समुदायमा जलवायु अनुकुलन विधिको खोजी, उत्कृष्ट विधिलाई अढाई करोड पुरस्कार
बाँके — बेलायती अन्तर्राष्ट्रिय विकास नियोग ((डीएफआईडी) ले जलवायु परिवर्तनले पारेको असरबाट जुध्ने उपायको खोजी गर्ने समुदाय वा संघसंस्थालाई करोडौंको पुरस्कार दिइने भएको छ ।
जलवायु परिवर्तनको अनुकूलनका लागि समुदायले व्यवहारगत रुपमा गरेको नवीनतम प्रयास अन्य मुलुकका लागि उदाहरण बन्न सक्ने भन्दै पुरस्कार घोषणा गरिएको हो । जालवायु र वातावरणका लागि निकै विविधतापूर्ण मानिएको नेपालमा समुदायस्तरबाटै अनुकूलनका कार्यहरु भएकाले प्राथमिकतामा पारिएको हो ।
पुरस्कार दाबी गर्नका लागि आगामि असोज ४ गतेसम्म समय तोकिएको छ । पुससम्म पुरस्कारको अन्तिम नतिजा सार्वजनिक गरिने भएको छ । पहिलो चरणको पुरस्कारका लागि जलवायु परिर्वतनबाट सृजित समस्याको अनुकुलन खोज्न ठोस कार्यक्रम गर्ने समुदाय, संघसंस्थाका लागि १ लाख ५० हजार पाउन्ड स्टर्लिङ (करिव २ करोड ३१ लाख ) रुपैयाँ घोषणा गरिएको अनुकुलन व्यापकता प्रवद्र्धन पुरस्कारका टिम लिडर पुरुषोत्तममान श्रेष्ठले बताए ।
‘जलवायु अनुकुलनका लागि थुप्रै काम हामीकहाँ पनि भएका छन् । तर, ती कार्यहरु लुकेर बसेका छन् । त्यसैले त्यसको खोजी गरी प्रचार गर्न यो कार्यक्रम ल्याइएको हो,’ नेपालगन्जमा मध्य र सुदुरपश्चिमका संघसंस्थाका प्रतिनिधिहरुलाई पुरस्कार दाबी गर्ने प्रक्रिया बारे जानकारी दिंदै टिम लिडर श्रेष्ठले भने, ‘यो पुरस्कारका लागि गाउँमा रहेका विभिन्न समूहले पनि सहभागिता जनाउन पाउने छन् । तर, जलवायु अनुकुलनका लागि गरिएको प्रयास अनिवार्य सर्त हो ।’
पुरस्कार बारे जानकारी दिन संस्थाले मुलुकभरीका संघसंस्थाका अगुवाहरुलाई जानकारी दिन थालेको छ । मंगलबार मध्य र सुदुरपश्चिमका नागरिक समुदायलाई त्यस बारे जानकारी गराइएको छ ।
उक्त पुरस्कार डीएफआईडीको आर्थिक सहयोग र आईएमसी बल्र्डबाइडको ब्यवस्थापकीय सहकार्यमा घोषणा गरिएको उनले बताए । दोस्रो चरणको पुरस्कारका लागि अनुकूलन विधिको कार्यान्वयन रहेको छ । एउटा समुदायमा रहेको जलवायु अनुकुलन प्रयास धेरै स्थान र समुदायमा विस्तार गर्न पाउने छन् । कार्यान्वयन नामको पुरस्कारको राशी ३ लाख २५ हजार पाउन्ड (करिव ५ करोड ५० लाख) रुपैयाँको रहेको छ । पहिलो चरणको पुरस्कार घोषणापछि दोस्रो चरणको प्रक्रिया सुरु गरिने छ ।
जलयवायु परिवर्तनको असरबाट प्रभावित र जोखिममा रहेका आदिवासी, सिमन्तकृत समुदायलाई प्राथमिकता राखिएको छ । ‘सबैभन्दा बढी जोखिममा रहेका समुदायसँग अनुकुलनसँग जुध्ने उपाय अझ प्रभावकारी हुनसक्छन् । तर, ती प्रक्रिया र कार्यक्रम बारे चर्चा नभएको हुनसक्छ । त्यसैले हामी त्यस्तै अनुकुलनका नमुना विधिको खोजिमा जुटेका छौँ,’ उक्त कार्यक्रमका अनुकुलन ब्यापकता प्रवद्र्धन पुरस्कारका श्रोत व्यक्ति बिमल पोखरेलले भने, ‘धेरैभन्दा धेरै अनुकूलनका विधिहरु आउने आश गरेका छौँ । ती मध्ये उत्कृष्टलाई पुरस्कृत गरिने छ ।’
प्रकाशित : जेष्ठ १९, २०७३ १२:१५