२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कारबाही परेकालाई अनुमति

ललितपुर — पटकपटक कारबाहीमा परेको खानीलाई सञ्चालनको स्वीकृति दिइएको छ । लेले नल्लुमा रहेको निराकार रोडा ढुंगा उद्योगलाई जिल्ला खानी विकास समितिले सञ्चालनको अनुमति दिएको हो ।

२०७३ वैशाख र जेठमा अवैध सञ्चालन गरेको आरोपमा उद्योग कारबाहीमा परेको थियो । प्रहरीले खानीबाट अवैध ओसारपसार गरेको आरोपमा पनि उद्योगलाई कारबाही गरेको थियो । सांसद, राजनीतिक दलका प्रतिनिधि, प्रजिअ, स्थानीय विकास अधिकारी, खानी विकास शाखा प्रतिनिधिको बैठकले खानीलाई बिहीबार सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । 

स्रोतका अनुसार निराकार उद्योग सञ्चालन भएसँगै क्रमश: यस क्षेत्रका अरू खानीलाई पनि अनुमति दिने तयारी भइरहेको छ । स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले संसदको वातावरण संरक्षण समितिको सिफारिसका आधारमा सञ्चालन स्वीकृति दिएको बताए । ‘पुनर्निर्माणका लागि ढुंगा, गिट्टी आवश्यक परेकाले पनि खानी सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘मापदण्ड नपुर्‍याए कारबाही गर्छौं ।’

नवीकरणमा दाहाल र खानी सञ्चालक मधुसूदन डोटेलबीच मिलेमतो रहेको स्रोतको दाबी छ । संसदको वातावरण संरक्षण समितिले खानी क्षेत्रको अनुगमनै नगरी सञ्चालनको अनुमति दिइएको हो । खानी विभागले पनि सञ्चालन स्वीकृति दिन जिविसलाई निर्देशन दिएको थियो । समितिले जिविसलाई दिएको पत्रमा मापदण्ड पुर्‍याउने सर्तमा खानी सञ्चालन स्वीकृति दिने उल्लेख छ । यसका लागि जिविसले माघ १७ मा खानीलाई स्वीकृति दिन संसदको वातावरण संरक्षण समितिसँग सुझाव मागेको थियो । 

बैठकमा क्षेत्र नम्बर १ का कांग्रेस सांसद उदयशमशेर राणा, २ का चन्द्र महर्जन, एमालेका समानुपातिक सांसद सुशीला नेपाल, माओवादी केन्द्रका योगेन्द्र घिसिङ सहभागी थिए । यस्तै कांग्रेसका प्रतिनिधि भीमसेन घिमिरे, एमालेका श्यामकृष्ण सिलवाल, माओवादी केन्द्रका राम आचार्य, भीमसेन घिमिरेको पनि सहभागिता थियो । सिलवालले निराकारको सबै मापदण्ड पुगेकाले स्वीकृति दिइएको बताए । ‘खानीको माथिल्लो भागमा बेन्चिङ स्टिम गरिएको छैन,’ उनले भने, ‘फेरि अनुगमन गर्ने क्रममा बनाइसक्ने सर्तमा स्वीकृति दिएका छौं ।’ 

प्रकाशित : माघ २४, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?