सबै नदीकिनारमा करिडोर बन्दै

दीपेन्द्र विष्ट

काठमाडौं — सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढदो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो ।

सबै नदीकिनारमा करिडोर बन्दै

विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रूपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

उनका अनुसार सुन्दरीजल–कुपन्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको बताए । उक्त करिडोरमा एसियाली विकास बैंकको सहयोगमा सुन्दरीजल–गोकर्ण खण्डमा हरियाली बनाउने कामसमेत अघि बढिसकेको छ । नदीको बहाव हालकै अवस्थामा कायम रहने गरी सडक विस्तार तथा हरित उद्यान निर्माण गरिने उनले बताए ।
नदीको बहाव छाडी दायाँबायाँ करिडोर विस्तारको काम भइरहेको छ । वागमती, विष्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले र महादेव खोला धोबीलगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए ।

वागमती, विष्णुमति र मनोहराका दायाँबायाँ २०/२० मिटर कायम गरिएको छ । वागमती नदीको बहाव क्षेत्र र स्थान हेरी फरक निर्धारण गरिएको छ । सुन्दरीजलदेखि गोकर्णसम्म २० मिटर, गोकर्णदेखि जोरपाटी पुलसम्म ३५ मिटर, जोरपाटी पुलदेखि गुहयेश्वरीसम्म ४० मिटर, तिलगंगादेखि शंखमूल खण्डमा न्यूनतम ३० मिटर, शंखमूलदेखि विष्णुमति दोभानसम्म न्यनूतम ६० मिटर बहाव क्षेत्र निर्धारण गरिएको छ ।

विष्णुमति दोभान र त्यसको तल्लो तटीय क्षेत्रमा न्यूनतम ८० मिटर बहाव क्षेत्र कायम गरिएको छ । नदीको बहाव कायम गरी करिडोर विस्तार अघि बढिरहेको उनले बताए । हाल बालकुमारीदेखि साँखुसम्मको मनोहराकिनारको करिडोर विस्तार अघि बढिरहेको छ । बालकुमारी–ब्रहमखेल करिब ९ किमि करिडोर निर्माणका लागि सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको छ । करिडोर निर्माणमा केही ढिलाइ भएको काठमाडौं १ नम्बर सडक डिभिजनका प्रमुख धर्मेन्द्र झाले बताए । मनोहरा करिडोरमा हरियालीसहित करिब ११ मिटर चौडाइको सडक निर्माण गरिने उनले बताए ।

‘चाँगुनारायण, मूलपानी, गोठाटार, साँखुसम्मका गाडी सिधै जडीबुटीबाट जान्छन्,’ उनले भने, ‘कोटेश्वरमा ट्राफिक जाम हुँदैन, त्यता जाने गाडीले अब रिङरोड छिर्नु पर्दैन ।’ त्यसैगरी धोबीखोलाको दायाँबायाँ करिडोर विस्तार भइरहेको उनले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुख भाइकाजी तिवारीले बुद्धनगरदेखि कपनको तल्लो भागसम्म धोबीखोला करिडोर निर्माणका लागि ट्रयाक खोल्ने काम पूरा भएको बताए ।

‘ढल हाल्ने काम भइरहेको छ,’ झाले भने, ‘अब चाँडै कालोपत्रे गरिन्छ ।’ कालोपत्रेका लागि सरकारले बजेटसमेत विनियोजन गरिसकेको उनले बताए । ‘चाबहिल, कपन जाने गाडीले रिङरोड अथवा पुरानो बानेश्वर पुग्न पर्दैन,’ उनले भने, ‘धोबीखोलामा करिडोर सञ्चालनमा ल्याउनेबित्तिकै नयाँ बानेश्वर चोक, गौशालालगायत क्षेत्रको ट्राफिक जाम कम हुन्छ ।’
त्यसैगरी सुन्दरीजल–थापाथली वागमती करिडोर निर्माण पूरा हुनेबित्तिकै उपत्यकाका मुख्य चोकका ट्राफिक जाम न्यूनीकरण हुने उनले बताए । विष्णुमति करिडोरको निर्माण पनि अघि बढिरहेको उनले बताए ।

बाहिरी चक्रपथ निर्माण गरी व्यवस्थित सहर विकास गरिने उनले बताए ।
‘करिडोर र बाहिरी चक्रपथ निर्माण भएपछि उपत्यका कतैबाट पनि टाढा हुँदैन,’ उनले भने, ‘मुख्य सडक सुविधा हो, सडक विस्तार भइरहेका छन् त्यसकारण अब उपत्यकामा जहाँ बस्दा पनि टाढा हुँदैन ।’ काठमाडौं उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले करिडोर निर्माण गरी वैकल्पिक बाटोका रूपमा प्रयोग गरे ट्राफिक जाम कम हुने बताउँछन् । ‘करिडोरले सवारी जाम घटाउँछ,’ उनले भने ।

प्रकाशित : पुस २८, २०७३ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?