२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यातायात कार्यालयमा घटेन दलालको चलखेल

नियन्त्रण गर्न प्रहरी परिचालन
प्रशान्त माली

ललितपुर — सादा पोसाकका सुरक्षाकर्मीको एउटा टोली एक महिनाअघि यातायात कार्यालय एकान्तकुनामा पुग्यो । दलालको चलखेल बुझ्न परिचय लुकाएर गएको टोलीले कार्यालयअघि भेटिएका दलालसित सवारी अनुमतिपत्र बनाइदिन अनुरोध गर्‍यो । दलालले पनि ग्राहक ठानेर नक्कली होइन सक्कली नै बनाइदिने भन्दै १५ हजार रुपैयाँ लाग्ने बताए ।

यातायात कार्यालयमा घटेन दलालको चलखेल

लगतै पक्राउ परेका ती दलालले बयानमा सवारी प्रशिक्षण दिने, अनुमतिपत्र मिलाइदिने र सवारी दर्ता किताबको नवीकरण गर्ने गरेको स्विकारे । यो कार्यालयमा दलालको चलखेल कति हुन्छ भन्ने सामान्य उदाहरणमात्र हो ।

दलाल पक्राउपछि एक दिन कार्यालयको स्थिति सामान्य बन्यो । लगतै भालिपल्टदेखि दलालको चलखेल पहिलाको जस्तै हुन थाल्यो । चलखेल अत्यधिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो ।

दलालले अति गर्न थालेपछि जिविस हलमा बुधबार सम्पन्न जिल्लाका प्रमुखहरूको बैठकमा यातायात कार्यालयले प्रहरी प्रशासनलाई हटाउन अनुरोध गरेको छ । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) बागमती एकान्तकुनाका सूचना अधिकारी ईश्वरराज रेग्मीले कान्तिपुरसित भने, ‘कार्यालयमा हामी सुशासन चाहन्छौं ।’

महानगरीय प्रहरी वृत सातदोबाटो र उपमहानगरपालिका नगर प्रहरी बलको संयुक्त टोलीले बिहीबार बिहान कार्यालयमा छडके जाँच गर्‍यो । कार्यालयबाट दलालहरूको भागभाग भयो । दलालहरू पक्राउ गर्न असफल भए पनि कार्यालयअघि राखेको फोटोकपि मेसिन, दर्ता फारमलगायत सामान बरामद गर्न सफल भएको उपमहानगरपालिकाका नगर प्रहरी बल प्रमुख प्रहरी नायव उपरीक्षक कदमलाल महर्जनले बताए । 

‘जनशक्ति अभाव भए पनि यातायात कार्यालयमा नियमित निगरानी गर्न थालेका छौं,’ उनले भने, ‘लगनखेल, मंगलबजार खटाउनुपर्ने प्रहरी नखटाई लगातार चार/पाँच दिन यातायात कार्यालयमा खटाउँछौं ।’

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पीताम्बर अधिकारीले दलालको चलखेल हटाउन प्रहरीलाई नियमित परिचालन गरिने जानकारी दिए । उपनपामा पनि सामान फिर्ता लैजान आएका दलाललाई नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक महर्जनले अब यातायातमा गुन्डागर्डी नचल्ने जवाफ दिएर फर्काएका थिए ।

यातायात कार्यालय सवारी अनुमतिपत्र फाँटबारे जानाकार एक कर्मचारीका अनुसार सवारी अनुमतिपत्र बनाउने क्रममा दलाल र कर्मचारीबीच मिलेमतोमा हुने गरेको छ । मिलेमतोमा राजधानीका केही ड्राइभिङ सेन्टरका सञ्चालकसमेत संलग्न छन् । जिल्ला अनुसन्धान अधिकृत भूमिप्रसाद पाठकका अनुसार केही सक्रिया दलालहरूले कम पढेलेखेका सेवाग्राहीलाई आफ्नो प्रभावमा पारेर एउटा लाइसेन्स बनाएको १२ देखि १५ हजार रुपैयाँसम्म लिने गरेको भेटिएको बताए । 

‘लिखित पास भएर पनि ट्रायलमा फेल भएका व्यक्तिहरू दलालको सम्पर्कमा जाने गरेका छन्,’ उनले भने, ‘सवारी अनुमतिपत्रमा आर्थिक घोटाला र चलखेलको गुनासो आउने गरेको छ ।’

कार्यालयमा चलखेल कम गर्न सिसिटिभी राखे पनि हाल काम नलाग्ने बनाइएको सेवाग्राही बताउँछन् । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले यातायात कार्यालयमा हुने चलखेल अन्त्य गरिने बताए । ‘सुधार गर्नुपर्ने कुरा धेरै छन्,’ उनले भने, ‘क्रमश: सुशासन कायम गर्दै लैजाने छौं ।’

दलालले १० रुपैयाँमा सजिलै पाउने एउटा दर्ता फारमको ३०, लिखित परीक्षाको नतिजा जानकारी गराइदिने भन्दै ३०, लिखित परीक्षामा आउने प्रश्नावली भन्दै केही प्रश्न दिएर ५ सयदेखि हजार रुपैयाँसम्म लिने गर्छन् ।

 

प्रकाशित : माघ ६, २०७३ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?