अस्पताल पुग्दा सामान्य थिए सशांक

काठमाडौं — मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा. सशांक कोइराला सामान्य अवस्थामै थिए । सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो । उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ । सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए । चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरे ।

अस्पताल पुग्दा सामान्य थिए सशांक

‘अस्पताल आउँदा केही भएजस्तो थिएन, सामान्य अवस्थामै हुनुहुन्थ्यो । पेटको सामान्य खराबी भएर ल्याइएको थियो । बुधबार विस्तृत जाँच गरेर टोखा फर्कने योजना बनाएका थियौं,’ तिवारीले कान्तिपुरसँग भने, ‘सामान्य अवस्थामा भएकैले चिकित्सकले बेलुका विस्तृत जाँच नगरी भोलिपल्ट बिहान गर्ने योजना बनाएका थिए ।’

भर्ना भएका कोइराला आईसीयूकै प्राइभेट कोठामा बसेका थिए । ‘बेलुका भोक लागेर पिजा खाने भन्नुभयो । पिजा ल्याएर दियौं, त्यसपछि एक गिलास जुस पनि खानुभयो,’ तिवारीले भने । कोइरालासँग केही चिकित्सक र सहयोगी राति १ बजेसम्म कुराकानी गरेर बसेका थिए । त्यतिबेलासम्म उनलाई केही भएको थिएन । अस्पतालमा निदाउन गाह्रो होला भनेर सुत्ने बेलामा ‘सिलिपिङ टयाबलेट’ दिइएको थियो । त्यसपछि उनी निदाए । ‘म आफैं पनि राति एक–दुई पटक उठेर हेरें, घुर्दै सुतेको देखें । घुर्ने उहाँको बानी नै थियो, मस्तसँग निदाउनु भएको छ भन्ठानें,’ सँगै रहेका तिवारीले भने ।

उनका अनुसार सबै निद्रामा रहेका बेला बिहान साढे ५ बजे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न आएकी थिइन् । त्यतिबेला कोइराला अचेत भइसकेका थिए । नर्सले चिकित्सकहरूलाई खबर गरिन् । कोइरालाले बान्तासमेत गरेका थिए । तर, कति बजेतिर बान्ता गरे कसैलाई थाहा भएन । तिवारीको अनुमानमा बिहान ३ बजेतिर बान्ता भएको हुन सक्छ । कोइरालाको स्वास्थ्यस्थिति बुझ्न बिहान साढे ५ बजेमात्रै नर्स पुगेको पुष्टि स्वयंं अस्पतालको पहिलो विज्ञप्तिले गरेको छ ।

बुधबार बिहान जारी विज्ञप्तिमा कोइराला खोकी र श्वासप्रश्वासमा असहज भई अस्पताल भर्ना भएको उल्लेख छ । अघिल्लो दिन राति सामान्य अवस्थामा रहेको रक्तचाप बिहान साढे ५ बजे ६०/४० थियो । शरीरमा अक्सिजन लेभल ६९ मात्र थियो । छातीको एक्सरे गर्दा निमोनियाँ देखियो । लगत्तै काठमाडौंमा उपलब्ध वरिष्ठ कन्सल्ट्यान्टहरूलाई बोलाइयो र भेन्टिलेटरमा राखेर उपचार प्रक्रिया सुरु गरियो । मेसिन र मेडिसिनको सहयोगमा केही सुधारोन्मुख भए पनि अस्पतालका चिकित्सकले साँझसम्म पनि स्थिति खतरामुक्त भइनसकेको बताएका छन् ।

राति किन अस्पतालबाट केयर गरिएन भन्ने प्रश्न नेता तथा कार्यकर्ताले गरेका छन् । जवाफ अस्पतालले समेत दिन सकेको छैन । कोइरालाको अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखिएपछि मात्रै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूलाई खबर गरिएको थियो । लगत्तै नेताहरू अस्पताल पुगेका थिए । सभापति देउवाले तत्काल भारत लैजाने तयारी गर्न अस्पतालसँग आग्रह गरे । उनले भारतका केही चिकित्सकसँग फोनमार्फत सल्लाह पनि गरे । अस्पतालका प्रवक्ता लव जोशीले अस्पतालबाट विमानस्थलसम्म समेत लैजाने अवस्था नरहेको सञ्चारकर्मीसँग बताएका थिए । ‘यहाँबाट विमानस्थल र दिल्ली विमानस्थलबाट अस्पतालसम्म लैजान सकिने अवस्था भयो भने एयर एम्बुलेन्सबाट लैजान सकिन्छ, यो विकल्पलाई हामीले खुला राखेका छौं,’ उनले भने । जोशीका अनुसार कोइराला–पत्नी डा. सुपात्राले भारतमा हुनेजस्तै उपचार पद्धति भएकाले ओममै राखेर उपचार गर्न आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री केपी ओलीले पनि कोइरालाको हुन सक्ने सबै किसिमको उपचारका लागि पहल गर्न आग्रह गर्दै सहयोग गर्न सरकार तयार रहेको बताएका थिए । ओलीले अस्पतालमै पुगेर कोइरालाको स्वास्थ्यस्थिति बुझे र केहीछिन कांग्रेस नेताहरूसँगै बसेर सम्भाव्य सबै उपचार र उपायका बारेमा छलफलसमेत गरे । भेन्टिलेटरसहितको एम्बुलेन्स नभएका कारण विमानस्थलसम्म पनि उनलाई पुर्‍याउन कठिन हुने भयो । जसका कारण नेताहरूले निर्णय लिन सकेनन् र चिकित्सककै सुझाव माने ।

नेता कोइरालाको उपचारमा काठमाडौंमा उपलब्ध १५ विज्ञ चिकित्सक टोली खटिएको छ । त्यस अतिरिक्त भारतको एपोलो अस्पतालका चिकित्सकसँग पनि अनलाइन परामर्श गरिएको छ । कोइरालाको स्वास्थ्यस्थिति जटिल रहेको खबर सामाजिक सञ्जाल र अनलाइनमा फैलिएपछि अस्पताल परिसरमा नेता तथा कार्यकर्ताको भीड बिहानैदेखि लागेको थियो । धेरैलाई यो खबरले आश्चर्यमा पारेको थियो । बहिनी नाताकी सुजाता कोइरालालाई उनी भर्ना भएको बिहान मात्रै थाहा भएको थियो । बिरामीको अवस्था हेरेपछि उनी अस्पतालबाट रुँदै बाहिरिएकी थिइन् ।

प्रकाशित : असार २३, २०७३ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?