सरकारी वकिलद्वारा बेन्च बहिष्कारको चेतावनी

काठमाडौं — महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन संगठनहरूले उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव गरिएको भन्दै इजलास बहिष्कारसम्मको चेतावनी दिएका छन् । ८० न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिल समूहबाट एक जनामात्रै न्यायाधीश सिफारिस भएको भन्दै उनीहरूले पुस ९ देखि सरकारवादी मुद्दाको कानुनी प्रतिरक्षा नगर्ने चेतावनी दिएका हुन् ।

सरकारी वकिल समूहमा ४ जना सचिव तहका र ३१ जना सहसचिव तहका जनशक्ति कार्यरत रहेका र तीमध्ये ९ जना सरकारी वकिल उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि योग्य रहेकोमा एक जनामात्रै नियुक्त भएको भन्दै उनीहरूले सरकारी वकिल समूहलाई न्याय परिषदले पूर्ण रूपमा उपेक्षा गरेको भन्दै विरोध गरेका हुन् ।

आफ्नो मागको बेवास्ता गरेमा सर्वोच्चसहित देशभरका अदालत र न्यायाधिकरणमा सरकारी वकिल कार्यालयका तर्फबाट बहस पैरवी बहिष्कार गर्ने र न्यायपरिषद एवं अदालतविरुद्ध परेका रिटको कानुनी प्रतिरक्षा नगर्ने चेतावनी दिएका छन् ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनका महान्यायाधिवक्ताको कार्यालयको विभागीय समितिहरूले न्यायाधीश सिफारिसको विरोध गरेका हुन् ।

यसैबीच सरकारी वकिल समाजले पनि राजनीतिक भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति गरिएको भन्दै त्यसले स्वतन्त्र न्यायपालिकाको अवधारणालाई गम्भीर ठेस पुर्‍याएको टिप्पणी गरेको छ । समाजले न्याय सेवाको वरिष्ठता र सक्षमतालाई इन्कार गरी अपारदर्शी र असमानुपातिक आधारमा न्यायाधीश नियुक्त गरिएको भन्दै न्यायपरिषद्मा महान्यायाधिवक्तालाई प्रतिनिधित्व गराउनसमेत माग गरेको छ ।

प्रकाशित : माघ ३, २०७३ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?