कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

राहतमा रजाइँ
सुदीप कैनी

गोरखा — नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् ।

कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’

भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्री हराएको स्रोतले कान्तिपुरलाई बतायो ।

‘राहत सामग्री कर्मचारी, सेना प्रहरीले रक्सी र लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा बाँकी छ आधिकारिक तथ्यांक समितिसँग छैन ।

‘सयौं राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतले घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने ।

प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए ।

उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतको दाबी छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए ।

समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे । उनले ब्यारेकभित्र गोदामको सामग्री नहराउनु पर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दाबी उनले गरे ।

राजनीतिक दलहरू पनि राहत अनियमितता गर्नबाट अछुतो रहेनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाललगायत ८ पार्टीलाई स्तरीय म्याट भागबन्डा गरेर वितरण गरियो । भूकम्पपीडितका लागि आएको म्याट पार्टीहरूले भागबन्डा गरेर लिएका हुन् । १ हजार ५ सय म्याट आफूखुसी बाँडेर सकिएको छ ।

छोप्राक गाविसमा सबैभन्दा बढी राहत सामग्री वितरण भएको समितिको तथ्यांक छ । छोप्राक अन्य गाविसको तुलनामा भूकम्पले अत्यन्तै कम क्षति भएको हो ।

नेताहरूले राजनीतिक पहुँचका आधारमा राहत साम्रगी वितरण गर्दा कम प्रभावित गाविसमा धेरै राहत पुगेको कर्मचारीहरू बताउँछन् । दलहरूले अस्थायी टहरो बनाउने बेला स्वयंसेवक खटाएका थिए । तिनका लागि भन्दै कांग्रेस, एमाले र एमाओवादीले राहतमा आएको चामल, नुन, तेल, चिउरा, दाललगायत सामग्री ठूलो परिमाणमा लगेको राहत वितरण समितिका सदस्यहरू बताउँछन् ।

भूकम्पपीडितहरूका लागि आएको १० लाख मूल्यबराबरको राहतको जेनेरेटर प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा लगेर जडान गरे । ८ वटा जेनेरेटर सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी कार्यालयले प्रयोग गर्दै आएका छन् ।

भूकम्पबाट अति प्रभावित गाविसहरू स्थानीय लघु जलविद्युत् आयोजना मर्मत नहुँदा अझै पनि अन्धकारमा छन् । चिनियाँ सरकारले जेनेरेटरसहित ८० वटा स्तरीय टेन्ट राहतका लागि पठाएको थियो । ती टेन्ट पनि सरकारी कार्यालयहरूले प्रयोग गरेका छन् ।

भवनमा क्षति नपुगेका सेना, सशस्त्र र नेपाल प्रहरीले पनि सुरक्षित सुत्न टेन्ट लगेर टाँगेका हुन् । कतिपय दुर्गमका भूकम्पपीडितले अहिलेसम्म टेन्ट नपाएर पालमै बास बस्न बाध्य छन् ।

१५ सयभन्दा बढी स्तरीय टेन्ट सरकारी कार्यालय र विद्यालयहरूले मात्र प्रयोग गरेका छन् । ती अहिले उपयोगविहीन भएको भूकम्पपीडितहरू गुनासो गर्छन्

किरा परेको चामल वितरण
गोदाममा थन्किएर किरा परेको चामल भूकम्पपीडितलाई वितरण गर्न थालिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले घुन र किरा लागेर बिग्रिएको चामल प्रभावित बस्तीका सर्वसाधारणलाई वितरण गर्न सदरमुकामबाट पठाउन थालेको छ ।

विश्व खाद्य कार्यक्रम डब्लूएफपीका प्राविधिकहरूले चामलबाट घुन, किरा हटाएपछि वितरणमा पठाउन थालेको खाद्य संस्थान गोरखाका प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए । ‘समितिले गुम्दा, आरुआर्वाङ, लापु गाविसमा चामल वितरण गर्न भनेपछि ढुवानी गर्न थालेका छौं,’ उनले कान्तिपुरसँग भने ।

चामलमा परेको किरा मार्न सेल्फस नामक औषधि प्रयोग गरेर फिमिकेसन (पानीमा औषधि मिसाएर छर्किने विधि) गरिएको उनले बताए । बोरा खोलेर औषधि छर्किएको चामल ४ दिनसम्म पालले छोपेर राखिएको थियो ।

‘फिमिकेसन गरेपछि प्राविधिकहरूले चामल खान हुने बताएका छन्,’ उनले भने, ‘८० जना कामदार लगाएर चामलको किरा मारिएको हो ।’ किरा परेको प्रत्येक बोरा फुटाएर सफा गरेको शाहले दाबी गरे । किरा र चिसोका कारण बिग्रिएको कतिपय चामल नष्टसमेत गरिएको उनले जानकारी दिए । सोमबार मात्रै गुम्दा गाविसको वडा नम्बर १, २ र ३ मा वितरण गर्न ३५ क्विटल चामल पठाइएको छ ।

संस्थानको गोदाममा रहेको चामलमा किरा परेको सार्वजनिक भएपछि संस्थानको क्षेत्रीय कार्यालयले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा चामल खान नहुने गरी बिग्रेको भेटिएन,’ खाद्य संस्थानका गण्डकी अञ्चल प्रमुख अम्बिकाप्रसाद घिमिरेले भने ।

भूकम्पपीडितका लागि राहत र दुर्गमका बासिन्दालाई सहुलियत मूल्यमा बिक्री गर्न जिल्ला आएको खाद्य संस्थानको चामलमा गोदाममै घुन र किरा पर्न थालेको थियो । यसअघि पनि किरा मार्न औषधिले तीनपटक स्प्रे गरिएको थियो । फिमिकेसनसमेत गरेर चामलमा ४ पटक औषधि छर्किएको छ ।

राहतमा बंगलादेशबाट आएको ५० किलोग्रामको ७ सय बोरा, ३० किलोको १२ सय ३५ बोरा र खाद्य संस्थानको सहुलियत मूल्यको एक हजार दुई सय ४२ क्विटल चामलमा घुन, चिल्सा र किरा परेको हो । चामललाई फिमिकेसन विधिबाट उपचार गरेपछि किरामुक्त भएको खाद्य संस्थानले दाबी गरेको छ ।

चामल केलाउन सहभागी कामदारले भने औषधिका कारण चामलमै मिसिएर किरा मरेको बताए । खाद्य संस्थानको चामल भने सहुलियत मूल्यमा बिक्री गर्न दुर्गमका माछिखोला र सिर्दिबास डिपोमा पठाउने तयारी गरिएको छ ।

तातो लुगाका लागि रकम अभाव
भूकम्पपीडितका लागि न्यानो लुगा किन्न सरकारले पठाएको रकम अपुग भएपछि अन्योल भएको छ । करिब ७० करोड रकम आवश्यक भए पनि सरकारले ४० करोड रुपैयाँ मात्र पठाएको हो ।

१६ गाविस र दुई नगरपालिकाका पीडितका लागि वितरण गर्ने रकम अभाव भएको हो । अपुग भएको ३० करोड रुपैयाँ गृह मन्त्रालयसँग माग गरिएको पौडेलले बताए । ‘मन्त्रालयलाई तुरुन्त रकम पठाइदिन अनुरोध गरेर पत्राचार गरेका छौं,’ उनले भने ।

मंगलबारसम्म १३ गाविसका ११ हजार दुई सय ४८ घरधुरीलाई न्यानो कपडा किन्न १० हजार वितरण गरिएको छ । ४० करोडमध्ये ८ करोड ९९ लाख ८० हजार मात्र वितरण भएको हो ।

प्रकाशित : पुस १५, २०७२ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?