१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अपूरो संविधान संशोधन हुन्छ : थापा

डम्बरसिं राई

खोटाङ — माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले संविधान अपूरो भएकाले त्यसको परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् । माओवादी केन्द्रको भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा शनिबार प्रमुख अतिथिको रूपमा बोल्दै थापाले नेपाली जनताको चाहना अनुसार माओवादीले परिकल्पना गरेको भन्दा फरक संघीयता संविधानमा लेखिएकाले त्यसको परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएको बताएका हुन् ।

अपूरो संविधान संशोधन हुन्छ : थापा



थापाले सडक, सदन र सरकारबाटै अधुरो संविधानलाई पूर्ण बनाउने बताए । ‘संविधान अपूरो छ, अधुरो छ, त्यसलाई परिवर्तन गर्न सडक, सदन र सरकारबाट प्रयासरत छौं,’ थापाले भने, ‘किराती मोर्चाले आन्दोलनको अग्रणी भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता देखिएको छ । तपाईंहरु सडकबाट आन्दोलन गर्नुस् । हामी सदन र सरकारबाट प्रयत्न गर्छौं ।’

थापाले नेकपा माओवादी केन्द्रले चाहेर पनि नेपाली जनताले चाहेजस्तो संविधान बनाउन नसकेको बताए । ‘हाम्रो चाहना पहिचान सहितको संघीयता हो, पहिचान सहितको नामाङ्कन हो, पहिचान सहितको सिमाङ्कन हो,’ थापाले भने, ‘तेश्रो पार्टीको भूमिका निर्वाह गर्ने नेकपा माओवादी केन्द्रले चाहेर पनि बनाउन सकिरहेको छैन । कमजोर तेश्रो पार्टीको रूपमा माओवादी उभिएको छ ।’



‘हतियार बोक्न तयार हुनुहोस्’ : गोपाल किराती
नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले आफूले चाहेजस्तो संविधान बन्ने सम्भावना कम देखिएकाले त्यसका लागि बन्दुक बोक्नु पर्ने अवस्था आएको बताएका छन् ।

माओवादी केन्द्रको भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोह शनिबार बोल्दै किरातीले किराती समुदायको मुक्तिका लागि किरात कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।

किरातीले नेकपा माओवादीबाट पनि सम्भव हुने झिनो आशा देखिएको उल्लेख गर्दै अब किरात कम्युनिष्ट आन्दोलन गर्नु पर्ने र त्यसका लागि हतियार बोक्नु पर्ने अवस्था आउन सक्ने बताए । ‘किराती मुक्तिका लागि हतियार बोक्नु पर्ने दिन आउन सक्छ,’ किरातीले भने, ‘हिजोको युद्धकला नबिर्सनुहोस् । अनि मात्र किराती मुक्ति हुन सक्छ ।’

कार्यक्रममा माओवादी नेता सुरेश आलेमगरले पहिचान सहितको संघीयताका लागि लड्न बाँकी रहेको बताए । ‘हामी आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुको अधिकार सुनिश्चित हुने गरी लड्नु पर्ने अवस्था आएको छ,’ आलेमगरले भने, ‘त्यसका लागि किरातीहरु अग्रसर हुनुपर्छ ।’

किराती राष्ट्रिय मुक्ति मोर्चाकी संयोजक दुर्गा राईले काग्रेस–एमालेको इसारामा नेकपा माओवादी केन्द्रले पुरानै संरचनामा चुनावमा गए त्यसलाई बहिस्कार गर्ने बताएकी छन् । ‘हामी आफ्नो अधिकार सुनिश्चित हुने गरी संविधान संशोधनको पक्षमा छौं,’ राईले भनिन्, ‘कांग्रेस–एमालेको इसारामा पुरानै संरचनामा चुनावमा गए विद्रोह गर्छौं । हामीसँग बन्दुक बोकेको इतिहास भएकाले त्यसलाई फेरि ब्युताउनु पर्ने अवस्था नआओस् ।’

कार्यक्रममा कवि तथा गीतकार भूपाल राई, गायक तथा संगीतकार डाक्टर किरात, गायक देवेश राई, गायिकाहरु कला राई, सरला राई, जानुका राई लगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।

 

प्रकाशित : पुस १६, २०७३ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?