कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बढ्यो माटो तस्करी

लीला श्रेष्ठ

भक्तपुर — जिविसको निर्देशन विपरीत ताथली क्षेत्रमा अवैध रूपमा माटो तस्करी मौलाउँदै गएको छ । प्राकृतिक सम्पदाको अवैध उत्खनन भए कारबाही गर्नुपर्ने निकाय मौन हुँदा तस्करी मौलाएको स्थानीयको आरोप छ ।

बढ्यो माटो तस्करी

जिविसले इँटा भट्टाका नाममा व्यक्तिको जग्गाबाट माटो ओसारपसार गर्न स्वीकृति दिएको छ, त्यही मौका छोप्दै तस्करहरूले खानी सञ्चालन गरेको ताथलीका देवेन्द्र थापाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७१ चैतमा जिल्लामा सञ्चालित खानीहरूको फाइल अनुसन्धानका लागि लगेपछि जिविसले कुनै पनि खानी सञ्चालनका लागि स्वीकृति तथा नवीकरण गरेको छैन । ‘इँटा भट्टालाई माटो ओसारपसारको अनुमति दिइएको नाममा स्काभेटर प्रयोग गरी माटो उत्खनन गरिरहेको छ,’ ताथलीका रामजी खडकाले भने । माटो उत्खननका कारण नगरकोट २, ताथलीका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीको टयांकी जोखिममा परेको उनले बताए ।

जिविसले भने गत जेठ २७ गते नै ताथली क्षेत्रको माटो उत्खनन रोक्न खानी सञ्चालकहरूलाई बोलाई निर्देशन दिएको र कारबाही प्रक्रिया थालिएको जनाएको छ । तर, सञ्चालक तथा व्यापारीले जिविसलाई अटेर गर्दै माटो बिक्री गरिरहेका छन् । विभिन्न समयमा अनुगमन गर्दा नगरकोट २ का सीताराम सैंजूले अवैध रूपमा माटो उत्खनन गरी बिक्री गरेको पाइएको जिविसले जनाएको छ । सैंजूको पाँगोमाटो खानी क्षेत्र ०७१/७२ मा जिविसले खानी सञ्चालन स्वीकृति दिएको र त्यसपछि नवीकरण तथा सञ्चालन स्वीकृति नदिएको स्थानबाट ठूलो परिणाममा माटो बिक्री गरेको पाइएको जिविस खानी शाखाले जनाएको छ । उनको खानीको करिब ५ सय मिटर दूरीमा रहेको केदार बुढाथोकी, भुवन बुढाथोकीको जग्गाबाट ठूलो परिणाममा माटो उत्खनन गरी जगातीस्थित चाइनिज इँटा उद्योगमा लैजाने गरिएको छ ।

खानी सञ्चालकले भने जिविसले इँटा उद्योगलाई माटो खरिद गर्ने अनुमति दिएको तर, खानीको स्वीकृति नदिएकोमा आक्रोश जनाउँछन् । ‘वर्षौंदेखि अनुमति प्राप्त खानीलाई रोकेर जिविसले अन्याय गरेको छ,’ पाँगोमाटो खानी सञ्चालक कृष्णराम बासुकलाले भने, ‘अख्तियारले फाइल लगेकै नाममा खानीको स्वीकृति नदिने तर इँटा उद्योगलाई माटो खरिदको अनुमति दिनु गलत हो । हामीले जिविसलाई भने नियमित कर बुझाइरहेका छौं ।’

जिविस भक्तपुरले भने कर तिरेर स्वीकृति लिएका इँटा उद्योगलाई माटो ओसारपसार गर्ने गाडी नम्बर उल्लेख गरी व्यक्तिको जग्गाबाट माटो खरिद गर्ने अनुमति दिएको जनाएको छ । जिविस भक्तपुरका प्रशासकीय अधिकृत भरतकुमार थापाले भने, ‘इँटा उद्योगले स्वीकृति नदिइएका खानीबाट माटो खरिद गर्न पाइँदैन ।’

जिल्लाको नगरकोट, चाँगुनारायण, सूर्यविनायक, मध्यपुरथिमी, अनन्तलिंगेश्वर नगरपालिकाका विभिन्न स्थानमा माटो उत्खनन गरी बिक्री गरी बिनास्वीकृति जग्गा प्लटिङसमेत गरिएको छ ।

प्रकाशित : पुस २९, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?