कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भोटेकोसीमा बाढी : चीनतिरका हिमताल फुटेको अनुमान

गत वर्षको अध्ययनले १० मध्ये ६ हिमताल विस्फोटको खतरामा रहेको देखाएको थियो
अब्दुल्लाह मियाँ

काठमाडौं — चीनतिरका हिमताल फुटेका कारण मंगलबार राति भोटेकोसीमा अकस्मात बाढी आएको हुन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् । हिमताल फुटेर वा डेब्रिज (गेगर, ढुंगा, रूख बिरुवा, लेदो) सहित ठूलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुन सक्ने उनीहरूको अनुमान छ ।

भोटेकोसीमा बाढी : चीनतिरका हिमताल फुटेको अनुमान

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का तर्फबाट त्रिविको भूगोल विभागका प्राध्यापक डा.नरेन्द्रराज खनाल, इसिमोडका हिमताल विज्ञ प्रदीपकुमार मुल र चीनको कुन्मिङस्थित युनान युनिभर्सिटीकी जिन मिङ हुले गत वर्ष गरेको अध्ययनले चीनतिरका १० हिमताल विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको थियो ।

‘१० मध्ये ६ वटा जतिबेला पनि विस्फोट हुन सक्ने अवस्थामा रहेको हाम्रो अध्ययनले देखाएको थियो,’ अध्ययनमा संलग्न डा. खनालले बुधबार कान्तिपुरलाई भने, ‘अहिले तीमध्येकै कुनै हिमताल फुटेको हुन सक्छ ।’ हिमताल विस्फोटले चीनको पोइक तथा नेपालको भोटेकोसी र सुनकोसी क्षेत्रमा पुग्न सक्ने क्षतिसम्बन्धी इसिमोडको अध्ययन प्रतिवेदन गत सेप्टेम्बरमा सार्वजनिक भएको थियो । उक्त प्रतिवेदन चीनतिरका हिमतालको अवस्था र त्यसले माथिल्लो तथा तल्लो तटीय क्षेत्रका मानवीय बस्ती, जलविद्युत् आयोजनालगायत ठूला संरचनामा पुर्‍याउन सक्ने क्षति सम्बन्धमा केन्द्रित छ ।  

अध्ययनले चीनतिरका जिया लोङ को, झाङझाङबो, को जियाङगु, युमोजियानको, किजिलाको, तालाको, गालङको, गाङ झिको, पाजुको र छाउकु डेङ नामका हिमताल उच्च जोखिममा रहेको निष्कर्ष निकालेको थियो । यीमध्ये जिया लोङ को, गालङको, झाङझाङबोलगायत हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनमा छ । जिया लोङ को, झाङझाङबो र कोजियाङगु पहिले पनि विस्फोट भएका हिमताल हुन् ।

अध्ययनले भोटेकोसीको उद्गमस्थल चीनतिर ७४ हिमताल पहिचान गरेको थियो । पूरै तिब्बत स्वशासित क्षेत्रमा भने १ सय २४ हिमताल पहिचान गरिएको थियो । ‘नयाँ हिमताल फुटेको पनि हुन सक्छ,’ डा. खनालले थपे, ‘अहिले नै ठ्याक्कै यही हो भन्न सक्ने अवस्था छैन, हामीले भन्दा पनि चीनतिरबाट आधिकारिक सूचना आउनुपर्ने हो ।’ यसबारे चिनियाँ पक्षले अहिलेसम्म केही सार्वजनिक गरिसकेको छैन । उक्त क्षेत्र विकट र मौसम गडबडी भइरहने भएकाले तत्काल स्थलगत अध्ययन गर्न पनि मुस्किल भएको बताइन्छ ।  

अध्ययनमा संलग्न इसिमोडका मुलले चीनतिरको क्षेत्रमा बाक्लो बादल लागेकाले भू–उपग्रह (स्याटेलाइट) का माध्यमबाट उक्त क्षेत्रको तस्बिर लिन नसकिएको बताए । अध्ययनले भोटेकोसीको उद्गमस्थलमा रहेका हिमताल जोखिममा रहेको देखाएकाले विस्फोट भएको वा पहिरोले थुनिएको बाँध फुटेर बाढीका रूप लिएको हुनसक्ने उनको आकलन छ ।

‘मैले चीनतिरका साथीहरूसँग कुरा गरिरहेको छु’, मुलले भने, ‘हिमताल विस्फोट भएको हो वा पहिरोले नदी थुनिएर एकाएक बाढी आएर हाम्रोतिर क्षति गराएको हो, अपस्ट्रिममा तस्बिर नहेरी ठ्याक्कै अहिले नै बताउन सक्ने अवस्था छैन ।’ चीनतिबाट उर्लिएको बाढीका कारण मंगलबार राति भोटेकोसी नदी र आसपासमा व्यापक क्षति भएको छ । बाढीका कारण मध्य भोटेकोसी जलविद्युत् आयोजनासँगै दर्जनौं घर डुबानमा परेका छन् । राजमार्गमा समेत क्षति पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको ‘बाढी भविष्यवाणी शाखा’का विज्ञ विनोद पराजुलीका अनुसार बाढी आउनुपूर्व भोटेकोसीमा १.८५ मिटर पानी थियो । ५ मिनेटमै पानीको तह ४ मिटर पुगेको देखिएको उनले बताए । बाढीपूर्व १ सय ६ घनमिटर प्रतिसेकेन्ड (क्युमेक) पानी रहेकामा ५ मिनेटमै बढेर ६ सय ३३ घनमिटर प्रतिसेकेन्ड (क्युमेक) पुगेको थियो । बाढी राति ९ बजे आएको हो ।

इसिमोडको प्रतिवेदनमा कुनै पनि हिमताल विस्फोट भए चीनतिरका १७ बस्ती, ५ हजार मानिस, २१ पुल र एक जलविद्युत् आयोजना ध्वस्त हुनसक्ने आकलन गरिएको छ भने तल्लो तटीय क्षेत्रको नेपालतिरको भोटेकोसी र सुनकोसी क्षेत्रको ३ हजार घर र १६ हजार मानिस प्रभावित हुने उल्लेख छ । सन् १९८१ मा पनि चीनतिरको हिमताल विस्फोट हुँदा नेपालतिरको भागमा धनजनको ठूलो क्षति भएको थियो । त्यसैले विशेषज्ञहरूले उक्त क्षेत्रलाई जोखिमयुक्त क्षेत्र भनेका छन् । ‘हामीले बाढीबाट बच्न तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जोड्न सुझाएका छौं,’ खनालले भने ।

प्रकाशित : असार २३, २०७३ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?