पारित भयो नेपालको संविधान

•जम्मा उपस्थित: ५३२ •पक्षमा: ५०७ •विपक्षमा: राप्रपा नेपालका २५ सभासद्

काठमाडौं — ‘नेपालको संविधान’ बुधबार साँझ दुई तिहाई बहुमतले पारित भएको छ । पारित भएसँगै संविधान निर्माणको काम पूरा भएको छ । संविधानको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको छ । संविधान पारित गर्ने दिन बुधबार ५३२ सभासद् उपस्थित थिए ।

पारित भयो नेपालको संविधान

‘नेपालको संविधान’ बुधबार साँझ दुई तिहाई बहुमतले पारित भएको छ । पारित भएसँगै संविधान निर्माणको काम पूरा भएको छ ।

संविधानको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको छ । संविधान पारित गर्ने दिन बुधबार ५३२ सभासद् उपस्थित थिए ।

संविधान विधेयकको पक्षमा प्रमुख दल कांग्रेस, एमाले, एमाओवादीसहित अधिकांश साना दलले मत दिएका छन् । मधेसकेन्द्रित दल भने यसअघि नै संविधानसभा बहिष्कार गरेर बाहिरिएका छन् । अन्तरिम संविधान अनुसार संविधान पारित गर्न कम्तिमा २ तिहाई मत आवश्यक पर्दथ्यो ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले नयाँ संविधानको विपक्षमा मतदान गरेको छ । राप्रपा नेपालका २५ सभासद् छन् । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पेस गरेको संविधान विधेयकमा राप्रपा नेपाललेमात्रै विपक्षमा मतदान गरेको हो ।

संविधानसभाको बुधबार साँझ बसेको बैठकमा सिटौलाले पेस गरेको प्रस्तावमा मतविभाजन भएको थियो । सभासदको हस्ताक्षरमार्फत मतविभाजन गरेर एकमुष्ठ संविधान पारित भएको हो ।

थपिएका ६ सहित बुधबार नै नयाँ संविधानका ३०८ वटै धारा, प्रस्तावना र संक्षिप्त नाम पारित भइसकेको छ । एकमुष्ठ संविधान पारित भएपछि संविधानसभा अध्यक्षले प्रमाणिकरण गरेपछि असोज ३ गतेदेखि लागू हुने भएको छ । संविधान घोषणाका लागि राष्ट्रपति रामवरण यादवलाई संविधानसभा अध्यक्षले निम्तो दिइसकेका छन् ।

संविधान पारित भएसँगै नेपाली कागजमा प्रकाशित केही प्रति संविधानमा सभासदहरुले शुक्रबारदेखि हस्ताक्षर गरेका छन् । सभासदले हस्ताक्षर गरेपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गर्ने संविधानसभा सचिवालयले जनाएको छ ।

संविधानसभामा सबै धारा पारित भएपछि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलगायतका सभासदले आपसमा शुभकामना साटासाट गरेका थिए । संविधानसभा हलमै सभासदहरुले सेल्फी खिचेका देखिन्थे ।

सभाध्यक्षले ३ गतेको संविधान घोषणाको कार्यक्रबारे संविधानसभालाई जानकारी गराएका छन् । उनका अनुसार ३ गते साँझ ५ बजे राष्ट्रपतिले संविधानको प्रतिमा हस्ताक्षर गरेपछि नेपाली जनतामा संविधान जारी हुनेछ ।

सभाध्यक्षले संविधान जारी हुने औपचारिक समारोहका दिन आफ्नो संस्कृति झल्कने पोसाकमा संविधानसभामा आउन पनि सूचित गरेका छन् ।

प्रकाशित : भाद्र ३०, २०७२ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?