कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कतारका अमिरले परराष्ट्रमन्त्रीलाई भने– नेपाली मेहेनती, लगनशील र इमान्दार

‘हामी नेपालीको सुरक्षा र हितको पक्षमा अत्यन्त सचेत छौं’
होम कार्की

काठमाडौं — कतारका अमिर शेख तमिम बिन हमाद अल(थानीले आधुनिक कतार निर्माणमा नेपालीको योगदान अतुलनीय रहेको बताएका छन् । कतारको तीनदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेट गर्दै उनले नेपाली कामदारको प्रशंसा गरेका हुन् ।

कतारका अमिरले परराष्ट्रमन्त्रीलाई भने– नेपाली मेहेनती, लगनशील र इमान्दार

 

‘नेपाली साह्रै मिहिनेती, लगनशील र इमानदार पायौं,’ अमिरी दिवानमा शिष्टाचार भेट गर्न पुगेका परराष्ट्रमन्त्री महतले अमिरलाई उद्धृत गर्दै भने, ‘कतारको विकासमा नेपालीको ठूलो भूमिका छ । हामी नेपालीको सुरक्षा र हितको पक्षमा अत्यन्त सचेत छौं ।’ 

कतारको राजकीय सत्ता सम्हाले यता अमिर तमिमले नेपाल सरकारका उच्च अधिकारीसँग पहिलोपटक संवाद गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न कतार सधैं अग्रसर रहेको बताए । ‘नेपालीप्रति कतारका अमिर निकै हर्षित रहेको पाएँ,’ परराष्ट्रमन्त्री महतले कान्तिपुरलाई टेलिफोनमा भने, ‘नेपालको आर्थिक विकासमा सहयोग गर्न कतार सरकार तयार छ ।’ 

अमिर तमिम नेपालको पर्यटन, जलविद्युत् र दूरसञ्चारको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको महतले बताए । ‘कतारका अमिर नेपालमा लगानी गर्नका लागि एउटा अध्ययन टोली पठाउन सहमत हुनुभयो,’ महतले भने, ‘चैतमा हुने लगानी सम्मेलनमा सहभागी हुन टोली आउनेछ ।’ महतले अमिरसमक्ष कतार र नेपालको सम्बन्ध कामदार लिने र दिनेमा मात्रै सीमित नराखी नेपालमा कतारको लगानी आओस् भन्ने चाहेको बताएका थिए । 

अमिरलाई भेटनुअघि महतले कतारका समकक्षी शेख मोहममद बिन अब्दुल रहमान विन जसिम अल(थानीसँग भेट गरेका थिए । अब्दुल रहमानले नेपालमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए । नेपाल र कतारबीच विविध क्षेत्रमा गरिएका सम्झौतालाई समयसापेक्ष बनाउन र नयाँ सम्बन्धका आधार खोज्न दुई देशका प्रतिनिधिहरू सम्मिलित संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको महतले जानकारी दिए । 

नेपालले कतारसँग श्रम सम्झौता, हवाई क्षेत्र, लगानी सुरक्षालगायत ११ वटा विषयमा सम्झौताको तयारी गरेको छ । ‘यी विषयलाई प्राविधिक बैठक बसेर छिट्टै टुंग्याइनेछ,’ मन्त्री महतले भने, ‘कूटनीतिक रूपमा आवतजावत गर्न भिसा नचाहिने र कूटनीतिक कर्मचारीलाई अरबिक भाषाको तालिम दिने विषयमा सहमति भयो ।’

महतले नेपाली कामदारको सवालमा विकास, प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इशाबिन साद अल(जफैल अल(नुएमीसँग झन्डै एक घण्टा छलफल गरेका थिए । ‘कामदारसँग जोडिएका सबै विषयमा बुँदागत छलफल भयो,’ उनले भने । महतका अनुसार कामदारलाई २४ घण्टा बिमा हुनुपर्ने, नियमअनुसार कम्पनीबाट पाउने सुविधा कामदारले पाउनुपर्ने, नेपालीलाई उच्च तहको कोटा उपलब्ध गराउनुपर्ने, अदालतसम्म पुग्नुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने विषय नेपालले उठाएको छ । 

कतारले दक्ष कामदार उत्पादनका लागि नेपालमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गरी आवश्यकताअनुसार तालिम उपलब्ध गराउन तयार रहेको बताएको छ । कतार र नेपालबीच १० वर्षअघि भएका श्रम सम्झौतालाई परिमार्जन गरी संशोधन गर्न तत्काल दुई देशबीचका अधिकारीहरूको बैठक बसेर टुंग्याउन कतार सहमत भएको छ । 

कतारका श्रममन्त्री इशाबिनले महतसँग नेपाली कामदारको गुनासो आउन नदिने र काम गर्न अप्ठ्यारो परेका प्रावधान हटाउने बताएका थिए । ‘कामदारका समस्याबारे श्रम, परराष्ट्र र दूतावासका प्रतिनिधि बसेर नियमित छलफल गर्ने व्यवस्था मिलाउँछौं,’ मन्त्री इशाबिनले भने, ‘श्रम मन्त्रालयको मातहतमा एउटा समिति बनाउँछौं । यसबाटै कामदारका समस्या समाधान गर्नेछौं ।’ 

वासस्थान नभएर अलपत्र परेका कामदारलाई सेल्टरमा राख्नुपर्ने नेपालको प्रस्तावलाई कतारी पक्षले स्वीकार गरेको छ । मन्त्री महतले नेपाली कामदारले यथोचित प्रतिफल पाउने गरी सुविधा पाउनुपर्नेमा आफूले जोड दिएको बताए । वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य रहेको कतारमा चार लाख नेपाली कार्यरत छन् ।  

 

प्रकाशित : पुस २७, २०७३ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?