मंसिरमा स्थानीय चुनाव : प्रमुख आयुक्त यादव

काठमाडौं — नवनियुक्त प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले संविधान कार्यान्वयन गराउन २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन् ।

मंसिरमा स्थानीय चुनाव : प्रमुख आयुक्त यादव

‘मंसिरमा स्थानीय निकायको चुनाव गराउने सरकारको प्रतिबद्धता छ,’ सोमबार पदभार ग्रहणपछि कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा यादवले भने, ‘यसका लागि व्यवस्थापिका संसद्ले कानुन र सरकारले स्रोतसाधन उपलब्ध गराउनुपर्छ ।’ सरकारले यसअघि नै २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन गराउने लक्ष्यसहितको संविधान कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ । ‘निर्वाचनका लागि आयोग तयारी अवस्थामा छ,’ उनले भने,  ‘अब थप छलफल गर्दै जान्छांै ।’ 

यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथलगत्तै उनले बहादुरभवनस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरे । २०६९ चैत ११ मा निर्वाचन आयुक्त पदमा दोस्रो पटक नियुक्त भएका यादवले बाँकी अवधिका लागि प्रमुख आयुक्त पदमा नियुक्ति पाएका हुन् । दोस्रो संविधानसभाको अवसानपछि पहिलो कार्यकाल सकिएका तत्कालीन पदाधिकारीलाई अन्तरिम संविधानमा बाधा अडकाउ फुकाएर पुनर्नियुक्ति गरिएको थियो । 

यसअघि प्रमुख आयुक्त पदमा नियुक्तिका लागि संवैधानिक परिषदको सिफारिसलाई संसदको सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । प्रमुख आयुक्तसहित ५ सदस्यीय आयोगमा ३ आयुक्त पद रिक्त छ । 

प्रकाशित : असार २७, २०७३ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?