एमालेले समेत प्रधानमन्त्रीमा उम्मेद्‍वारी दिने तयारी

कान्तिपुर संवाददाता

काठमाडौं — प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्‍वारी दिने तयारी गरेको छ । यो बिषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन् ।

एमालेले समेत प्रधानमन्त्रीमा उम्मेद्‍वारी दिने तयारी

‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’ एमाले सचिव प्रदीप ज्ञवालीले कान्तिपुरसंग भने, ‘यसबारेमा पार्टीभित्र छलफलमा छौं।’ प्रधानमन्त्रीको चुनावमा एउटैमात्र उम्मेद्‍वारी भएपनि संसदभित्र मत विभाजनको प्रक्रिया मार्फत् नै मतदान गराउनुपर्छ । त्यस्तो मतदानमा सम्बन्धित उम्मेद्वारको विपक्षमा पनि मतदान गर्ने प्रावधान हुन्छ । यो प्रावधानका कारण आफ्नो उम्मेद्वार नउठाउदा पनि प्रतिपक्षमा बन्न सक्ने अवस्था हुन्छ । तर पार्टीको इज्जतका लागि पनि हार्ने निश्चित हुदा हुदै पनि प्रधानमन्त्री चुनावमा दलहरुले उम्मेद्वारी दिने गरेका छन् । यसअघि केपी ओली प्रधानमन्त्री बन्दा काग्रेसबाट तत्कालिन सभापति सुशील कोइरालाले उम्मेद्वारी दिएका थिए ।

प्रधानमन्त्रकिो उम्मेद्‍वारी कसलाई बनाउने भन्ने एमाले टुंगो गरेको छैन । यद्यपी हालका प्रधानमन्त्री ओलीले चाही उम्मेदवारी नदिने सचिव ज्ञवालीले बताए । उम्मेद्वारी दिएको अवस्थामा अन्य नेताहरु नै उम्मेद्वार बन्ने संभावना छ । पूर्वप्रधानमन्त्री भइसकेका बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पनि हार्ने चुनावमा उम्मेवार बन्न इच्छुक छैनन् । एमालेभित्र उपाध्यक्ष बामदेव गौतम र पूर्वसभामुख सुवास नेम्बाङलाई उम्मेवार बनाउने चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्री ओली निकट नेताहरुले नेम्वाङलाई अघि सार्नुपर्ने पक्षमा लबिङ गरिरहेका छन् । तर उपाध्यक्ष गौतम पक्षधरले भने संसदीय दलको नेता बनाउने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने भन्दै ओलीलाई दबाब दिइरहेका छन् । दलको नेता हुने हो भने हार्ने चुनावमा पनि गौतम उम्मेद्वार बन्न तयार छन् । ओलीलाई संसदीय दल, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने बेलामा गौतमले दर्‍हो साथ दिएका थिए ।

ओलीले त्यसबेलमा आफू कुनै पदमा पुगेको अवस्थामा पार्टीका जिम्मेवारीहरु गौतमलाई पनि दिने बचनबद्धता व्यक्त गरेका थिए । तर सबै पद प्राप्त गरिसकेपछि पनि आफूलाई दिने भनेको कुनै पनि पद प्राप्त नभएको भन्दै गौतमले पार्टी भित्र गुनासो गर्ने गरेका छन् । गौतमलाई अघि सार्दा फेरी कुनै बेला पार्टीले प्रधानमन्त्री पाउने अवस्थामा उनैलाई अघि सार्नुपर्ने दबाव बढ्न सक्ने भएकाले पनि एमालेको ठूलो पंक्ति गौतमलाई अघि सार्ने धारणाको विपक्षमा उभिने अवस्था छ ।

संसदीय अंगगणित तलमाथि हुने वित्तिकै फेरि पार्टीको हातमा प्रधानमन्त्री आउने सक्ने मुल्यांकन नेताहरुको छ । कसलाई अघि सार्ने भन्ने विषयलाई पार्टीभित्र धेरै विवाद भएको अवस्थामा भने उम्मेद्‍वारी नै नदिने संभावना भने टरेको छैन ।

प्रकाशित : श्रावण १७, २०७३ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?