संसद् १ घण्टाभन्दा ढिलो नहुने

राजेन्द्र फुयाल

काठमाडौं — ठीक समयमा काम सुरु नगर्ने प्रवृत्तिको व्यंग्यात्मक शब्दावली हो– ‘नेपाली समय ।’ अझ संसदीय अभ्यासमा त बिहान ११ बजेका लागि डाकिएको बैठक मध्यराति मात्रै बस्न सक्छ ।

संसद् १ घण्टाभन्दा ढिलो नहुने

सत्ता खिचातानी र सरकार–प्रतिपक्षको सौदाबाजीका कारण संसद्का अधिकांश बैठक समयमा सुरु हुँदैनन् ।

संसद्को नयाँ नियमावली लागू भएपछि भने सदनको घण्टी कतिबेला बज्ला भनेर हाई काड्दै दिनभरि रुङ्नुपर्ने बाध्यताबाट सांसदहरूले छुटकारा पाउने भएका छन् । नियमावली मस्यौदा समितिअन्तर्गतको मस्यौदा लेखन उपसमितिले मध्यरातको १२ बजे अघिसम्म जतिबेला सदन सुरु गरे पनि हुने सभामुखको तजबिजी अधिकार कटौती गर्ने प्रस्ताव गरेको हो ।

‘अब तोकिएको समयमै बैठक सुरु गर्नुपर्छ । पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलासम्म पनि सुरु भएन भने उक्त बैठक स्वत: स्थगित भएको मानिन्छ,’ सदन सञ्चालनसम्बन्धी प्रस्तावित प्रावधानबारे उपसमितिका सदस्य रेवतीरमण भण्डारीले भने, ‘अब सांसदहरूले तोकिएको समयमा उपस्थित भएपछि एक घण्टाभन्दा बढी कुर्नु पर्दैन ।’ एक घण्टाभित्र सुरु गर्न नसक्ने अवस्थामा सभामुखले तत्कालै अर्को बैठकको मिति र समय तोक्नुपर्ने प्रस्तावित नियमावलीमा छ ।

बैठक सञ्चालनसम्बन्धी नयाँ प्रावधानले संसद्को व्यवस्थापनलाई प्रभावकारी बनाउनेमात्र नभई सबै सदस्यलाई अनुशासित बनाउने उनको विश्लेषण छ ।

उपसमितिले संसद्को बैठक सुरु गर्ने समयसीमामा सहमति जुटाए पनि नयाँ नियमावली कार्यान्वयनको तिथि तय हुन सकेको छैन । संसद्ीय सुनुवाइ विशेष समितिको सदस्य संख्यामा भएको विवादका कारण साढे ६ महिनासम्म पनि सदनले आफ्नो नियमावली बनाउन नसकेको हो ।

प्रकाशित : चैत्र २२, २०७२ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?