राजधोव समुदायबाट पहिलो मन्त्री

अवधेशकुमार झा

मोरङ — ३० हजार मात्र जनसंख्या रहेको तराई मधेसको अल्पसंख्यक राजधोव समुदायबाट पहिलोपटक मुलुकको कार्यकारीमा प्रतिनिधित्व भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको मन्त्रिपरिषद्मा राजधोव समुदायका सत्यनारायण मण्डल मन्त्री भएपछि उक्त तहमा पुग्ने उनी पहिलो भए ।

राजधोव समुदायबाट पहिलो मन्त्री

एमालेबाट समानुपातिक सभासद मण्डलले सोमबार बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् । उनी एमाले स्थायी कमिटी समस्य पनि हुन् । नेपालमा कुल २५ देखि ३० हजार संख्यामा राजधोव जाति छन् । उनीहरूको मुख्य बसोबास सप्तरीको भारदह, पोर्ताहा, महदेवा, भगनी मलेठ, बनौला र नकटी रायपुर गाविसको कटैयालगायत क्षेत्र हो ।

यसबाहेक केही सीमित परिवार सुनसरी, मोरङ, सिरहा र उदयपुरमा पनि बस्छन् । राउत, खड्गा, अधिकारी, मण्डल, इसर, विश्वास, माझी, पैकरालगायत थरबाट राजधोव जाति परिचित छ ।

‘म मन्त्री बन्नु पनि अल्पसंख्यक राजधोव समुदायको एउटा समग्र परिचयसँगै उत्थान सुरुवात हो,’ शपथ लिएपछि कान्तिपुरसित टेलिफोनमा मन्त्री मण्डलले भने, ‘आफ्नो जाति समुदाय, पार्टी र आमनेपाली नागरिकले राखेको अपेक्षा पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नेछु ।’

उनले आफू मन्त्री बन्नु हरेक अल्संख्यक, पिछडावर्ग र पछाडि पारिएका वर्गको सम्मानका रूपमा लिएको बताए । सप्तरीको सप्तकोसी नगरपालिका ५ स्थायी घर भएका मण्डल मन्त्री भएपछि राजधोव समुदायले खुसी व्यक्त गरेका छन् । राजधोव उत्थान संगमका अध्यक्ष मुंगालाल माझीले भने, ‘अल्पसंख्यक राजधोव समुदायबाट नेपालको इतिहासमै पहिलोपटक मन्त्री हुँदा हर्षित छौं । राष्ट्र निर्माण र जातीय उत्थानमा उहाँको योगदान होस् भन्ने हाम्रो शुभकामना छ ।’

राजनीतिक पदमा यसअघि पनि मण्डल नै उक्त जातिबाट सबभन्दा उच्च तहमा पुगेका थिए । ०४८ मा उनी राष्ट्रियसभा सदस्य भएका थिए । नेपालको इतिहासमा राजधोव जातिबाट पहिलोपटक मन्त्री भएका मण्डलसित आफ्नै जाति समुदायले पनि निकै अपेक्षा गरेका छन् । ‘राजधोव जातिलाई जातीय वर्गीकरणमा समावेश गरी राष्ट्र निर्माणसँगै जातीय उत्थान र विकासमा उहाँको योगदान हामीले अपेक्षा गरेका हौं,’ माझीले भने । लामो आन्दोलनपछि जातीय अनुसूचीमा आफ्नो जातिलाई सूचीकृत गरिए पनि वर्गीकरणमा अन्य समूहमा राखिएकामा राजधोव जातिले विरोध गर्दै आएका छन् ।

राजधोव समुदायका अगुवा नेपाल शिक्षक युनियन सप्तरी अध्यक्ष फुलेश्वर मण्डलले वर्तमान मन्त्रिपरिषद्मा अल्पसंख्यक जातिबाट पनि प्रतिनिधित्व हुनुले सिंगो राजधोव जातिलाई खुसी तुल्याएको बताए । उनले भने, ‘राजनीतिक विचारधारा जे भए पनि एक त मधेसी त्यसमा पनि अल्पसंख्यक राजधोव जातिले मन्त्रिपरिषद्मा स्थान पाउनु खुसी र गौरवको विषय हो ।’ मन्त्रिमण्डलबाट आफूहरूले राष्ट्र निर्माण र जातीय उत्थान र विकासमा योगदानको अपेक्षा राखेको उनले बताए ।

०२८ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका मण्डल ०३६ देखि सक्रिय राजनीतिमा छन् । ‘मैले पार्टीमा आजसम्म गरेको नि:स्वार्थपूर्ण सेवाकै कारण त्यसको मूल्यांकन भएको छ,’ मण्डलले भने ।

प्रकाशित : आश्विन २६, २०७२ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?