१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

औषधि उत्पादनको आवरणमा लागु औषध तस्करी

आरोपी पक्राउमा खटिएका प्रहरीलाई बब्लु श्रीवास्तवका सहयोगीको धम्की
संघाई समूहका सञ्चालक रतन पक्राउ, सञ्चालक पवन र शंकर फरार
केपी ढुंगाना

काठमाडौं — नेपालको ठूलो औद्योगिक घराना संघाई समूहका मुख्य सञ्चालकले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीलाई बिक्री गर्ने गरेको खुलेको छ । समूहले कोल्ड ट्याब्लेट बनाउने सरकारसँग अनुमति लिएर उक्त सहायक रसायन आयात गरेको थियो ।

औषधि उत्पादनको आवरणमा लागु औषध तस्करी

संघाई समूहको लगानी रहेको आर्य फर्मा ल्याब प्रालिले औषधि व्यवस्था विभाग र गृह मन्त्रालयबाट कोडिन, डिकोल्डलगायत औषधि बनाउन अनुमति लिई स्युडोइफ्रिडिन भित्र्याएको थियो । तर, स्थलमार्गबाट भारत हुँदै अन्तर्राष्ट्रिय कारोबारीलाई बिक्री गर्ने गरेको लागूऔषध नियन्त्रण ब्युरोको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ ।

त्यही अभियोगमा समूहका प्रमुखमध्ये रतनलाल संघाई, फर्मा ल्याबका मार्केटिङ डाइरेक्टर मोहित हलान, सहयोगी दिलीप पण्डित, श्याम तामाङ र बद्री वनलाई प्रहरीले पक्राउ गरिसकेको छ । संघाई समूहका प्रमुख पवनकुमार संघाई, आर्य फर्माका सञ्चालक शंकर हलनसमेत तस्करीमा संलग्न देखिएको र उनीहरू फरार रहेको ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दले जानकारी दिए ।

पक्राउ परेका मोहित मोरङ र अन्य काठमाडौंमा ब्युरोको हिरासतमा छन् । आइतबार जिल्ला अदालतले रतनलाल लगायतलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्ने अनुमति दिइसकेको छ ।

‘अनुसन्धानमा पक्राउ परेका र फरार रहेकाले स्युडोइफ्रिडिन एमफेटामाइनलगायत लागूऔषध बनाउन अन्तर्राष्ट्रिय कारोबारीलाई बिक्री गर्ने गरेको देखियो,’ आइतबार ब्युरोमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी चन्दले भने । प्रारम्भिक अनुसन्धान विवरणअनुसार उनीहरूले औषधि बनाउन प्रयोग गर्ने भन्दै स्विट्जरल्यान्डबाट नेपालमा स्युडोइफ्रिडिन झिकाएर धुलो बनाई काँकडभिट्टा नाका हुँदै भारतको सिक्किमबाट चीन र बर्मा पुर्‍याउँदै आएका थिए ।

चीन र बर्मामा रहेका लागूऔषधका अन्तर्राष्ट्रिय कारोबारीले स्युडोइफ्रिडिनको प्रयोग गरेर एमफेतामाइन र आइस्ड ड्रग्स बनाएर अस्ट्रेलियालगायत युरोपियन र अमेरिकन मुलुकमा पुर्‍याएर लागूऔषधको बजारमा फैलाउने गरेको ब्युरोद्वारा सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा छ ।

औषधि व्यवस्था विभागका फार्मेसिस्ट गोरखबहादुर डीसीका अनुसार करिब ५ प्रकृतिको कोल्ड ट्याब्लेट बनाउन ४ वर्षअघि आर्य फर्माले अनुमति पाएको थियो । एकपटकमा ३ सय किलोसम्म स्युडोइफ्रिडिन झिकाउन सक्ने जानकारी दिँदै डीसीले भने, ‘विभागमा काम गरेको ३० वर्ष भयो, अहिलेसम्म यत्रो ठूलो मात्रामा औषधिको सहायक रसायनको दुरुपयोग भएको सुनेको पनि थिइनँ, आज देखियो ।’

औषधि कम्पनिकै मिलेमतोमा नेपालबाट स्युडोइफ्रिडिन भारतलगायत मुलुकमा तस्करी हुने गरेको सूचनाका आधारमा ब्युरोले बिहीबार आर्य फर्मा ल्याबमा काम गर्ने भारत रक्सौलका दिलीप पण्डितलाई पक्राउ गरेको थियो । पण्डितले पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा औषधि रहेको बताएपछि ब्युरोले त्यहाँ छापा मार्दा ९ सय ५२ वटा सेतो डिब्बामा ४ सय ७१ किलो ट्याब्लेट फेला पारेको थियो ।

आर्या फर्माको उद्योग बाराको जितपुरमा छ । सहायक रसायन भने ललितपुरमा फेला परेको थियो । विभागका प्राविधिक जीसीका अनुसार औषधिमा प्रयोग गर्न नेपाल भित्रिएका सहायक रसायन औषधि कम्पनीको परिसरभित्र नराखी असम्बन्धित स्थानमा राख्नु, लेबल नगरी, बट्टामा राख्नुले सम्बन्धित कम्पनीले औषधि उत्पादनको बहानामा रसायनको दुरुपयोग गरेको पुष्टि हुने बताए ।

लागूऔषधको मूल्य : एक अर्ब ३२ करोड
एक ट्याब्लेटमा ६० प्रतिशत स्युडोइफ्रिडिन हुन्छ । प्रहरीले संघाईको गोदामबाट २९ लाख ७४ हजार ग्राम चक्की फेला पारेको थियो । फेला परेको चक्की र त्यसमा रहेको स्युडोइफ्रिडिनको मात्रा छुटयाउँदा एक सय ७४ किलो परिमाण निस्कन्छ ।

‘फेला परेको चक्की प्रशोधन गरी त्यसमा रहेको स्युडोइफ्रिडिनबाट ७१ किलो एमफेटामाइन वा आइस्डड्रग्स बनाउन सकिन्छ,’ अनुसन्धानमा संलग्न ब्युरोका डीएसपी अपिल बोहोराले भने, ‘लागूऔषध बजारमा त्यति मात्राको एमफेटामाइन पुग्ने हो भने १ अर्ब ३२ करोड रुपैयाँ पर्छ ।’

बब्लु श्रीवास्तवका सहयोगीले धम्क्याए
ब्युरोले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार पक्राउ परेकामध्ये काठमाडौं बस्ने पण्डितले नेपाल भित्रिने स्युडोइफ्रिडिन अवैध रूपमा पाटनको गोदाममा लगेर राख्ने गरेका थिए ।
पाटनमा स्टोर गरिएको औषधि बारामा पुर्‍याएर उनीहरूले धुलो बनाउने गरेका थिए । पण्डित पक्राउपछि बारामा मोहित हलन पक्राउ पर्दा उनको गाडीमा २० किलो स्युडोइफ्रिडिनको धुलो फेला परेको थियो । उनी आर्या फर्माका सञ्चालक शंकरका छोरा र कम्पनीका मार्केटिङ डाइरेक्टर हुन् ।

प्रारम्भिक अनुसन्धानमा पवन, रतन र शंकरको निर्देशनमा उनीहरूले काम गर्ने गरेको खुलेपछि खोजीमा खटिएको प्रहरीले रतनलाई फेला पारे पनि अन्य २ भने अझै पक्राउ परेका छैनन् । दिलीपको बयानका आधारमा नेपाल भित्रिएको रसायन भारत भित्र्याउन श्याम र बद्रीले सघाउने गरेको खुलेपछि ब्युरोले यी दुवैलाई पक्राउ गरेको थियो ।

‘श्याम र बद्रीले स्युडोइफ्रिडिन विभिन्न बहाना बनाउँदै काँकडभिट्टा नाकाबाट भारत भित्र्याएर सिक्किमसम्म पुर्‍याएर अर्को समूहलाई दिने र उसले स्थलमार्ग हुँदै चीन, बर्मासम्म लैजाने गरेको देखिएको छ,’ ब्युरोका डीआईजी चन्दले भने ।

ब्युरो स्रोतका अनुसार फरार सूचीमा रहेका शंकरको सम्बन्ध लखनउ कारागारमा रहेका कहलिएका भारतीय अपराधी बब्लु श्रीवास्तवसँग समेत जोडिएको छ । शंकरका छोरा मोहित पक्राउ परेपछि पटनाबाट‘ श्रीवास्तवनिकट व्यक्तिहरूले सो प्रहरी अपरेसनमा संलग्न केही अधिकारीलाई फोन गरी धम्क्याउन थालेका छन् । ब्युरो स्रोतका अनुसार इनसान खानले फोन गरी ‘मोहितलाई पक्राउ गरेर ठीक गरिनस्’ भन्दै धम्क्याइरहेका छन् । ‘खान लखनउका बब्लुका सहयोगी’ रहेको खुलेको ब्युरोका एक अधिकारीले जानकारी दिए ।

आयात नै शंकास्पद
एलर्जी, चिसो र दममा प्रयोग हुने औषधिमा प्रयोग हुने सहायक रसायन स्युडोइफ्रिडिन एमफेटामाइन र आइस्र्ड ड्रग्स नामक लागूऔषध बनाउन तस्करी बढेपछि भारतलगायत मुलुकले त्यसको वैकल्पिक रसायनको प्रयोगलाई मात्रै अनुमति दिए पनि नेपालमा भने खुलै छ । त्यसको प्रयोग गरी बन्ने डिकोल्ड, कोडिनलगायत औषधि बनाउन नेपालका औषधि उत्पादकले भित्र्याउने गरेका छन् ।

औषधि व्यवस्था विभागका अनुसार नेपालमा औषधि उत्पादनका लागि ३७ कम्पनीले अनुमति पाएका छन् । त्यसमध्ये १० वटाले स्युडोइफ्रिडिन नामक सहायक रसायन मगाउने गरेको डीसीले जानकारी दिए ।

नेपालमा कोल्ड ट्याब्लेट बनाउन भन्दै भित्रिएको स्युडोइफ्रिडिनको परिमाण अस्वाभाविक देखिन्छ । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार सन् २०१० मा १ हजार ७ सय २५ केजी स्युडोइफ्रिडिन नेपाल भित्रिएको थियो । सन् २०११ मा त्यसको मात्रा घटेर १६ सय किलोमा झर्‍यो । सन् २०१२ मा बढेर ६ हजार किलो पुगेको थियो । सन् २०१४ मा ३ हजार ७ सय स्युडोइफ्रिडिन नेपाल भित्रिएकोमा सन् २०१६ को ६ महिनामै ३ हजार १ सय ५१ किलो स्युडोइफ्रिडिन नेपाल भित्रिसकेको छ ।

‘जुन रूपमा नेपाल भित्रिने स्युडोइफ्रिडिनको परिमाण बढिरहेको छ त्यसले नै हामीलाई झस्काएको थियो,’ ब्युरोका एसएसपी गणेश केसीले भने, ‘जनसंख्याको बढदो चाप र खपत हुन सक्ने औषधिको परिमाण हेर्दा शंकास्पद देखिएपछि अनुसन्धान गर्दा औषधि कम्पनी नै तस्करीमा संलग्न रहेको खुल्यो ।’

प्रकाशित : श्रावण १७, २०७३ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?