गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँदै

काठमाडौं — गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर आज शुक्रबार पुस १५ गते ‘तमू ल्होसार’ पर्व मनाउँदैछन् । ल्होछारको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर र विदेशमा रहेका तमू संघ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

काठमाडौं टुँडिखेलमा ल्होछार विशेष समारोह आयोजना गरिएको छ । समारोहअघि उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकी, गुरुङ भेषभुषामा सजिएर र्‍याली निकालिनेछ । समारोह प्रधानमन्त्री पुष्पकमल दाहालले दिउँसाे उद्‍घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।
 
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले बताए ।

‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ’– उनले भने ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताए ।

यस पर्वका अवसरमा आज शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

 

प्रकाशित : पुस १५, २०७३ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा नेपाली विद्यार्थीलाई काम गर्ने अनुमति

दिनेशजंग शाह

न्यूयोर्क — अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ ।

अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ । यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि लम्ब्याईएको हो । अमेरिकी सरकारले यो सुविधा, गत सालको महाभुकम्पका कारण प्रदान गर्दै आएको छ ।

महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको उल्लेख गर्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले सो व्यवस्था गरेको हालै जनाएको छ । डिपार्टमेन्ट प्रमुख जेह चाल्र्स जोहन्सन द्वारा हस्ताक्षरित जारी विज्ञप्ती अनुसार गत मंगलबार देखि सो सहुलियत दिईएको र यसको अवधि सन् २०१८ को जुनसम्म रहनेछ ।

‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ ।

सहुलियत अनुसार नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुँदैन् । अन्य देशका विद्यार्थीलाई थोरै घण्टाको काम गर्ने अनुमति दिने अमेरिकी अध्यागमन कानुन भएपनि, यो सहुलियतका कारण नेपाली विद्यार्थीले अतिरिक्त समयका लागि ‘वर्क परमिट’ पाउदै आएका छन् ।

मुख्य शर्तको रुपमा यो सुविधा पाउन, कम्तीमा भुकम्प गएको दिन अर्थात २०१५ को अप्रिल २५ देखि वा सो भन्दा अघि देखि नै अमेरिकामा पढाई गरिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्यरुपमा आफनो ‘विद्यार्थी हैसियत’ जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेष्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाई सुचारु गर्नुपर्ने नियम छ ।

महाभुकम्पको प्रभावलाई मध्यनजर गर्दै यस अघि गत कार्तिकमा अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो । महाभूकम्प लगत्तै सन २०१५ जुन २४ मा पहिलोपटक, अमेरिकी सरकारले टिपीएसको सुविधा सहित विद्यार्थीलाई पनि सहुलियत प्रदान गरेको थियो ।

प्रकाशित : पुस १५, २०७३ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्