१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आफ्नै कारणले ‘मुर्झायो’ मधेस आन्दोलन

बसन्त बस्नेत

काठमाडौं — संविधान निर्माण प्रक्रियाबाट बाहिरिँदै दुई महिनायता आन्दोलित मधेसी मोर्चा संकटमा परेको छ । ४६ को मृत्यु, सयौं घाइते र गिरफ्तार हुँदै जारी आन्दोलन कता लैजाने भन्नेमा नेतृत्वमा रहेका चार मधेसकेन्द्रित दल दिग्भ्रमित देखिएका छन् । आइतबार प्रधानमन्त्री चुनावमा सहभागिता हुँदै सोमबार र मंगलबार जारी मोर्चा बैठकमा त्यो अलमल झल्किन्थ्यो ।

आफ्नै कारणले ‘मुर्झायो’ मधेस आन्दोलन

आजको पत्रकार सम्मेलनमा त्यो द्विविधा उदांगियो, जब नेताहरुले आफूहरु अझै नयाँ संविधानको विरोधमा रहेको तर पुरानो अन्तरिम संविधानको व्यवस्था अन्तर्गत संसदीय प्रक्रियामा भाग लिएको प्रष्टीकरण दिँदै आफ्नो बचाउ गर्न लागे ।

पत्रकार सम्मेलनमा के भने महन्थ ठाकुर र उपेन्द्र यादवले ? हेर्नुस् भिडियो


‘हामीले संविधान जलायौं, तर व्यवस्थापिका बहिष्कार गरेका छैनौं,’ फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्री चुनाव अन्तरिम संविधानकै प्रावधानअन्तर्गत भएकाले भाग लिएका हौं ।’
तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘यो हाम्रै नेतृत्वमा जनताले गरेको आन्दोलन हो । नाकाबन्दी फिर्ता लिन जनताको माग बढ्दै गए विचार गर्छौं ।’

खासमा आजको पत्रकार भेट आन्दोलनको स्वरुप बदलिएको घोषणा गर्नका लागि थियो । सोमबारको मोर्चा बैठकमा नेताहरुले चाडपर्वको मुखमा नाकाबन्दीलगायत सबै आन्दोलनको शैली बदल्ने समझदारी गरेका थिए । सद्भावना अनुपस्थित रहेकाले निर्णय हुन सकेन ।

काठमाडौंबाहिर रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोको तीव्र आपत्तिपछि सहअध्यक्ष लक्ष्मणलाल कर्ण बैठकमा सहभागी हुनबाट पछि हटेका थिए । तर मंगलबार बिहान तमलोपा मुख्यालय बिजुलीबजारमा आयोजित मोर्चा बैठकमा कर्ण सहभागी भएपछि सद्भावनामा विवाद चुलिएको छ । कर्णले आफूलाई धोका दिएको निष्कर्षमा महतो छन् । कर्ण भने बैठकपछि पत्रकार सम्मेलनमा समेत सहभागी थिए ।

बैठकले मंगलबारबाटै दसैं सुरु भएको सन्दर्भमा नाकाबन्दीबाहेक सबै आन्दोलन फिर्ता लिने भनी मोर्चाले निर्णय गरिसकेको थियो । तर सद्भावना अध्यक्ष महतोले टेलिफोनबाटै धम्की दिएपछि बैठकलगत्तै आयोजित पत्रकार सम्मेलन विना तयारीको भाषण थलोमा परिणत भएको थियो । आन्दोलन स्थगनको घोषणा भएन । बरु नेताहरुले प्रधानमन्त्री चुनावमा भाग लिन पर्नुको प्रष्टीकरण दिँदै आफ्नो बचाउमा शब्द खर्चेका थिए ।

तराई मधेस सद्भावना पार्टीका एक उच्च तहका नेताका अनुसार मंगलबार घटस्थापनादेखि लागू हुने भनिएको आन्दोलन फिर्ता फूलपातीदेखि लागु हुनेगरी निर्णय भएको छ । तर मोर्चाले कात्तिक लागेपछि मात्रै त्यसको घोषणा गर्ने उनले बताए ।

‘यो आन्दोलन तुहिइसक्यो, नेताहरुलाई घोषणा गर्न लाज भएजस्तो छ,’ उनले भने, ‘त्यसैले चाडपर्वको बेला आन्दोलन रोक्न भनी आयोजना भएको पत्रकार सम्मेलन गफ गर्ने थलोमा परिणत भयो ।’

झन्डै आधा सय नागरिकको ज्यान जाँदासमेत नघटेको आन्दोलनको पारो नेतृत्वको दिशाहीनताका कारण तुहिएको भन्दै मोर्चा दोस्रो तहका नेता र कार्यकर्ता आक्रोशित भएका छन् । केन्द्रीय नेतृत्व हुँदै जिल्लास्तरसम्म धमाधम पार्टी छाड्ने र राजीनामा दिने लहर चलेको छ । मधेसी समुदायका जायज मुद्दा सम्बोधन गर्न थालिएको आन्दोलनमा नेतृत्वले जानाजान भारतलाई खेल्ने स्पेस दिएको उनीहरुको आरोप छ । दिल्लीस्थित भारतीय विदेश मन्त्रालयबाट चुहिएका संविधान संशोधनका सात बुँदा हुँदै नाकाबन्दीसम्म आइपुग्दा मधेस आन्दोलनका मुद्दा अपहरित भइसकेको बुझाई स्वयं मधेसी मोर्चावृत्तमै छ ।

मोर्चाका एक नेताको भनाईमा, विगतको मधेस विद्रोहका बेला पनि भारतले मधसी नेतृत्वलाई उपयोगमात्रै गरेको थियो । यो पटक त बद्नाम नै गरिदिएको छ ।

‘कतिसम्म भने एक दिनसमेत आन्दोलनमा नआएका विजयकुमार गच्छदारले बरु यो आन्दोलनको जस लिने अवस्था देखा परेको छ,’ ती नेताले भने, ‘प्रधानमन्त्री चुनावमा जाँदा उनले कम्तीमा आठ बुँदे सहमतिमा हस्ताक्षर गराए, हाम्रो नेतृत्वले त त्यति पनि गर्न सकेन ।’

प्रकाशित : आश्विन २६, २०७२ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?