कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भूकम्पपीडितलाई कपडा किन्न राहत रकम वितरण

लिला श्रेष्ठ

भक्तपुर — जिल्ला दैवीप्रकोप उद्धार समिति भक्तपुरले भुकम्पका कारण पूर्णरुपमा घर क्षति भई अस्थायी आवासमा बसोबास गरिरहेका भूकम्पपीडितलाई न्यानो कपडा खरिद गर्न राहत रकम वितरण सुरु गरेको छ ।

समितिले मंगलबारदेखि सम्बन्धित नगरपालिका मार्फत भूकम्पका कारण अस्थायी आवासमा बसोबास गरिरहेका भूकम्पपीडितलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत रकम वितरण गर्न सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक तोयम रायाले बताए ।

भूकम्पको धक्काले जिल्लामा २६ हजार २ सय ८२ घर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय भक्तपुरको तथ्यांकमा उल्लेख छ । न्यानो कपडा किन्न राहत रकमका रूपमा समितिले १३ करोड १४ लाख पेस्की सम्बन्धित नगरपालिकामा पठाइसकेको रायाले बताए ।

जिल्ला कुल भूकम्पपीडितलाई २६ करोड २८ लाख २० हजार रुपैयाँ राहत रकमको आवश्यकता पर्ने प्रशासनले जनाएको छ । भूकम्पको धक्काले भक्तपुर नगरपालिकाका ६ हजार ४ सय ११ घर पूर्णरूपमा क्षति पुगेको र अस्थायी आवासमा बसोबास गरिरहेका भूकम्पपीडित परिवारलाई ३ करोड २० लाख ५० हजार, अनन्तलिंगेश्वर नगरपालिकाका ३ हजार ६ सय २४ परिवारलाई १ करोड ८१ लाख २० हजार, नगरकोट नगरपालिकाका ५ हजार २ सय परिवारलाई २ करोड ६० लाख रुपैयाँ निकासा गरेको समितिले जनाएको छ ।

सूर्यविनायक नगरपालिकाका ४ हजार ६७ परिवारका लागि २ करोड ३ लाख ३० हजार, चाँगुनारायण नगरपालिकाका ५ हजार २ सय ८१ परिवारका लागि २ करोड ६४ लाख रुपैयाँ र मध्यपुरथिमी नगरपालिकाका १ हजार ६ सय ९९ परिवारका लागि ८५ लाख गरी १३ करोड १४ लाख रकम निकासा गरेको रायाले बताए ।

समितिले सम्बन्धित नगरपालिकाहरूलाई तत्काल ५० प्रतिशत राहत रकम निकासा गरेको समितिले जनाएको छ । निकासा भएको राहत वितरण गरिसकेपछि बाँकी रकम निकासा हुने समितिले जनाएको छ । जाडोयाम मध्यसमयमा पुगेकाले एक साताभित्र भूकम्पपीडितलाई न्यानो कपडा खरिदका लागि राहत रकम वितरण गरिसक्न नगरपालिकाहरूलाई निर्देशन दिएको समेत प्रमुख जिल्ला अधिकारी रायाले बताए ।

अनन्तलिंगेश्वर नगरपालिकाले मंगलबारबाट राहत रकम वितरण सुरु गरेको र बाँकी चार नगरपालिकाले पनि बुधबारबाट वितरण सुरु गर्ने निर्णय गरेको भए पनि भक्तपुर नगरपालिकामा भने अन्योल रहेको जनाएको छ । भक्तपुर नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा भूकम्पपीडितलाई वितरण गरिने राहत रकम वितरण प्रभावित भएको छ ।

समितिले यसअघि भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माणका लागि ३६ करोड ४२ लाख ३० हजार, भूकम्पबाट मृत्यु भएका ३ सय २९ जनाको परिवारलाई किरिया खर्चबापत प्रतिव्यक्ति ४० हजारका दरले १ करोड ३१ लाख ६० हजार, मत्यु भएका मृतक परिवारलाई १ लाखका दरले २ करोड ८७ लाख गरी ५३ करोड ७९ लाख १३ हजार ४ सय ९३ वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

भूकम्पको धक्काले घर पूर्णरूपमा क्षति पुगेको भनिएका भूकम्पपीडितमध्येका करिब १ सय २५ परिवारको जिल्ला प्रशासनमा उजुरी परेकाले छानबिन भइरहेको र छानबिन सकिएलगत्तै राहत रकमको विषयमा निर्णय हुने रायाले बताए ।

प्रकाशित : पुस १, २०७२ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?