१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

फास्ट ट्रयाकबाट संविधान ल्याउनु गल्ती भयोः पूर्वराष्ट्रपति यादव

'मलार्इ दलहरुले सहमतिमा लिएनन्'

काठमाडौं — पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रवादको खोक्रो नारा दिएर मुलुकलाई अधिनायकवादतिर धकेल्ने प्रयास भइरहेको बताएका छन् । अर्थतन्त्रबेगरको उग्रराष्ट्रवादले लोकतन्त्रलाई कमजोर बनाउने यादवको भनाइ छ ।

फास्ट ट्रयाकबाट संविधान ल्याउनु गल्ती भयोः पूर्वराष्ट्रपति यादव

'उग्रराष्ट्रवादले लोकतान्त्रिक विधि र प्रक्रिया कमजोर बनाउँछ,' ४०औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी विचार राष्ट्रिय समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा यादवले भने, 'अन्ततः यसले निम्ताउने भनेको अधिनायकवाद नै हो ।'

प्रधानमन्त्री केपी ओलीको नाम नलिई पूर्वराष्ट्रपति यादवले तितो भाषा बोलेर समस्याको समाधान नहुने बताए । 'देशलाई अखण्ड राख्न खण्डखण्ड विचार राख्न हुँदैन । पहाड, हिमाल र मधेस सबै जनताको भावानको कदर गर्न सक्नुपर्छ,' यादवले भने, 'सरकार चलाउने व्यक्तिले मुलुकको एकता कायम गर्न सक्नुपर्छ ।' फास्ट र सुपर फास्ट ट्रयाकबाट संविधान जारी गरेर प्रमुख राजनीतिक दलका नेताहरूले गल्ती गरेको बताउँदै यादवले भने, 'एकपटक गल्ती भएकै हो । अब महागल्ती नगरौं ।'

दोस्रो संविधानसभाले  संविधान निर्माणको प्रक्रियालाई लिकमा ल्याउने काम गरे पनि प्रमुख राजनीतिक दलले संविधानसभाभित्र रहेका मधेसी मोर्चालाई बाहिर पठाएर संविधान जारी गर्ने ऐतिहासिक भूल गरेको यादवले बताए । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिदेखि असन्तुष्ट रहेका यादवले त्यसयताको संविधान संविधान निर्माणको प्रक्रियामा आफ्नो भूमिका नरहेको बताए । 'मलाई सहमतिमा नलिईकनै दुई पार्टीले सातबुँदे सहमति गरे । त्यसपछिको संविधान निर्माणको प्रक्रियामा म सिनमा छैन,' गुनासो पोख्दै यादवले भने, 'मलाई राजनीतिक दलले साथ दिएनन् ।'

आफूलाई मन नपर्दा नपर्दै पनि संविधान जारी गर्नु आफ्नो संवैधानिक कर्तव्य रहेको यादवले बताए ।
'नेकपा-माओवादी संविधानबाहिरै थियो । संविधान निर्माणको प्रक्रियामा रहेको मधेसी मोर्चा प्रदेशको सीमांकनको विषय लिएर बाहिरियो । उनीहरूलाई विश्वासमा लिएर संविधान जारी गर्न मैले सुशील, प्रचण्ड, केपी र विजयलाई बोलाएर भनें । संविधान निर्माणको प्रमुख समितिमा रहेका सभापतिहरूलाई पनि बोलाएर भनें केही दिन समय लिएर समस्या हल गरौं,' यादवले भने, 'मैले १५, १० र ७ दिन कति हुन्छ समय दिउँ भनेर जोड दिए । तर, संविधानसभामा संविधान जारी गर्ने समय पारित गरेर मेरो चाहनामा ब्रेक लगाउने काम भयो ।' उनले मधेसको फोर्सलाई बाहिर राखेर संविधान जारी गर्नुपर्दा आफूलाई पीडाबोध भएको पनि बताए ।

 

प्रकाशित : पुस १६, २०७२ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?