धादिङ — राजनैतिक पहुँच र शक्ति प्रदर्शन गर्न सकेसम्म मन्त्री नभए केन्द्रीय नेता र राजदुतहरु बोलाउन धादिङमा प्रतिस्पर्धा नै चलेको छ । प्रतिस्पर्धा पनि फरक राजनैतिक दलहरुभन्दा एउटै पार्टीका गुटहरुले आ-आफना पहुँचका मन्त्री र नेतालाई बोलाउन हानाथाप पर्ने गरेको छ ।
राजधानीसँग जोडिएको यातायात सहज भएको धादिङमा नेताहरुको पदीय हैसियत र शक्ति पदर्शनकै लागि पनि सडकमार्ग जत्तिकै हवाईमार्ग समेत प्रयोग हुने गरेको छ । नेता बोकेर आएका हेलिकप्टर घण्टौंसम्म कुराइन्छ । दुर्गम जिल्लाहरुमा आफनै जिल्लाका नेता र मन्त्रीहरु देख्नै वर्ष दिन कुर्नु पर्ने भए पनि धादिङवासीहरुले चालु आर्थिक वर्षका पुस दोस्रो हप्तासम्म मात्रै उपराष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य र परराष्ट्र लगायत ३७ जना विभिन्न मन्त्रीहरु, तथा उच्च पदस्थ विशिष्ट व्यक्तिहरु, विभिन्न देशका राजदुत आएर भूकम्पकै नामका विभिन्न कार्यक्रम भूकम्पकै नाममा उद्घाटन, शिलान्यास र समापन गरिसकेका छन् ।
कार्यक्रमहरु उद्घाटन र समापन, हस्तातरण गर्न सरोकारवाला मन्त्रीहरु पनि आउँदैनन् । ढोलामा महापुराण समापन गर्न परराष्ट्रमन्त्री प्रकाशशरण महत, सेम्जोङ्गमा विद्यालय हस्तातरण गर्न स्वास्थ्यमन्त्री गगन थापा, उपराष्ट्रपति नन्दवहादुर पुन अचानेटारको विद्यालयको भवन हस्तातरण, गैरसरकारी संघ संस्थाका साधारणसभा, खानेपानी हस्तातरणजस्ता सरोकार बाहिरका कार्यक्रममा बोलाइने गरेको छ । शिक्षक संघको भवन शिलान्यासमा गृहमन्त्री विमलेन्द्र निधिले गरे भने खेलकुदमन्त्री दलजीत श्रीपाईलीले सुनौला बजारमा स्थानीय क्लबको आयोजनामा भएको फुटबल खेलमा पुरस्कार वितरण गरे । आउने सबै नेता र मन्त्रीहरु कार्यकर्ताकै दबाबमा आएका हुन् ।
मन्त्रालयमार्फत देश र जनतालाई बढी हित हुने काममा लाग्नुपर्ने मन्त्रीलाई कार्यक्रममा अल्झाउने काम एकातिर भइरहेको छ भने अर्कोतिर स्वागतकै लागि संघ संस्थाहरुले तामझाममै लाखौं खर्च गर्छन् । स्थानीय संस्था एक्सन नेपालले आफ्नो वार्षिक साधारणसभामा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु देउवालाई धादिङ ल्याउन हेलिकप्टर नै खर्च गर्यो । हजारौं महिलालाई हेलिकप्टर बसेको टुँडिखेलबाट दोहोरो लाईन लगाएर रंगशालाको कार्यक्रम स्थलसम्म मालाले स्वागत गर्न भ्याए । राजदूतहरु र अन्य मन्त्रीहरु हेलिकप्टर नै प्रयोग गर्ने र लाखौं खर्चेर घण्टौ कुराउने गरेका छन् ।
एकजना मन्त्री जिल्ला आउँदा नौबीसेबाट सदरमुकामसम्म आउँदा जाँदा प्रहरी स्कर्टिंग, कम्तीमा ४ वटा जीप, दर्जनभन्दा वढी कार्यकर्ता, एक दर्जन सुरक्षाकर्मीको खानपिन र गाडीमा भर्ने ईन्धन जोहो स्थानीय विभागीय कार्यालयले व्यहोर्ने गर्छ । ‘सदरमुकामका होटलमा खानपिन र तेलको विल भपाई संबन्धित कार्यालयले नै व्यहोरेका छौं’ जिल्ला वन कार्यालयका एकजना कर्मचारीले बताए ।
धादिङमा कुन मन्त्री कहिले आए ? के गरे, के भने ? जिल्ला विकासका कुरा के के गरे ? उनका कार्यकर्ताबाहेक अरु जिल्लावासीले चासो राख्दैनन् । ‘हरेक वर्ष कैयन मन्त्रीहरु आएर के के वोलेर जान्छन् ? के के पुरा हुन्छन् ? थाहै हुन्न, किन आउँछन् त्यो पनि थाहा हुन्न’ सदरमुकाम वीचबजारका रत्नप्रसाद शाक्यले भने । गत साउनदेखि पार्टी तथा महोत्सव उद्घाटन लगायत औपचारिक, अनौपचारिक र कार्यक्रमहरुमा २० जना मन्त्री २१ पटक आइसकेका छन् । भूकम्पपछि त राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत अन्य मन्त्री त कति हो कति ?
गत साउनदेखि धादिङमा को को आए ?
२२ गते पूर्वमन्त्री गोकर्ण विष्ट
२८ गते सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा
भदौ
१० गते शेखर कोइराला
२३ गते अजित मिजारको छानविन समितिको भ्रमण
१७ गते सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी
१८ गते पूर्वउपप्रधानमन्त्री भीम रावल
असोज
३ गते सेमजोङ भ्रमण जर्मनी राजदूत
४ गते सेमजोङ भ्रमण नर्वेजियन राजदूत H.E Kjell tormod prettersen
८ गते फ्रान्सका राजदूत तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाही
कार्तिक
१० गते उद्योगमन्त्री नविन्द्रराज जोशी
१३ गते शिक्षामन्त्री धनिराम पौडेल
१४ गते कृषि राज्यमन्त्री राधिका तामाङ
२० गते पूर्वगृहमन्त्री बुद्धिमान तामाङ
२३ र २४ गते गृहमन्त्री विमलेन्ध निधि
३० गते शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव
मंसिर
१९ गते उपराष्ट्रपति नन्दबहादुर पुन
१९ गते स्वास्थ्यमन्त्री गगन थापा
खेलकुदमन्त्री दलजीत श्रीपाईली
२५ गते पूर्व गृहमन्त्री बुद्धिमान तामाङ
२९ गते पूर्वउपप्रधानमन्त्री कमल थापा
पुस
४ र ५ गते संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे
६ गते बुद्धिमान तामाङ र न्याय परिषद्का सदस्यसचिव
७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कृषि विकास राज्यमन्त्री राधिका तामाङ
११ गते पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेल‚ पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री मिनेन्द्र रिजाल‚ उद्योगमन्त्री कञ्चन वादे लगायत
१२ गते पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेल‚ पूर्वमन्त्री मिनेन्द्र रिजाल‚ उद्योगमन्त्री कञ्चन वादे श्रेष्ठ र वाणिज्यमन्त्री रोमी गौचन थकाली, परराष्ट्रमन्त्री प्रकाशशरण महत
१२ र १३ गते पूर्वमन्त्री हिसिला यमी