कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाअभियोग प्रस्ताव सत्ता समीकरणसँग सम्बन्धित छैन: सांसद रवीन्द्र अधिकरी

कान्तिपुर संवाददाता

काठमाडौं — प्रमुख प्रतिपक्षी दल एमालेका सांसद रवीन्द्र अधिकारीले एकताबद्ध भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमासिंह कार्की विरुद्धको महाअभियोगको फैसला गर्नुपर्ने बताएका छन् ।

महाअभियोग प्रस्ताव सत्ता समीकरणसँग सम्बन्धित छैन: सांसद रवीन्द्र अधिकरी

मंगलबार संसदमा बोल्दै महाअभियोग प्रस्ताव अनियमितता, खराब आचारण विरुद्धको भएकाले सत्तापक्ष र प्रतिपक्षी सबै एक ठाउँमा उभिनुपर्नेमा अधिकारीले जोड दिए ।

उनले अख्तियार प्रमुखबाट अख्तियारकै दुरुपयोग हुनु अस्वाभाविक कुरा भएको बताए । अख्तियारले पोखरा विश्वविद्यालय लगायतलाई संस्थाका अधिकारीमाथि राम्रो गरी छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्नुभन्दा संस्था नै सिध्याउने गरी अघि बढेको उल्लेख गरे । उनले भने, 'यो विषयलाई लिएर सत्ता समीकरणसँग जोड्नु हुँदैन । यो सबैको साझा प्रस्ताव हो । यो सत्तापक्ष र प्रतिपक्षको मात्रै कुरा होइन ।'

संसद्को चौथो ठूलो दल राप्रपा नेपालकी सांसद् कुन्तीकुमारी शाहीले भने महाअभियोग प्रस्ताव ल्याउँदा आफ्नो दलसँग छलफल नगरेको भन्दै असन्तुष्टि पोखिन् । यद्यपि उनले भ्रष्टाचार अन्त्य गर्न, राष्ट्रियता जोगाउन महाअभियोग प्रस्ताव सकारात्मक भन्दै यस बेलामा देश र जनतालाई केन्द्रविन्द्रुमा राखेर निर्णय लिनुपर्नेमा जोड दिइन् ।

राप्रपा नेपाल समय र परिस्थितिअनुसार निर्णय गर्न सक्षम रहेको दाबी गर्दै सांसद शाहीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरु नियुक्ति गर्दा राम्रोभन्दा पनि हाम्रो मान्छेलाई ल्याइएकोले समस्या आएको बताइन् ।

फोरम लोकतान्त्रिकका सांसद् जितेन्द्रनारायण देवले आफ्नो पार्टीले समय आएपछि महाअभियोगको प्रस्तावबारे उपयुक्त निर्णय गर्ने बताए । नेकपा मालेका सांसद सीपी मैनालीले आफ्नो दलसँग छलफल नगरी महाअभियोग प्रस्ताव आए पनि पूर्ण समर्थन रहेको बताए । सबै मिलेर महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै मैनालीले यसबाट विधिको शासन स्थापित गराउन मद्दत पुग्ने बताए ।

प्रकाशित : कार्तिक ९, २०७३ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?