कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दिनहुँ सयौं डढेलो

अब्दुल्लाह मियाँ

काठमाडौं — अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ सयौंको संख्यामा डढेलो लाग्न थालेको छ । आठ वर्षयताकै सबैभन्दा बढी डढेलोसमेत योपल्ट लागेको छ । विगतमा भौतिक क्षति मात्र हुँदै आएकोमा यो वर्ष अहिलेसम्म डढेलो नियन्त्रणका क्रममा १० जनाको मृत्यु र १० घाइते भएका छन् ।

दिनहुँ सयौं डढेलो

नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो बढी लाग्ने गर्छ । यो चैतमा लागेको डढेलो २०६४ यताकै सबैभन्दा बढी हो । ‘३० चैतमा एकै दिन ७ सय ५६ ठाउँमा डढेलो लाग्यो,’ दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अध्यक्षसमेत रहेका नुवाकोटका भू–संरक्षण अधिकृत सुन्दरप्रसाद शर्माले भने, ‘पछिल्ला वर्षहरूमा यो विकराल  समस्या बन्दै गएको छ ।’ चैत ३० पछिका १८ दिनमा करिब ६ हजार स्थानमा डढेलो लागिसकेको छ । चुरे, तराई तथा मध्यपहाडी धेरै जिल्लाका वनमा लागिरहेको डढेलो रोकिन सकेको छैन, रोक्न उचित पहल हुन पनि सकेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार एक महिनायता मुलुकका धेरै भागमा औसतभन्दा अत्यधिक कम वर्षा भएको छ । अझै गर्मी बढिरहेकाले डढेलोको समस्या वृद्धि हुन सक्ने जानकारहरूको भनाइ छ । मौसमविद् राजु प्रधानांगका अनुसार यो वर्ष नेपालगन्जलगायत स्थानमा ४२ डिग्रीसम्म तापक्रम पुगेको छ । काठमाडौंमै ३४ डिग्रीसम्म रेकर्ड भएको छ ।

फागुनदेखि जेठसम्म डढेलो लाग्ने समय हो भने वैशाख र जेठ सबैभन्दा बढी गर्मी हुने हुँदा जोखिम झनै बढी हुने गर्छ । यस अवधिमा वेगले हावा चल्ने भएकाले सानो भिल्कोले पनि डढेलोको ठूलो रूप लिने सम्भावना बढी हुन्छ । शर्माका अनुसार चैत ३० यता डढेलोका घटना निकै बढदै गएको देखिन्छ । वैशाख १ देखि १८ गते (शनिबार) सम्म हेर्दा पनि डढेलोको संख्या अत्यधिक बढिरहेको छ ।     

वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले चुरे तथा तराई, विभिन्न निकुञ्ज र आरक्ष तथा मध्यपहाडी जिल्लाका वन बढी डढेलोको चपेटामा परेको बताए । विभिन्न जिल्लाले डढेलोको क्षति विवरण भटाभट विभागलाई पठाइरहेका छन् । अहिलेसम्म करिब ३ लाख ५० हजार हेक्टर वन विनाश भइसकेको प्रारम्भिक तथ्यांक छ ।

यो वर्ष अहिलेसम्म डढेलो नियन्त्रण गर्नेक्रममा १० जनाको निधन र १० जना सख्त घाइते भएको उल्लेख गर्दै महानिर्देशक डाँगीले भने, ‘अघिल्ला वर्षहरूमा जंगल मात्र विनाश हुन्थ्यो, यो पटक मानवीय र घरसमेत जलेका छन् ।’ उनले हावाहुरी र अत्यधिक गर्मीका कारण झनै डढेलो बढदै गएको बताए । ‘अहिले पनि डोटीदेखि अर्घाखाँचीका विभिन्न स्थानमा डढेलोको भयावह अवस्था छ,’ उनले भने । आवश्यक जनशक्ति, स्रोत साधन र तालिमको अभावले बेलैमा डढेलो नियन्त्रण गर्न नसकिएको उनले सकारे ।

शर्माले दिएको तथ्यांकअनुसार २०६६ को वैशाख १२ मा एकै दिन ३ सय ५८ स्थानमा डढेलो लागेको थियो । ८ वर्षयताको तथ्यांक हेर्दा एकै दिन लागेको डढेलोमा त्यो अहिलेसम्मकै दोस्रो हो । २०६५ को वैशाख १३ मा एकै दिन १ सय ५५ स्थानमा डढेलो लागेको थियो ।

यस्तै, २०६७ को वैशाख १३ मा एकै दिन ८४ स्थानमा डढेलो लागेको थियो भने २०६८ को वैशाख ९ मा एकै दिन १ सय ६७ स्थानमा लागेको थियो । २०६९ को चैत ३० मा एक सय स्थानमा र त्यही वर्षको वैशाख १२ मा पनि एकै दिन १ सय ८२ स्थानमा डढेलो लागेको शर्माले बताए । २०७१ को वैशाख ११ मा पनि एकै दिन १ सय ७९ स्थानमा डढेलो लागेको थियो । राष्ट्रिय र सामुदायिक वनमा डढेलोले विकराल रूप लिए पनि हामीकहाँ निभाउने प्रविधिको विकास भएको छैन । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की महासचिव भारती पाठकले रेडियो, टेलिभिजनमार्फत डढेलोबारे सचेतना जगाउन थालिए पनि त्यो मात्रै नियन्त्रणको उपाय नभएको बताइन् । ‘यसबारे बृहत् सचेतना अभियानका साथै जनस्तरमा क्षमता अभिवृद्धिको खाँचो छ,’ पाठकले भनिन् ।

केही वर्षदेखि डढेलो विकराल समस्या बन्दै गएपछि वन मन्त्रालयले आगामी आर्थिक वर्षदेखि बजेटमै डढेलो नियन्त्रणका लागि अलग्गै कार्यक्रम र बजेट विनियोजनको तयारी गरेको छ ।

प्रकाशित : वैशाख १९, २०७३ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?