१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रपति चुनावको मतदान सम्पन्न (फाेटाे)

५४९ मत खस्यो, ४८ अनुपस्थित

काठमाडौं — राष्ट्रपति चयनका लागि आज (बुधबार) भएको मतदान प्रक्रिया सम्पन्न संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गोप्य मतदान भयो । संसद सचिवालयका अनुसार कुल ५९७ सांसद मध्ये ५४९ जनाले मतदान गरेका छन् ।

राष्ट्रपति चुनावको मतदान सम्पन्न (फाेटाे)

राष्ट्रपति चयनका लागि आज (बुधबार) भएको मतदान प्रक्रिया सम्पन्न संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गोप्य मतदान भयो ।

संसद सचिवालयका अनुसार कुल ५९७ सांसद मध्ये ५४९ जनाले मतदान गरेका छन् ।

राष्ट्रपति चयनको लागि नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा भएको गोप्य मतदानमा प्रधानमन्त्री केपी ओलीले ११ बजेर २५ मिनेटमा मतदान गरे ।

यसैगरी, प्रधानमन्त्री ओलीपछि राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीले पनि मतदान गरिन् ।

यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति चयनका लागि आज जारी मतदानमा भाग लिए ।

उनले अपराह्न १२:१० मा राष्ट्रपति चयनका लागि नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा जारी गोप्य मतदानमा भाग लिएका थिए । उनीसँगै राष्ट्रपतिका उम्मेदवार नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङले पनि मतदान गरेका थिए ।

बिहान ११ बजेदेखि सुरु भएको मतदानमा एक घन्टामै आधाभन्दा बढी तीन सयभन्दा बढी सांसद्ले मतदान गरेका थिए ।

...

अहिले सांसदहरु लाइनमा बसेर हल भित्र प्रवेश गरिरहेका छन् । सांसदहरुलाई संसदका महासचिव तथा अाजकाे निर्वाचनका मतदान अधिकृत मनाेहरप्रसाद भट्टराईले हस्ताक्षर गर्दै मतपत्र दिइरहेका छन् ।

संसद सचिवालयका अनुसार बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गर्नेछ।

बुधबार साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।




राजनीतिक समीकरणमा आकस्मिक फेरबदल नआए गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एमाले नेतृ विद्यादेवी भण्डारी हुने निश्चितप्राय: भएको छ। भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकसहित साना दलले समर्थन गरेका हुन्। सत्ता गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको रूपमा अघि सारिएको हो।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित हलमा बुधबार बिहान ११ बजेदेखि हुने चुनावमा भण्डारीसँग भिड्न कांग्रेसबाट कुलबहादुर गुरुङ मैदानमा छन्। भण्डारीको उम्मेदवारीको प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन्। समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित साना दलका सांसदहरू छन्। भण्डारीलाई समर्थन गर्नेहरूमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, मालेका महासचिव सीपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका सांसद जयदेव जोशी, राप्रपाका सांसद दीपक बोहोरा, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा, नेपा: राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी र नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन्।

सुरुमा आफैंले उम्मेदवारी दिएको नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी फिर्ता लिई भण्डारीलाई नै सघाउने बताएको छ। नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिएको केही समयमै फिर्ता लिएका थिए। कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई राष्ट्रपतिको उम्मेदवारका लागि प्रस्तावक महामन्त्री प्रकाशमान सिंह र समर्थक अर्का महामन्त्री कृष्ण सिटौला बसेका छन्। यसअघि प्रधानमन्त्री निर्वाचनका बेला पनि कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाका प्रस्तावक र समर्थक कांग्रेसकै नेता मात्र थिए।

गुरुङको पक्षमा कांग्रेस मात्र रहेको र प्रधानमन्त्री निर्वाचनका बेला सघाएको मधेस केन्द्रित दलले समेत राष्ट्रपतिको चुनावी प्रक्रियामा भाग नलिने भएकाले भण्डारीलाई सहज बनेको हो। संसद्मा कांग्रेसका २०७ सांसद छन्। भण्डारीलाई समर्थन गर्ने सत्ता समीकरणमा आबद्ध सदस्य संख्या ३२० भन्दा माथि छ। यही समीकरणअनुसार प्रधानमन्त्री चुनावमा एमालेका अध्यक्ष केपी ओली ३३८ मत ल्याई विजयी बनेका थिए। कांग्रेसका सभापति सुशील कोइरालाले २४९ मत पाएका थिए।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बोल्दै नेतृ भण्डारीले आफू विजयी भएपछि राष्ट्रपति पदको मर्यादा र गरिमा अझ उँचो बनाउने दृढता राखिन्। नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढंगले अघि बढ्ने, नेपाली महिलाको सहभागिता बढ्ने, संविधानको मर्म र भावनाअनुसारै मुलुक अघि बढ्ने विश्वास राखिन्। ‘मलाई जुन विश्वाससाथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास गर्नेछु,’ उनले भनिन्। राष्ट्रपति जस्तो पदको निर्वाचनमा सहमति हुन सकेको भए झन् राम्रो सन्देश जाने उल्लेख गर्दै बुधबारसम्ममा अन्य दलले पनि आफूलाई समर्थन गर्नेमा विश्वस्त रहेको उनले जनाइन्। कांग्रेसबाट उम्मेदवारी दिएका गुरुङले भने कांग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफू अघि बढेको बताए।

‘जित–हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ। जित–हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ। निर्वाचन लड्ने जित्छु भनेरै हो,’ उम्मेदवारी दर्तापछि उनले भने। गुरुङले पनि निर्वाचनको बेलासम्म आफ्नो पक्षमा सहमति जुट्ने विश्वास व्यक्त गरे।

बुधबारै गर्ने भनिएको उपराष्ट्रपतिको चुनाव भने १४ गते बिहान ११ बजेलाई सारिएको छ। सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिमा एमाओवादी नेता एवं पूर्वलडाकु कमान्डर नन्दकिशोर पुनलाई अघि सारिएको छ। कांग्रेसले उक्त पदमा सिरहाका अमियाकुमार यादवलाई उठाउने भएको छ। राष्ट्रपतिका लागि कांग्रेसले लामो छलफलपछि २००७ सालदेखि नै निरन्तर राजनीतिमा सक्रिय नेता गुरुङलाई उम्मेदवार बनाएको हो। गुरुङ कांग्रेसका पूर्वमहामन्त्री समेत हुन्। गुरुङलाई राष्ट्रपति बनाउँदा राजनीतिक ध्रुवीकरणको अन्त्य हुने बताउँदै कांग्रेसले प्रमुख दलहरूबीच सहमतिको आधार समेत खडा हुने बताएको छ।

प्रधानमन्त्रीको निर्वाचनबाट तोडिएको प्रमुख तीन दलको गठबन्धन पुन: कायम गर्न संसद्को ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने तर्कसहित कांग्रेस नेताहरूले सत्तारूढ घटकसँग छलफल तीव्र बनाएका छन्। कांग्रेसलाई राष्ट्रपति नदिएमा सरकार अप्ठ्यारोमा फस्ने चेतावनी समेत कांग्रेस नेताहरूले दिएका छन्।

गुरुङको पक्षमा समर्थन जनाउन कांग्रेसले संविधानसभामा रहेका सबै दललाई लिखित पत्र पठाउनुका साथै भेटेर आग्रह गरेको छ। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त छन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतीय राजनीतिलाई अघि बढाउनकै लागि कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवार नदिएको प्रसंग उल्लेख गर्दै राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्नुपर्ने बताएका छन्। राजनीतिक दलहरूबीचको शक्ति सन्तुलन कायम गर्न पनि कांग्रेसले राष्ट्रपति पाउनुपर्ने पौडेलको तर्क छ।

भोट माग्दै ओली बिजुक्छेकहाँ
भक्तपुर– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली राष्ट्रपतिमा पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीका लागि भोट माग्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको घर पुगेका छन्। प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार भण्डारी, पूर्वसभामुख सुवास नेम्वाङ र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेल सहितको टोली बिजुक्छेकहाँ आएको हो।

नेमकिपाले नारायण महर्जनलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि ओलीले सहमतिको आग्रह गरेका हुन्। उच्चस्तरीय राजनीतिक संयन्त्रमै रहेको नेमकिपाले राष्ट्रपतिमा उम्मेदवारी दिएपछि एमालेको टोली बिजुक्छे निवास पुगेको हो। राष्ट्रपतिको उम्मेदवार बनाउनुअघि संयन्त्रमा छलफल नहुँदा आफूले उम्मेदवार उठाएको बताउँदै अध्यक्ष बिजुक्छेले ‘साझा राष्ट्रपति’ को पहल गर्नुपर्ने बताए। नेमकिपाका महर्जनले भने उम्मेदवारी दिएको केही समयमै फिर्ता लिएका छन्। बिजुक्छे निवासबाट बाहिरिँदै राष्ट्रपतिका उम्मेदवार भण्डारीले नेमकिपा आफूलाई समर्थन गर्न सकारात्मक रहेको बताइन्।

कांग्रेसले पनि माग्यो भोट
कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार कुलबहादुर गुरुङलाई सहयोग गर्न नेमकिपालाई आग्रह गरेको छ। अध्यक्ष बिजुक्छेको निवासमा आई महामन्त्री प्रकाशमान सिंहले सहयोगको आग्रह गरेका हुन्। सिंहले राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै औपचारिक पत्र नै बिजुक्छेलाई हस्तान्तरण गरेको नेमकिपाले जनाएको छ।

प्रकाशित : कार्तिक ११, २०७२ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?