कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

डेनिस राजकुमार गाउँ घुम्दै

आश गुरुङ

पाचोक (लमजुङ) — पाचोकको वाकस्वाँराका सीता गुरुङले पहिलोपटक विदेशी राजकुमार देखिन् । बिहान ७ बजेदेखि कुरेर बसेकी उनले डेनमार्कका राजकुमार फ्रेडरिक हेर्न चार घण्टा समय बिताइन् ।

डेनिस राजकुमार गाउँ घुम्दै

‘हाम्रो राजकुमार देख्न नपाएपनि विदेशको राजकुमार देखेँ’ नौथर र पाचोकको सीमा साँधीखोलामा कुर्दै गरेका उनले भनिन्, ‘अब बल्ल घर गएर भात खाने हो ।’ भूकम्पले घर भत्काएपछि नौथर ५, जितौरेस्थित आफन्तको शरणमा बसेकी छन् । सदरकुकाम बेसीशहरबाट ५ घण्टाको सवारी यात्रा पछि डेनिस राजकुमार फ्रेडरिक एन्ड्रे हेनरकको टोली शुक्रबार मध्यान्ह दुर्गम गाउँ पाचोक पुगेका हुन् ।

वाकस्वाँरास्थित आमा समूहका अध्यक्ष टौमाया गुरुङले स्वागतस्वरुप स्टीलको गिलासबाट दूध खुवाउन खोज्दा उनले मानेनन् । नेपाली सहयोगीले यहाँको ‘कल्चर’ यही हो भनेपछि उनी मुसुक्क हाँसे । उनी दूध खान राजी भए । लगत्तै उनलाई वडा नागरिक मञ्चका संयोजक शेरबहादुर गुरुङले ढाका टोपी लगाइदिए । केही उकालो बाटोमा उनको खुट्टा केही लर्बराए । पञ्चेबाजासहित फूलमालाले स्वागत गरेका उनको टोलीलाई केहि परसम्म स्थानीयले हिँडेरै पुर्‍याए ।

पाचोकको करेँदीबेसीस्थित किसेदी खोलाको पूल तर्ने वित्तिकै उनीसहित टोलीलाई नै पाचोक गाविसले स्वागत गर्‍यो । पाचोक गाविसका सचिव दिवाकर वाग्लेको नेतृत्वमा फूलमाला र ढाकाटोपीले स्वागत गरे । राजकुमार फ्रेडरिकलाई स्वागत गर्न बारीगाउँबाट ८० बर्षीया मंगली गुरुङदेखि प्ल्हेँस्वाँराबाट ९२ बर्षीया विवि तामाङ समेत हातखुट्टा गरेर २/३ घण्टा हिँडेर करेँदी दोभान झरेका थिए । राजकुमार फ्रेडरिकले संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘बाटो खराब भएपनि यहाँका मान्छे र चलन राम्रो रहेछ ।’

उनले पहिलो पटक नेपाल र त्यहीपनि लमजुङको दुर्गम गाउँ आएको खुलाए । क्याम्पमा खान खाएपछि उनको टोलीलाई आमा समूहले फेरि स्वागत गर्‍यो । पाचोक ७, तल्लो पाचोककी ८० बर्षीया मनमाया घलेले राजकुमार फ्रेडरिकलाई चिनो स्वरुप खुकुरी नै दिइन् । ‘हामी नेपालीको चिनो नै खुकुरी हो । हामी शत्रुलाई खुकुरी देखाउँछौँ । मित्रुलाई खुकुरी चिनो दिन्छौँ ।’ उनले भनिन्, ‘मेरो देशलाई नबिर्सनु होला । फेरि फेरि आउँदै गर्नुहोला ।’ उनी बेलायती सेनाका भूपू हवल्दार मेजर स्व.मनबहादुर घलेका पत्नि हुन् ।

केही महिलाले उनीसंग सेल्फी खिच्न भ्याए । स्वागतका लागि देखाइएको घ्याब्रेपच्युको नाचलाई उनले आफ्नो मोवाईलमा कैद गरे । भूकम्पबाट भत्किएको पाचोक माविको भग्वानशेष भवन अवलोकन गरे । विद्यालयका विद्यार्थीले उनलाई स्वागत गरे । उनले विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘विद्यार्थी भाइबहिनी राम्रोसंग पढ्नु होला । बाबाआमाले पनि आफ्नो छोराछोरीलाई राम्रोसंग पढाउनुपर्छ ।’

राजकुमार फ्रेडरिक भूकम्पपीडितलाई भेट्न लमजुङ आएका हुन् । पाचोकका विभिन्न गाउँ घुम्दै शुक्रबार उनी पाचोकको करेँदी दोभानमा बनाइएको क्याम्पसमा बास बसे । उनले आफ्नो विशुद्ध नीजि भ्रमण भएको बताएकाले अनौपचारिक हिसावमै गाउँ घुमेको बताएका छन् । भूकम्पले भत्किएका घर र पीडितको टहरा हेरेपनि उनले डेनिस रेडक्रसमार्फत थप सहयोगका कार्यक्रम ल्याउने आश्वासन दिए ।

आफूलाई कुनै सुरक्षा नचाहिने बताएपनि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक हेमन्तकुमार थापाको नेतृत्वमा सुरक्षा टोली खटिएको छ । कोपनहेगनबाट बिहीबार काठमाडौं आएर बेसीशहर बस्न आएको उनको टोलीले शनिबार ढोडेनी र फेलेनी गाविसका केही गाउँमा पुगेर भूकम्प पछिको अवस्था बुझ्ने र भूकम्पपीडितसंग भेट्ने कार्यक्रम रहेको डिनिस रेडक्रसको नेपालस्थित कार्यालयका कार्यक्रम ब्यवस्थापक प्रकाश अर्यालले बताए ।

उनका अनुसार राजकुमारसहित डेनिस रेडक्रसको महामन्त्री एन्ड्रस ल्यण्डकार्ल, एसिया क्षेत्रका निर्देशक, डेनिस दुतावास, परराष्ट्र मन्त्रालयका प्रतिनिधि लगायत १५ जनाको टोली रहेका छन् । डेनिस रेडक्रसले भूकम्पबाट प्रभावित पाचोक, ढोडेनी, फलेनी, बन्सार, नौथर र हिलेटक्सार गाविसका भूकम्पपीडितलाई तत्काल टहरा बनाउन सहयोग गरेको छ ।

प्रकाशित : आश्विन १, २०७२ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?