कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीश गोपाल पराजुली विरुद्ध प्रधानन्यायाधीश कार्कीले के गरिन् ‘अन्यायपूर्ण निर्णय’ ?

पराजुलीको जन्ममिति विवाद
न्यायाधीश पराजुलीद्वारा प्रधानन्यायाधीशविरुद्ध उजुरी

काठमाडौं — सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले आफ्नो जन्ममितिबारे प्रधानन्यायाधीश सुशीला कार्कीले ‘अन्यायपूर्ण निर्णय’ गरेको दाबी गर्दै न्याय परिषद्मा उजुरी दिएका छन् । आठ पेज लामो उजुरीमा उनले कार्कीले गरेको ‘त्रुटिपूर्ण निर्णय’ सच्याई पछिल्लो नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति कायम गरिदिन न्यायपरिषद्समक्ष आग्रह गरेका छन् । प्रधानन्यायाधीश नै परिषदको समेत अध्यक्ष हुन् ।

 न्यायाधीश गोपाल पराजुली विरुद्ध प्रधानन्यायाधीश कार्कीले के गरिन् ‘अन्यायपूर्ण निर्णय’ ?

उनले आफ्नो जन्ममितिबारे प्रधानन्यायाधीशले मात्र निर्णय गर्न नपाउने दाबी गर्दै त्यसबारे परिषद्बाटै निर्णय हुनुपर्ने जिकिरसमेत गरेका छन् । कार्कीको निर्णयका कारण उनीपछिको प्रधानन्यायाधीशको रोलक्रममा रहेका पराजुलीको उमेर ९ महिना बढेको छ । फलस्वरूप उनी जम्मा ५६ दिनमात्र प्रधानन्यायाधीश हुन पाउँछन् । कार्कीको निर्णयले पुरानै नागरिकतालाई मान्यता दिएपछि आफूलाई अन्याय भएको दाबी गर्दै पराजुलीले परिषद्लाई गुहारेका हुन् ।

कार्कीले हालै पराजुलीले पेस गरेका दुइटा नागरिकता प्रमाणपत्रमध्ये पुरानोलाई मान्यता दिने निर्णय गरेकी हुन् । पराजुलीको पुरानो नागरिकता प्रमाणपत्रमा जन्ममिति २००९ साउन २१ छ, पुरानो नागरिकताले मान्यता पाउने कार्कीको निर्णयका कारण उनले ६५ वर्ष पूरा गरी २०७४ साउन २० मा अनिवार्य अवकाश पाउनेछन् । पराजुलीले पेस गरेको पछिल्लो नागरिकतामा जन्ममिति २०१० वैशाख १६ छ । नयाँ नागरिकताले मान्यता पाए उनले २०७५ वैशाख १५ मा मात्रै अनिवार्य अवकाश पाउनेछन् अर्थात् उनी थप ९ महिना बढी प्रधानन्यायाधीश हुन पाउनेछन् ।

पराजुलीले उजुरीमा आफू २०१० साल वैशाख १६ मा जन्मिएको दाबी गर्दै २०३० साउन २१ मा नागरिकता प्रमाणपत्र लिँदा सीडीओ कार्यालयले आफू त्यतिबेला २० वर्ष ३ महिना ५ दिनको भए पनि २१ वर्ष भनेर लेखिदिएकाले उमेर बढेको दाबी गरेका छन् । उनले आफ्नो वास्तविक जन्ममितिअनुसार आफ्नो अनिवार्य अवकाश आगामी २०७५ वैशाख १५ मा हुनुपर्ने जिकिरसमेत गरेका छन् ।

पराजुलीले वास्तविक जन्ममिति २०१० साल वैशाख १६ हो भन्दै दोस्रो नागरिकता प्रमाणपत्रसमेत सर्वोच्चमा पहिल्यै पेस गरेका छन् । प्रधानन्यायाधीश कार्कीले पुरानै नागरिकताअनुसार पराजुलीको जन्ममिति २००९ साउन २१ नै कायम रहने गरी तद्नुकूल अभिलेख राख्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएपछि उनले त्यसविरुद्ध न्याय परिषद् गुहारेका हुन् । पराजुलीले पुरानो नागरिकतामा आफ्नो जन्ममिति नखुलेका कारण आफूले वास्तविक जन्ममिति लेखेर अनुसूचीसमेत भरेर सर्वोच्चलाई पहिल्यै बुझाइसकेको समेत उल्लेख गरेका छन् । 

प्रकाशित : पुस २८, २०७३ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?