१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडकमै जाँचिन्छन् बिरामी

दुई तिहाइभन्दा बढी स्वास्थ्य चौकीमा पर्याप्त जनशक्ति र स्रोतसाधन छैनन्
अगन्धर तिवारी

पर्वत — चल्तीको सडकमा छिनछिनमा सवारी हुइँकिरहन्छन् । त्यही सडकछेउ सुताइएका छन् बिरामी । हेल्थ असिस्टेन्ट गीता कुँवर उनको स्वास्थ्य परीक्षण गरिरहेकी छन् । सवारीको धुवाँ अनि धुलोको मुस्लो सोझै मुखमा आइपुग्छ ।

सडकमै जाँचिन्छन् बिरामी

कुँवरले त यस्तो अवस्था वास्ता गर्नै छाडिसकिन्, बिरामीलाई भने धुलोले खपिनसक्नु पारेको प्रस्टै देखिन्छ ।  

यो कुनै घुम्ती स्वास्थ्य शिविर होइन, मुडिकुवास्थित स्वास्थ्य चौकी हो । ‘साँघुरा तीन कोठा छन् । स्टोर, ड्रेसिङ र फर्निचर राख्ने ठाउँसम्म छैन,’ कुँवरले भनिन्, ‘पाँच जना स्टाफ बस्नै मिल्दैन । भित्र कसरी बिरामी जाँच्नु ?’  स्रोतसाधन नभएकै कारण यो स्वास्थ्य चौकीले चोटपटक लागेका, सुत्केरी र गर्भ परीक्षणका लागि आउनेलाई बाहिरैबाट रिफर गरिदिन्छ ।

सरकारले आर्थिक वर्ष २०७०/७१ देखि मुलुकभरका उपस्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी स्वास्थ्य चौकी बनाएको थियो । तर, तीन वर्ष बित्दा पनि स्तर वृद्धि गरिएका भनिएका जिल्लाका दुई तिहाइभन्दा बढी स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुपर्ने सुविधा र स्रोतसाधन कागजमै सीमित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म ३६ वटा स्वास्थ्य चौकी पुरानै गाविस कार्यालय र भाडाका घरमा छन् । तिनमा दरबन्दीअनुसार कर्मचारी र सेवा उपलब्ध छैनन् ।  जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी ऋषिराम पौडेलका अनुसार ५६ स्वास्थ्य चौकीमा २५ जना हेल्थ असिस्टेन्टको दरबन्दी अझै खाली छ । 

त्यस्तै ४२ जना अनमीको पदपूर्ति हुन सकेको छैन । ‘बर्थिङ सेन्टरका लागि ३ जना अनमी अनिवार्य आवश्यक हुन्छ,’ उनले भने, ‘धेरैजसोमा दुई जना पनि छैनन् । सेवा विस्तार भनेर मात्रै भएन, जनशक्ति र पूर्वाधार मुख्य कुरा हो ।’ चालु वर्षसम्म २५ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आए पनि सबैमा चौबिसै घण्टा सेवा दिन नसकिएको उनले बताए । 

जनस्वास्थ्यका प्रशासन अधिकृत पोषनाथ शर्माका अनुसार दरबन्दीका कर्मचारी आउन ढिलाइ भएको बताए । ‘हामीले गत वर्ष नै माग गरी पठाएका हौं,’ उनले भने, ‘अख्तियारमा उजुरी परेर एचएको पदपूर्ति रोकिएको छ । आउँदो फागुनसम्म सबै नभए पनि अधिकांश आपूर्ति हुने आशा छ ।’ २५ हेल्थ असिस्टेन्टसहित २७ अहेव, ४२ अनमी खाली रहेको उनले बताए । त्यस्तै रेडियोग्राफर, ल्याव टेक्निसियन र स्टाफ नर्स एक–एक जनाको दरबन्दी रिक्त छ ।

दरबन्दी भएका स्वास्थ्य चौकीमा पनि भवन र औषधि नहुँदा विस्तारित सेवा प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । ‘उपचार गर्ने ठाउँ छैन । संरचना नै नभएपछि जनशक्तिले मात्रै भएन,’ थापाठाना स्वास्थ्य चौकी इन्चार्ज जनक तिवारीले भने ।  

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र बरालले सबै पूर्वाधार र जनशक्ति पदपूर्तिको काम अघि बढिरहेको बताए । ‘५ वर्षभित्र सबै स्वास्थ्य चौकीका भवन बनिसक्ने र जनशक्ति पनि व्यवस्था गर्ने मन्त्रालयको योजना आएको छ,’ उनले भने, ‘सबैमा प्रक्रिया अघि बढेको छ ।’ 


सिटामोलसमेत छैन
लमजुङ (कास)– जिल्लाका स्वास्थ्य संस्थामा सिटामोलमेत पाउन छाडिएको छ । सरकारले नि:शुल्क दिनुपर्ने भनी घोषणा गरेका सबैजसो औषधिको अभाव छ ।

उदीपुरका पुरुषोत्तम जोशीले स्वास्थ्य चौकीमा नि:शुल्क औषधि नहुँदा बिरामी महँगो तिरेर सदरमुकाम तथा सहरबजारका अस्पताल धाइरहेको बताए । ‘हेल्थपोस्टमा औषधि छैन भन्छन् । बिरामीले बेंसीसहर गएर किनेका छन्,’ उनले भने । 

स्वास्थ्य संस्थामा सिटामोललगायत अत्यावश्यक औषधि सकिएको स्वास्थ्य चौकीका प्रमुखहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले नि:शुल्क दिने अधिकांश औषधि दुई महिनायता आएको छैन । 

उदीपुर स्वास्थ्य चौकीका इन्चार्ज कालिका ढकालले ज्वरो आएका बालबालिकालाई खुवाउने झोल औषधि (सिटामोल) सकिएको बताए ।  ‘बिरामी आउँछन् । औषधि दिनुपर्नेमा सम्झाइबुझाई पठाउन बाध्य छौं,’ उनले भने । अहेव राजकिशोर कुशबाहका अनुसार सरकारले दिने अधिकांश औषधि सकिएका छन् । सिटामोल, ब्रुफिन, एमोक्सिलिन, सल्फामेथोजाजोल, डोक्सिसाइक्लिन, भिटामिन बी कम्प्लेक्स लगायत २०/२२ प्रकारका औषधि सकिएको उनले बताए ।

जिल्लाका रम्घा, ईशानेश्वर, गौंडा, दुराडाँडा, चन्द्रेश्वरलगायत सबैजसो  स्वास्थ्य संस्थाका  चौकीमा औषधि सकिएको छ ।  

वरिष्ठ जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागार्इँले औषधिको अभाव नभई न्यून मात्रै भएको बताए । उनले भर्खरै २६ लाख ७० हजार रुपैयाँ बराबरको औषधि खरिद गरेर ल्याएको बताए । ‘औषधि खरिद प्रक्रिया लामो भयो । एक महिना लाग्यो’, उनले भने, ‘प्रक्रियागत ढिलाइका कारण समयमा आउन सकेन ।’ गाउँगाउँमा एक साताभित्र औषधि पठाइने चापागाईंले बताए । उनका अनुसार यसले कम्तीमा ५ महिना धान्छ । ‘थप औषधि खरिदका लागि विभागमा २५ लाख माग गरेका छौं,’ उनले भने ।

प्रकाशित : माघ १६, २०७३ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?