३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मन्त्रालयबाट सूचना प्रविधि झिकिनु ठीक होइन : सचिव मल्ल

रासस

काठमाडौं — राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लको आज सञ्चार मन्त्रालयमा आयोजित समारोहमा बिदाइ गरिएको छ ।

श्री मल्ल २०७१ भदौ २ गतेदेखि सञ्चार मन्त्रालयमा कायममुकायम सचिव र २०७१ साल माघ २२ गतेदेखि सचिवमा पदोन्नति भई सेवारत थिए ।

बिदाइ समारोहमा सचिव मल्लले सञ्चार मन्त्रालयमा सञ्चार प्रविधिलाई समेट्दा मुलुकको समग्र सूचना प्रविधिको विकासमा मन्त्रालयले महत्वपूर्ण योगदान गर्नसक्ने देखिएको चर्चा गर्दै अहिले सूचना प्रविधिलाई अलग गर्दा मुलुकले ठूलो मौका चुकाएको बताए ।

नेपाल सरकारले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत रहेका सूचना प्रविधि विभाग, प्रमाणीकरण नियन्त्रकको कार्यालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र र सूचना प्रविधि पार्क बनेपालाई सञ्चार मन्त्रालयमा गाँभेर मन्त्रालयको नाम सूचना तथा सञ्चार प्रविधि बनाइएको थियो । तर सरकारले हालै ती चारवटै निकायलाई पुनः सञ्चार मन्त्रालयबाट हटाई विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत नै राखेको छ ।

यसअघि, मन्त्रालयका सहसचिवद्वय कविराज खनाल र रामचन्द्र ढकालले सचिव मल्लको नेतृत्वमा सञ्चारसम्बद्ध विभिन्न नीति र कानुन तर्जुमा गरिएको बताउँदै उनले कुशल नेतृत्वमा मन्त्रालयले राम्रो प्रगति गरेको उल्लेख गरे ।

बिदाइ समारोहमा मन्त्रालयअन्तर्गतका विभिन्न संस्थाका प्रमुख र पदाधिकारी एवम् विभागीय प्रमुखको उपस्थिति थियो ।

प्रकाशित : पुस १६, २०७२ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?