३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तीन महिनामै महिलाको मुद्दा किनारा लगाउ : प्रधानन्यायाधीश

डम्बरसिं राई

खोटाङ — प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाका मुद्दा कम्तिमा तीन महिनाभित्र सक्न निर्देशन दिएकी छन् । बुधबार खोटाङमा जिल्ला अदालत भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले महिलाको अंश लगायतका मुद्दा छिटो भन्दा छिटो सक्न निर्देशन दिएकी हुन् ।

तीन महिनामै महिलाको मुद्दा किनारा लगाउ : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश कार्कीले छिटो छरितो न्याय सम्पादन आजको न्यायलयको प्राथमिकता रहेकाले त्यसै आधारमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन् । खोटाङजस्तो पहाडी जिल्लामा छिटो छरितो न्याय सम्पादनले न्यायलयप्रतिको विश्वास बढ्ने भएकाले त्यसै अनुसार कार्य सम्पादन गर्न उनले निर्देशन दिएकी हुन् । 

‘खोटाङजस्तो दुर्गम पहाडी जिल्लामा छिटो–छरितो न्याय सम्पादन होस्,’ न्यायलयकै कारण पीडा नपाउन्,’ प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘न्यायालयप्रति जनताको विश्वास नगुमोस् ।’

प्रधानन्यायाधीश कार्कीले मेलमिलापमा पनि जोड दिनुपर्ने बताइन् । मेलमिलापले दुवै पक्षको जित हुने भएकाले त्यसका लागि न्यायाधीशले जोड दिनुपर्ने धारणा राखिन् । यसका लागि कानुन व्यवसायीहरुले पनि सहयोग गर्नुपर्ने उनले बताइन् । ‘अनावश्यक कुरामा झगडाको विषय नबनाउनुहोस्,’ कार्कीले थपिन्, ‘यस्तो कुराले समाजमा राम्रो गर्दैन ।’ 

उद्घाटन कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश वैद्यनाथ उपाध्यायले न्यायलयप्रति भरोसा गर्दै नाजायज हल्ला नफिजाउन आग्रह गरेका छन् । ‘न्यायलय सबैको हो,’ उपाध्यायले भने, ‘सबैको साझा निकाय भएकाले सबैले विश्वासनीय निकायको रूपमा स्थापित गर्नुपर्छ । भवन ठूलो र राम्रो भयो भन्दैमा त्यसले केही गर्दैन । भवनभित्र बस्ने न्यायकर्मीहरूको कार्यसम्पादनमा भर पर्छ ।’

नेपाली सेनाको हेलिकोप्टरमा आएकी प्रधानन्यायाधीश कार्कीलाई भब्य रुपमा स्वागत गरिएको थियो । प्रधानन्यायाधीश कार्की हलेसीको दर्शन गरी राजधानी फिरेकी छन् ।

प्रकाशित : पुस २७, २०७३ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?