कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्य तथा पश्चिम तराईमा औषधि नपाएरै छटपटी

प्राय: जिल्लामा औषधि खरिदका लागि टेन्डर प्रक्रिया नै अघि बढ्न सकेको छैन

काठमाडौं — सरकारले जिल्लाका स्वास्थ्यकेन्द्रमार्फत ७० भन्दा बढी अत्यावश्यक औषधि सर्वसाधारणलाई नि:शुल्क वितरणको घोषणा गरेको लामो समय भइसक्यो । तर, मध्य तथा पश्चिम तराईका बासिन्दा ‘सिटामोल’ कै लागि छटपटिन बाध्य छन् । जिल्लामा धेरै प्रकारका नि:शुल्क औषधि उपलब्ध छैनन् । भएका ठाउँमा पनि सर्वसाधारणले सहजै पाउन सकेका छैनन् । कपिलवस्तुबाट मनोज पौडेल, पर्साबाट शंकर आचार्य, हेटौंडाबाट प्रताप विष्ट र नवलपरासीबाट नवीन पौडेल लेख्छन् :

मध्य तथा पश्चिम तराईमा औषधि नपाएरै छटपटी

कपिलवस्तुका स्वास्थ्य केन्द्रमा चार महिनायता नि:शुल्क औषधिको चरम अभाव छ । दुई महिनाजति बिरामीले सिटामोलसमेत पाएका थिएनन् । अहिले सिटामोल आपूर्ति केही सहज भए पनि एन्टी एलर्जिन र कोर्टिम एन्टिबायोटिक औषधि ठप्पै छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा ३ सातादेखि दुवै औषधि छैनन् । आधारभूत औषधि सकिँदा बिरामीलाई त्यसै फर्काउनुपरेको पर्सोहिया स्वास्थ्य केन्द्रका सिनियर अहेव माधव अर्यालले बताए ।

‘बल्लतल्ल एक लाख चक्की सिटामोल जोहो गरेँ,’ जिल्ला जनस्वास्थ्यका स्टोर प्रमुख मेघनाथ खनालले भने, ‘फेरि एन्टी एलर्जिन र कोर्टिम सकियो ।’ दैनिक अधिकांश स्वास्थ्य संस्थाबाट उक्त औषधि माग हुने गरेको छ । अन्य औषधिको पनि मौज्दात कम हुँदै गएको छ । जनस्वास्थ्यका अनुसार औषधि माग्दै दैनिक १५/२० स्वास्थ्य संस्थाका प्रमुखले फोन गर्ने गरेका छन् ।

जिल्ला स्वास्थ्यले गरेको टेन्डरअनुसारका औषधि नआउँदा अभाव भएको हो । ६२ लाखको टेन्डर ३१ लाखमा परेकाले आधा औषधि मात्र आपूर्ति भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्रप्रसाद भगतले बताए । ‘सबै आपूर्ति नभइकन आएजति औषधि उपयोग गर्न मिल्दैन,’ उनले भने, ‘ठेकेदारलाई पूरै औषधि ल्याउन आग्रह गरेका छौं ।’ सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट २७ प्रकारका औषधि नि:शुल्क प्रदान गर्ने नीति बनाएको छ । तर, यहाँ मुस्किलले आधा पनि वितरण सम्भव भएको छैन ।

मध्य तथा पश्चिम तराईका कुनै पनि स्वास्थ्य संस्थामा सरकारले नि:शुल्क घोषणा गरेका सम्पूर्ण औषधि पाइँदैनन्, धेरैजसोमा सिटामोललगायत अत्यावश्यक औषधिकै अभाव छ ।


कपिलवस्तुका ७२ स्वास्थ्यचौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र, ३ जिल्ला अस्पताल, ५ सहरी स्वास्थ्य क्लिनिक र २ गाउँ क्लिनिक गरी ८४ स्वास्थ्यसंस्थाबाट छन् । जिल्लामा आवश्यक ८० प्रतिशत औषधि केन्द्रबाट आउने र २० प्रतिशत खरिद गरिने व्यवस्था छ ।

अधिकांश औषधि अभाव
पर्साका सहरी तथा ग्रामीण स्वास्थ्य केन्द्रमा साउनदेखि नै सिटामोलबाहेक सबैखाले अत्यावश्यक औषधि पाइन छाडेका छन् । ‘आर्थिक वर्ष लागेदेखि नै अभाव सुरु भएको हो,’ वीरगन्ज उपमहानगरभित्रकै एक स्वास्थ्य चौकीका इन्चार्जले भने, ‘झाडापखाला, जाडोले हुने रोग, बालबालिका बिरामी पर्दा दिइने औषधिदेखि महिलाले लगाउने परिवार नियोजनको ३ महिने सुई डिपोको समेत अभाव छ ।’

जिल्ला जनस्वास्थ्यलाई पटकपटक समस्या अवगत गराइसके पनि समाधान प्रयास नगरेको उनले आरोप लगाए । ‘जाडोसँगै रुघाखोकी, ज्वरो, निमोनियाका बिरामी बढेका छन् तर हामीसँग सिटामोलबाहेक अरू औषधि छैन,’ अर्का सिनियर अहेवले भने, ‘५ महिनाभन्दा बढी भइसक्यो, खोइ कहिले समाधान हुने हो ?’

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख सचिदानन्द सिंहले भने जिल्लामा औषधि अभाव नभएको दाबी गरे । ‘सबै खाले औषधि दैनिकजसो स्वास्थ्य केन्द्रलाई आपूर्ति गर्दै आएका छौं, कतै पनि अभाव छैन,’ उनले भने, ‘जजसले यहाँबाट औषधि लग्छन् उनीहरूले नै अभाव रहेको भन्दै कार्यालयको बदनाम गरिरहेछन् ।’

मंसिर अन्तिम साता औषधि खरिदका लागि कार्यालयले टेन्डर खोलेको थियो । टेन्डर प्रक्रियामै उजुरी परेकाले कार्यालयले करिब ४५ लाख रुपैयाँ बराबरको औषधि खरिद गर्न नसकेको सिंहले बताए । ‘जिल्ला प्रशासन कार्यालयले प्रतिक्रिया मागेको छ,’ उनले भने, ‘सीडीओ साहेबले मौखिक रूपमा फुकुवाको आदेश दिइसक्नु भएको छ, एक–दुई दिनमै टेन्डर प्रक्रिया पूरा हुन्छ ।’

‘नि:शुल्क पाइँदैन’
सरकारले बर्थिङ सेन्टरसहितका स्वास्थ्य चौकीमा ३८ किसिमका औषधि नि:शुल्क दिनुपर्ने व्यवस्था गरे पनि मकवानपुरका बासिन्दा त्यसबाट वञ्चित छन् । गढी गाविसस्थित स्वास्थ्य चौकीमा ३८ वटा नि:शुल्क औषधिमध्ये २८ मात्र छन् । काँकडा गाविसस्थित स्वास्थ्यचौकीमा ९ किसिमका औषधि छैनन् । राजमार्गसित जोडिएको प्राथमिक स्वास्थ्यकेन्द्र मनहरीमैझाडापखालाका बिरामीलाई आवश्यक मेट्रोन र एन्टिबायोटिक छैन ।

स्वास्थ्यकेन्द्रले ५८ किसिमका औषधि दिनुपर्ने व्यवस्था छ । ‘अहिले ५० थरी औषधि मात्र छन्, ती पनि असाध्यै थोरै मात्रामा,’ मनहरीस्थित केन्द्रका स्वास्थ्य सहायक टीकाराम अधिकारीले भने ।

केही दिनअघिसम्म काँकडा गाविसको स्वास्थ्यचौकीमा सिटामोलसमेत थिएन । ‘जनस्वास्थ्यले एक साताअघि विभिन्न औषधि पठाएको छ,’ अहेव सूर्यबहादुर तामाङले भने, ‘मेट्रोन अझै अभाव छ ।’ स्वास्थ्य विभागले टेन्डरमा ढिलाइ गरेकाले नि:शुल्क वितरण गर्नुपर्ने औषधि आपूर्तिमा समस्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालय हेटाैंडाले जनाएको छ ।

‘कात्तिक र मंसिरमा औषधिको निकै अभाव थियो,’ कार्यालयका निरीक्षक तथा वरिष्ठ अहेव भोला चौलागाईंले भने, ‘अहिले सबै स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा २–४ थरी बाहेक सबैजसो औषधि पुर्‍याएका छौं ।’

नवलपरासीमा उस्तै समस्या
जिल्ला अस्पताल नवलपरासीमा नि:शुल्क घोषणा गरिएका ७० प्रकारका औषधिमध्ये मुस्किलले ५० प्रकारका मात्र उपलब्ध छन् । प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थपोस्टमा पनि पर्याप्त औषधि छैन । सर्वसाधारणले नि:शुल्क भनिएकै औषधि किनेर खानुपर्ने बाध्यता छ । ‘कहिले बन्द त कहिले टेन्डरका नाममा औषधि अभाव देखाइन्छ, सिटामोलबाहेकका औषधि बाहिर किन्न लगाइन्छ,’ कुमारवर्तीका मोहन शर्माले भने, ‘हामी सर्वधासाधारण स्वास्थ्य सेवाबाट समेत ठगिएका छौं ।’ देवचुली स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि हुनुपर्नेमा २५ प्रकारका भन्दा पाइँदैनन् ।

ज्वरो, रुघाखोकी, चोटपटकजस्ता सामान्य स्वास्थ्य समस्या र गर्भवती महिलाका लागि आवश्यक औषधि भने अभाव नरहेको वरिष्ठ जनस्वाथ्य प्रशासक अरुणकुमार महतोले दाबी गरे । जिल्ला जनस्वास्थ्यमा आवश्यक औषधि खरिदका लागि बजेट थोरै हुँदा समस्या छ । अहिले टेन्डरमार्फत खरिद गरिएकाले केही दिनभित्र हेल्थपोस्टसम्मै सबैजसो औषधि पुग्ने महतोले बताए ।

प्रकाशित : माघ ४, २०७३ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?