पुनर्जीवन पाउला माओवादीले ?

बसन्त बस्नेत

काठमाडौं — झन्डै ६ महिना लामो पहलपछि अन्तत: माओवादी पार्टीहरू एक ठाउँ आए । पहिलो संविधानसभा बिनासंविधान अवसान हुनेबित्तिकै तत्कालीन एमाओवादीमा विभाजनको शृंखला सुरु भएको थियो ।

पुनर्जीवन पाउला माओवादीले ?

२०६९ असार ४ मा पार्टीका वरिष्ठ नेता मोहन वैद्य युद्धकालीन ठूलो समूहसहित बाहिरिएसँगै सुरु विभाजन शृंखलाको अन्तिम विन्दुमा अर्का वरिष्ठ नेता बाबुराम भट्टराई उभिए । दोस्रो संविधानसभाले संविधान जारी गरेको सातापछि उनले गरेको पार्टी परित्याग घोषणाले अन्तत: विभाजनकै स्वरूप लियो । बिहीबार १० माओवादी समूहको नेकपा माओवादी केन्द्र घोषणा हुँदा वैद्य र भट्टराई त थिएनन्, तर अध्यक्ष पुष्पकमल दाहाल विगतको ठूलो सांगठनिक हिस्सालाई आफूतिर पुन: डोर्‍याउन सफल भए ।

दाहाल र नेता रामबहादुर थापाले नयाँ पार्टी निर्माणको जिकिर गरे पनि अन्तत: उक्त घोषणा माओवादी धारहरूबीच एकीकरण नै थियो । यो एकताका लागि दाहालले पछिल्लो समय सम्पूर्ण शक्ति लगाएका थिए । पार्टी एकताका दिन बिहीबार धक फुकाएर भाषण पनि दिए, ‘मेरै नेतृत्वका पालामा पार्टी युद्धबाट शान्तिमा आएर पहिलो शक्ति पनि बन्यो । मेरै पालामा हेर्दाहेर्दै सात–आठ–नौ–दस टुक्रामा विभाजित भयो । आज मेरै नेतृत्वमा यो फेरि एकजुट बनेको छ । अब चकित बनाउने गरी नतिजा निकाल्दै जान्छौं ।’

यद्यपि दाहालले दाबी गरेझैं दसमा दस संगठन नै मूलधारमा जोडिन आएका भने होइनन् । थापाले भर्खरै नेतृत्व हत्याएको नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलगायत नेता उतै छुटे । वैद्य, नेत्रविक्रम चन्दलगायतले राजधानीमा शुक्रबारै दाहाललाई चुनौती दिने योजनासहित शक्ति प्रदर्शनसमेत गरे । अनि, नयाँ शक्तिका केही नेता पुरानो घर त फर्के, तर भट्टराई जेठ ३०, ३१ र ३२ गते राजधानीमा पार्टी स्थापनाको तयारीमा रातदिन खटिएका छन् । पुरानो घर माओवादी केन्द्रमा फर्कने कुनै सम्भावना नरहेको उनले बताउँदै आएका छन् । भट्टराईले सुकेका ठूटा र हाँगा जोडेर रूख नबढ्ने कडा टिप्पणीसमेत शुक्रबारै गरेका छन् ।

यद्यपि मणि थापा, मातृका यादवलगायतको संगठन माओवादी केन्द्रमा समाहित हुन आएका छन् । पछिल्लो काल वैद्य माओवादीबाट स्वतन्त्र बसेकी जयपुरी घर्तीलाई पनि माओवादी केन्द्रमा फर्काइएको छ । ६ सय ९९ सदस्यीय केन्द्रीय समिति विश्व राजनीतिक संगठनको इतिहासमा दुर्लभ दृष्टान्त हुन सक्छ । तर दाहालले शुक्रबार पेरिसडाँडामा आयोजित बेपत्ता योद्धा स्मृति दिवसको कार्यक्रममा बोल्दै ४ हजार गाउँका लागि ७ सय केन्द्रीय सदस्य थोरै हुने जवाफ फर्काए । ‘प्रत्येक गाउँमा एक जना केन्द्रीय सदस्य बस्ने भन्यो भने केन्द्रीय समिति त सानो हुन्छ,’ दाहालले सहभागीलाई हँसाउँदै भने, ‘यो संख्याको सामान्य जोड घटाउको कुरा होइन, तत्कालका लागि समिति ठूलो बनाउने आवश्यकता र बाध्यता दुवै भए पनि काममा बदल्ने हो ।’

 तत्कालीन एमाओवादी विभाजनको असर अर्को वर्ष २०७० मंसिरमा सम्पन्न संविधानसभाको दोस्रो चुनावमा देखियो, जहाँ वैद्य पक्ष बहिष्कार र अवरोधमा ओर्लियो । एकातिर तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले गराएको चुनावमा विदेशी इशारा रहेको वैद्यको दाबी थियो, अर्कातिर दाहाल स्वयं त्यसको गोटी बन्न पुगेको उनको आरोप पनि थियो ।

पहिलो ठूलो दल एमाओवादी भारी अन्तरसहित तेस्रो भएपछि राष्ट्रिय राजनीतिमा एमाओवादीको प्रभाव अकस्मात रक्षात्मक बन्न पुगेको थियो । त्यसपछि पहिलो र ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार बनाए । एमाओवादी प्रतिपक्षमा मात्रै बसेन, असन्तुष्ट मधेसी जनजातिसहित ३० दलीय विपक्षी गठबन्धन नेतृत्व गर्दै संविधान निर्माण प्रक्रियामा आफ्नो फरक मत राखिरह्यो । भूकम्पको अर्को महिना भएको १६ बुँदे सहमतिसँगै दाहाल फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आए, तर अधिकांश मुद्दामा सम्झौता गरेर । त्यसलाई वैद्यलगायत नेताहरूले विरोध गरिरहे ।

असोजमा संविधान निर्माण हँ‘दा दाहालले आन्तरिक र बाह्य दबाबबीच निर्णय लिएपछि भने उनलाई र एमाओवादीलाई हेर्नेबारे वैद्य माओवादीमा अन्तविरोध पैदा भयो । त्यसपछि नै दाहालले एकताका लागि प्रयास थालेका थिए । उनले अब पार्टी संगठन शान्ति प्रक्रियामा आउँदाको अवधिझैं ब्यँ‘ताउने दाबी गरेका छन् । दाहालले केन्द्रीय नेता गाउँटोलमा जाँदा सबैभन्दा पहिले सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते/अपांग, जेलनेल भोगेकालाई पहिलो सम्पर्क गर्ने, उनीहरूको स्थिति बुझ्ने र उनीहरूका लागि के गर्न सकिन्छ त्यो गर्नेसमेत घोषणा गरे । नेता थापाले पार्टी संगठन ब्युँताएर माओवादी केन्द्रले नयाँ जीवन पाउने दाबी गरे ।

युद्धकालका सारथिमध्ये आज केही छुटेका छन् । सम्भवजतिलाई एकता प्रक्रियामा ल्याएर दाहाल अघि बढ्न खोजेको देखिन्छ । माओवादीलाई चार वर्षअघि नफुटी नहुने त्यस्तो के पर्‍यो ? अनि आज के कारणले उनीहरू जुटेका होलान् त ? 

माओवादी नेताहरूले माओवादी विचारधाराभित्रै अलगअलग स्कुलिङ भएकाले त्यो कालान्तरमा फुटसम्म पुगेको दाबी गर्दै आएका छन् । चीनमा माओत्सेतुङले निर्माण गरेको जनवादी क्रान्तिपछिको सत्ताबाहेक अरू सबै विकल्प भ्रम भएको बुझाइ राख्ने एउटा पक्ष, शान्ति प्रक्रियापछि लोकतान्त्रिक रूपान्तरणमाथि परिवर्तनका एजेन्डा स्थापित गर्न लागेको पक्षबीच ध्रुवीकरण बढ्दै गएर विभाजन हुन पुगेको सम्झन्छन्, विश्लेषक झलक सुवेदी । ‘अलग स्कुलिङका कारण उनीहरू फुटेका थिए, शान्ति प्रक्रियापछि नयाँ परिवेशमा समायोजन हुन नसकेको एउटा तप्का प्रचण्डको नेतृत्वसँग असन्तुष्ट रहँदै आयो, त्यो विभाजनसम्म पुगेको हो,’ सुवेदी भन्छन्, ‘अहिले चार वर्षपछि एकतामा आउनुका पछाडि आफू यसबीचमा कमजोर भइयो भन्ने अनुभूति नै मुख्य छ ।’

युद्धकालमा धेरै कार्यकर्ता, समर्थक मारिए अंगभंग र यातना भोगे पनि सांगठनिक विभाजनका कारण कालान्तरमा अरू दल र समाजबाट उपेक्षा अनुभूति गर्न थालेका माओवादीलाई एकता बाध्यकारी बन्दै गरेको हुँदा यो नयाँ घोषणामा उनीहरू आइपुगेको सुवेदीको बुझाइ छ । वैद्यसँग गएको अर्को वर्ष त्यसबाट समेत फुटेका नेत्रविक्रम चन्दलगायत कतिपय नेता भने अझै जनविद्रोहको कार्यदिशा अँगालेर बसेकै छन् ।

नयाँ माअ‍ोवादी केन्द्र घोषणाले राष्ट्रिय राजनीतिमा केही नयाँ आयाम दिने विश्लेषक सुवेदीको बुझाइ छ । केपी ओलीसँगको सत्ता गठबन्धनका कारण पछिल्लो समय अलग छवि बनाएका अध्यक्ष दाहाललाई थापासँगको सहकार्यले फेरि वामपन्थी बाटोतर्फ प्रतिबद्ध हुन बाध्यकारी बनाउने उनको बुझाइ छ । 

दाहालले पार्टी घोषणा सभामा संसदबाट मात्रै नभई सडक र संघर्षका सबै वैधानिक रूप प्रयोग गर्ने घोषणा गरे । सत्ता नेतृत्वमा उच्च जातीय अहंकारवाद देखिएको उनको जिकिरका पछिल्तिर थापासँगको सहकार्यको प्रभाव कहीं न कहीं प्रतिविम्बित देखिएकै थियो । विश्लेषकले दाहाललाई यो नयाँ सांगठनिक शक्ति सन्तुलनले लामै अवधि डोर्‍याइरहने, त्यसको पहिलो प्रभाव यसै वर्ष हुने भनिएको माओवादी केन्द्रको महाधिवेशनमा देखिने आकलन गरेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७३ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?