७ करोड २ लाखबराबरको १५ केजी अवैध सुन बरामद, फेरि पनि चालकमात्रै पक्राउ

जनकराज सापकोटा

काठमाडौं — विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन समातेको दुई साता पनि नहुँदै काठमाडौंको बालाजुबाट १५ केजी अवैध सुन बरामद भएको छ । बालाजु वृत्तका डिएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको अगाडि ईन्जिन राख्ने भागकाे पछाडितर्फ फल्स वटम बनाइ सुन राखिएको थियो ।

विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन समातेको दुई साता पनि नहुँदै काठमाडौंको बालाजुबाट १५ केजी अवैध सुन बरामद भएको छ ।

बालाजु वृत्तका डिएसपी सन्तोष तामाङका अनुसार टाटा सुमो गाडीको अगाडि ईन्जिन राख्ने भागकाे पछाडितर्फ फल्स वटम बनाइ सुन राखिएको थियो । वेल्डिङ गरेर बनाइएको फलामको बक्सभित्रको सुन पत्ता लगाउन पनि प्रहरीलाई घन्टौं लागेको थियो ।

रसुवाको केरुङ हुँदै आएको उक्त सुन आएको चालक रविन्द्र भुजेलको बयानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार चालकसँगै आएका एक व्यक्ति भने पक्राउ पर्नुअघि नै भाग्न सफल भएका छन् । डिएसपी तामाङले भने, ‘चालक विशुद्ध भरियाको रुपमा मात्रै प्रयोग भएको देखिन्छ ।’

सुन पठाउनेले सुन लगेर एकान्तकुना पुर्‍याउनु र गाडीको चाबी एकजना मान्छेलाई दिनु भनेर चालकलाई अह्राएको सूचना मात्रै प्रहरीले पाएको छ । डिएसपी तामाङले भने, ‘सुन लुकाएको बक्सको आकार र त्यो बनाएको तरिका हेर्दा यही गाडीले पहिले पनि यसैगरी कैयनपटक सुन ओसारेको देखिन्छ ।’ डिएसपी तामाङका अनुसार उक्त फलामे बक्सको वेल्डिङ हेर्दा निकै पुरानो देखिन्छ ।

बरामद सुन बिस्कुट आकारका छन् र प्रत्येक विस्कुट एक केजी छन् । महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले बरामद गरिएको सुन प्रचलित बजार मूल्य ७ करोड २ लाखबराबरको छ । उनले सुन तस्करी जनघन्य अपराध भएको भन्दै पक्राउ त्यसविरुद्ध संगठित अपराधसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जानकारी पनि दिए ।

प्रकाशित : माघ १, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

उखु नहुँदा गुड कमी

खगेन्द्र अवस्थी

बैतडी — बँदेल र बाँदरले गर्ने क्षतिसँगै मेहनत र लागतअनुसार फाइदा नहुँदा बैतडीमा उखु खेती बर्सेनि घट्दै गएको छ । उखु खेती घटेसँगै गुड (सखर) उत्पादनमा पनि कमी आएको हो । मंसिरमै बजारमा आउने ‘बैतडीको गुड’ अझै अत्तोपत्तो छैन ।

बँदेलले उखु बालीमा बढी क्षति पुर्‍याउन थालेपछि ग्रामीण भेगमा खेती घटेको हो । गुड बनाउने भाँडा औजार, दाउरा, कोललगायत सामग्रीको लागत बढेका कारण उखु खेती प्रभावित भएको कृषकहरू बताउँछन् । 
पहरा बसेर बँदेल र बाँदरबाट जोगाएको उखु उत्पादनबाट मेहनतअनुसारको मूल्य नपाएको कृषकको गुनासो छ । स्थानीय बजारमा गुड प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा खरिद हुन्छ । उखु पेल्ने मेसिनको मूल्य ४० देखि ५० हजार पर्छ । गुड पकाउन प्रयोग गरिने तामाका भाँडाको मूल्य १५ हजारभन्दा कम छैन । दाउराको बढी प्रयोग हुने भएकाले लगानीअनुसार कमाइ नहँुदा खेती नै छाडेको उनीहरू बताउँछन् । ‘दिउँसो बाँदर र राति बँदेलको पहरा बसेर जोगाउन मुस्किल हुन्छ, बचेको उखुको गुड सस्तोमा बेच्नुपर्छ,’ दुर्गास्थान ४ का खेमराज बडुले भने, ‘कच्चा पदार्थ र औजार महँगो पर्छ, भारतीय गुडको प्रतिस्पर्धाले मूल्य पाएका छैनौं ।’ 
हिउँदमा अन्य बाली नहुने हुँदा जंगली जनावरबाट बढी क्षति भएको हो । पहरा बसेरसमेत जोगाउन मुस्किल भएको कृषक सुनाउँछन् । जिल्लाका सबैजसो गाउँमा उखु खेती हुन्छ । गोकुलश्वर, स्वराड, पुरचौडी र च्वागढ क्षेत्रमा गुड उत्पादन बढी हुने गर्छ । चिसो ठाउँमा मंसिर र पुसमा उखु पेल्न सुरु हुन्छ । बेंसीतिर चैतमा पेल्ने चलन छ । समय मिलाएर तराई सरेकाहरूसमेत तातो गुड खान पुख्र्यौली थलो र आफन्तकहाँ उक्लने गर्छन् । परम्परागत कोलमा पेलेको उखुको रस ५/६ घण्टा तामाको भाँडामा पकाएर गुड बनाइन्छ । ‘गाउँमा थोरैले मात्र खेती गर्छन्, उखुको उत्पादन घरायसी उपयोगमा सीमित भएको छ,’ दशरथचन्द ३ का पुष्पराज पाण्डेयले भने, ‘मेहनत र लगानी बढी हुने भएकाले खेती गर्न समस्या छ ।’ स्थानीय गुडको बजार समस्या नभए पनि मेहनत र जनावरको क्षतिले उत्पादन बढाउन नसकेको कृषि विकास कार्यालयले जनायो । जिल्लामा २ सय ४० हेक्टरमा उखु खेती गरिएको छ । ३ वर्षमा ६० हेक्टर खेती घटेको कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताए । ‘व्यावसायिक खेती छाडेर किसान करेसाबारीमा सीमित भएका छन्,’ चन्दले भने, ‘जनावरको क्षतिसँगै फाइदा र जनशक्ति अभावले हरेक वर्ष खेती घट्न थालेको हो ।’ बैतडीमा प्रतिहेक्टर १५ मेट्रिक टन उखु उत्पादन हुन्छ । उखु पेल्ने आधुनिक मेसिन र औजारमा अनुदान दिएर खेती प्रवद्र्धन गर्ने योजना रहेको चन्दले बताए । 

प्रकाशित : माघ १, २०७३ ०८:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT