक र तीन दलका प्रमुख नेताहरुकै कारणले मुलुकले अहिलेको दुर्दशा भोग्नु परेको आरोप लगाउँदै उनले सयौं वर्षदेखि अधिकार खोसिएका थारु, मधेशी, दलित, मुस्लिमहरुको अधिकारसहितको संविधान र राज्य नभएसम्म आन्दोलन नरोकिने दावी गरे । आन्दोलनको नेतृत्व पंक्ति आफुहरु अब उभिने जनाउँदै उनले काँग्रेस र एमालेका नेताहरुको जन्मकुण्डली सुनाए ।

प्रकाशित : भाद्र १०, २०७२ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?