उपचार पाउँदैनन् कुपोषित बालबालिका, उपचार नहुँदा अधिकांसको ज्यान खतरामा

मध्यम र कडा खालको कुपोषण भएका १ हजार ३ सय २५ मध्ये ७ सय ६१ बालिका छन्
बसन्तप्रताप सिंह

बझाङ — सैनपसेला गाविस वाइकोटकी शान्ति जप्रेलको घर पुगेका जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृतले उनकी ३ वर्षे छोरी अस्मितालाई कडा खालको कुपोषण भएको पत्ता लगाए । कुपोषित बालिकाको उपचार निशुल्क गरिने भन्दै जिल्ला अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गर्न अनुरोध गरे ।

छोरीको उपचारको लागि स्थानीय बैद्यकोमा ७/८ हजार खर्च गरिसकेको भएपनि निको नभएकाले आफुले छोरीको माया मारिसकेको भन्दै स्वास्थ्यकर्मीको अनुरोध शान्तिले अस्विकार गरिन । श्रीमान ४ वर्ष देखि मलेसिया गएको, घरमा ससुरा आफु र तीन छोराछोरी मात्र भएकाले उनको कुरुवा वस्दा घरको काम अलपत्र हुने भन्दै उनले छोरीको उपचार गर्न मानिनन् । पोषण अधिकृत इन्द्र कार्कीले अस्मितालाई उपचारका लागि भर्ना नगरे प्रहरीमा उजुरी गर्ने धम्की दिए । उनले बाध्य भएर छोरीलाई जिल्ला अस्पतालमा ल्याइन ।

दुइ दिन अस्पताल वसिन । तेस्रो दिन दिउंसो खाजा खाने निहुं पारेर छोरीलाई लिएर शान्ति गायब भइन । विरामी हराएपछि अस्पतालमा खैलाबैला मच्चियो । उनको खोजी गरिदिन अस्पतालले प्रहरी गुहार्‍यो । खोज्दै जाँदा उनी भागेर घर गएको खुल्यो । पुसको अन्तिम सातानै बालिका अस्मिताको मृत्यू भैसकेको रहेछ ।

‘तीन दिन सम्म अस्पताल बस्दा घरमा गाइबस्तु र घरको काम डामाडोल भैसकेको थियो । बुढा ससुराले घर धान्न सक्ने कुरा भएन । मरे मर्ली बांचे बांच्ली भनेर अस्पतालबाट भागेर आए । घर पुगेको भोली पल्ट छोरी मरि,’ शान्तिले भनिन् । अस्पताल जानु अघि नै छोरी मर्छे भन्ने आफुलाई पक्कापक्की भएकाले अस्पताल जान नमानेको उनले बताईन ।

पुसको पहिलो साता खिरातडी गाविसकी साढे ४ वर्षिया बालिका करिश्मा कुवंरको पनि कुपोषण कै कारण ज्यान गयो । स्वास्थ्यकर्मीले उनको परिवारलाई उपचार गर्नका लागि धेरै सम्झाए । ‘छोरी मरे अर्काे जन्माउला । अस्पतालमा गएर हप्तौ उपचार गर्दा घरको काम विग्रन्छ’ भनेर परिवारले उपचार गर्नै मानेन । जिल्ला स्वास्थ्य कार्यालयको शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममा प्रमुख डा. सुनिल गजुरेलले भने, ‘जति सम्झाउदा पनि परिवारले मानेन । हेर्दा हेर्दै तिनको पनि ज्यान गयो ।’

यी दुबै गाउँबाट सदरमुकामस्थित जिल्ला अस्पताल आउजाउ गर्न एक दिन लाग्छ । तर, जिल्ला अस्पताल सिमखेतबाट करिब ५ सय मिटर दुरीको रिठापाटा गांउमा पनि यस्तै घटना भयो । स्थानीय तुलसी नेपाली का ३ छोरीमा कडा खालको कुपोषण छ । ३ मध्ये पनि दुइ वर्षकी सरस्वतीको समयमा उपचार भएन भने ज्यानै जाने खतरा छ । स्वास्थ्यकर्मी घरमै गएर दशौ पटक उपचारको लागि अनुरोध गर्दा पनि उनले मानेकी छैनन् ।

‘मेरो जेठो छोरा पनि सानोमा यस्तै थियो । अहिले बैङलोर गएर पैसा कमाउने भैसक्यो । हाम्रो नाम बेचेर पैसा खानलाई दिन दिनै अस्पताल भर्ना गर्नु पर्छ भनेर हैरान पार्छन । धेरै दिन गाली गरेर पठाइसके आउन छाडेका छैनन,’ तुलसीले भनिन् ।

रिठापाटा गाविसमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यलयकी पोषण अधिकृत सविता शाही ठकुरीले तुलसीलाई घरमै गएर धेरै पटक उपचार गर्न सम्झाएको तर उनले उल्टै गाली गरेर पठाउने गरेको सुनाइन । सविताले भनिन, ‘मरे मेरै छोरी मर्छन । तिमिहरुलाई के पर्‍यो भनेर उल्टै हप्काउँछन । बच्चीको अवस्था हेरेर दया लाग्छ । डाक्टरहरुले पनि सम्झाउदा मान्दै मानेकी छैनन ।’

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म जिल्लाभर मध्यम र कडा खालको कुपोषण भएका कुल १ हजार ३ सय २५ वालवालिका मध्ये ७ सय ६१ बालिका छन । अभिभावकले उपचार गर्न नमान्दा यी मध्ये अधिकांस बालिकाको ज्यान खतरामा छ ।

‘छोरा र छोरीमा यो हद सम्मको विभेद होला भनेर कल्पना सम्म गरेको थिइन,’ जिल्ला स्वास्थ्य कार्यालयको शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममा प्रमुख डा. सुनिल गजुरेल भन्छन, ‘निशुल्क उपचार हुन्छ । कुरुवालाई पनि खाना वस्नको व्यवस्था हामी नै गछौ भन्दा पनि छोरीको उपचार गर्न मान्दैनन । यो मरे अर्की जन्माउला भनेर सजिलै भन्छन । म त छक्क परेको छु ।’

अस्पतालमा उपचार गराउनुको साटो कुपोषित बालिकाहरुलाई स्थानीय बैद्य र धामी–झाक्रीलाई देखाउने चलन छ । बान्द्रे लागेको भन्दै जिउ भर बांदरको दिशा दलिदिने प्रचलन समेत रहेको डा. गजुरेलले बताए । जिल्लामा गरेको सर्वेक्षणमा खाद्यान्न अभाव, अशिक्षा, अन्धविश्वास र असुरक्षित खानपान लगायत व्यवहारका कारण यहांका धेरै जसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुपोषित मध्ये पनि आधा भन्दा बढी बालिका रहेका छन् । छोरा छोरीमा गरिने विभेदका कारण उपचार नपाउदा धेरै जसो बालिकाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विण्णु खतिवडाले बताए । ‘जिल्लामा उपचार नहुने खालका विरामीलाई हामी नै खर्च दिन्छौं । उपचार गर्न जाउ भन्दा पनि मान्दैनन्,’ उनले भने, ‘घरको काम अलपत्र पर्ने बाहाना देखाएर अस्पतालबाट भाग्छन ।’

घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको छ । दलित महिला संघकी अध्यक्ष आसा विक भन्छिन, ‘छोरा भए मिठो मसिनो खाना दिने, सुत्केरीलाई पनि माया गर्ने गर्छन । छोरी पाउदा परिवारले खानपिन र हेरचाहमा खासै वास्ता गर्दैनन । जन्मने वितिकै विभेदमा पर्ने भएकोले बालिकाहरुमा कडा खालको कुपोषण बढी देखिएको हो ।’

प्रकाशित : माघ २९, २०७३ १९:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

निर्माण सुरु भएको ३१ वर्षपछि कोटवाडामा पहिलो परीक्षण उडान, विमान हेर्न हजाराैंकाे भिड

स्थानीयले गरे नियमित उडान र सडक माग
तुलाराम पाण्डे

कोटवाडा (कालिकोट) — निर्माण सुरु भएको ३१ वर्षपछि कोटवाडास्थित सुनथराली विमानस्थलमा शनिवार परीक्षण उडान भएको छ । धावनमार्गको काम सकिएपछि तारा एयरको नाइन एन एवीएम नं को टुनवेटर विमान विहान ११ बजे अवतरण गरेको हो ।

वरिष्ठ क्याप्टेन सन्तोष शाहले परिक्षण उडान गरेका थिए । विमानस्थलको लोकेशन हेर्न क्याप्टेन शाहसहित संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीसहितको टोली साताअघि हेलिकप्टरमा कोटवाडा पुगेर फर्किएको थियो ।

विमान हेर्न यहाँका लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकुसहितका आसपासका गाविसबाट ५ हजार बढी स्थानीय कोटवाडा पुगे । महिला लालाबाचा च्यापेर आएका थिए, बृद्धबृद्धा लठ्ठी टेक्दै विमानस्थल पुगे । स्थानीयले वर्षौदेखिको जहाज सपना पुरा भएपछि पाइटलसहितको टीमलाई बाजागाजाले स्वागत गरे । स्थानीय हुडे नाच देखाए । देउडा खेलेर रमाइलो पनि गरे । कोटवाडामा विमान अवरण भएपछि स्थानीय हर्षित छन् । ‘चिलगाडी (जहाज) आउछ भनेर सुनथरालीको पाखो खन्न थालेको ३१ वर्ष भयो,’ कोटवाडा ३ का ४४ वर्षीय मानवहादुर विष्टले खुशी हुदै भने, ‘बल्ल आज आफ्नै ठाउँमा बसेको देख्न पाइयो ।’

उनका अनुसार ०४२ मा तत्कालीन जिल्ला पंचायत सभापति दीपवहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार दिएर काम सुरु गरिएको थियो । काम सुरु हुदा प्रति दिन ५ रुपैया ज्यालामा काम गरेका मजदुरले ०७३ मा प्रति दिन ४ सय रुपैयासम्म पाए । सशस्त्र द्वन्द्वमा मजदुर मारिएपछि अवरुद्ध भएको निर्माण काम लोकतन्त्र आएपछि दलिय भागबण्डामा गठन भएका उपभोक्ता समितिले भने यहाका मजदुरलाई ज्याला नदिएको गुनासो छ ।

कहिले बजेट अभाव, कहिले सशस्त्र द्वन्द्व त कहिले उपभोक्ता समितिको ठगीले कामले गति लिन नसकेको कोटवाडा विमानस्थल निर्माणको ढिलाईले कालिकोटबासी दु:खी भए पनि जहाज आएपछि हवाइ सपना पुरा भएको स्थानीय समाजसेवी पदमवहादुर बुढाले बताए । ‘तन्नेरी हुदादेखि एयरर्पोट बनाउन पहल थालेको अब त बुढो भइयो,’ कुमालगाउ गाविसका पुर्व अध्यक्ष बुढाले सुनाए ‘हाम्रो पालामा त जहाज देख्न पाइदैन कि भन्ने लागेको थियो, देख्न पाइयो चढ्न कहिले पाइने हो अझै ठेगान छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्रीले नियमित उडानका लागि पहल भइरहेको बताए । उनले केही सातामै उद्घाटन गरेर यात्रु चढ्न पाउने जनाए ।

कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नवहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि कर्णालीका अन्य जिल्लाको भन्दा लामो र फराकिलो रहेको दावी गरे । उनका अनुसार विमानस्थलको लम्बाई ६ सय ९० मिटर र चौडाई ४० देखि ६० मिटर छ ।

चार वर्षअघि परिक्षण उडान गर्ने भनेर प्रचार गर्ने तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडवहादुर विश्वकर्माको पालामा कोटवाडा विमानस्थल संचालनमा ल्याउन ७ करोड रकम विनियोजन गरिए पनि दलीय भागबण्डामा बनेका उपभोक्ता समितिले काम नगरेर रकम मात्र दुरुपयोग गरेको स्थानीयको गुनासो छ ।

दलीय भागवण्डामा बनेका उपभोक्ता समितिले ६० लाखको दरले ५ वटा उपभोक्ता समिति बनाएर काम गरे पनि कामदारको ज्याला अझै नदिएको बताए । ज्याला विवादमा काम बन्द भएको विमानस्थलमा कर्णालीकै नेता जीवनवहादुर शाही पर्यटन मन्त्री भएपछि कोटवाडा विमानस्थल संचालनमा ल्याउने बाचा गरेअनुसार दुई पटक कोटवाडा विमानस्थलको अनुगमन गरेर कामलाइृ तीब्रता दिन पहल गरेका थिए ।

मन्त्री बनेको केही सातामै मुगु हुदै हेलिकप्टरमा कोटवाडा विमानस्थल अनुगमन गर्न पुगेका मन्त्री शाहीले स्थानीयलाई माघ भित्रै विमानस्थल परिक्षण उडान गर्ने बाचा गरेका थिए । विमानस्थल नहुदा कालीकोटको लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकु, मेहेलमुडीलगायतका गाविसका बासिन्दाले आवतजावत र सामान ढुवानीमा सास्ती खेप्दै आएका थिए ।

०७० को संविधान सभाको चुनावमा एमाओवादी, कांग्रेस, एमाले र राप्रपा ४ वटै प्रमुख दलका उम्मेदवारले पहिलो प्राथमिकतामा राखेर कोटवाडा विमानस्थल एक वर्ष भित्रै संचालनमा ल्याउने चुनावी नारा बनाए पनि कामले गति लिन सकेको थिएन । ०६८/०६९ भित्रै सम्पन्न गर्ने घोषणाकासाथ तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६७/०६८ मा ७ करोड रकम विनियोजन गरे पनि काम हुन सकेन ।

कोटवाडा विमानस्थल संचालनमा आए पनि विमानस्थल पुग्ने सडक, सदरमुकाम मान्मबाट कोटवाडासम्म केबलकार र नियमित उडानका लागि बजेट माग गर्दै कालिकोटबासीको तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाइएको तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले टेलिफोनमा बताए । उनले खुलालु पुल निर्माण र कोटवाडा विमानस्थल पुग्ने सडक तत्काल निर्माण गर्नुपर्ने बताए ।

सशस्त्र द्वन्द्वको बेला यहीको विमानस्थलमा काम गर्ने क्रममा स्थानीय ४ जनासहित धादिङ्ग, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको तत्कालीन नेपाली सेनाले हत्या गरेको थियो । ती मध्ये धादिङ्ग जोगिमाराका १७ जना चेपाङ्ग पनि परेका थिए । ०५८ को फागुनमा माओवादीले अछामको सदरमुकाम मंगलसेन आक्रमण गरेपछि दोषी खोज्दै आएको सेनाको हेलिकोप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएपछि सेनाले कामदारलाई माओवादी भन्दै लाम लगाएर गोली ठोकेको स्थानीयबासी बताउँछन् ।

बहुदलीय ब्यवस्थापछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०४८ मा कोटवाडा विमानस्थलको काम सुरु गरे पनि ०५२ देखिको जनयुद्धले काम प्रभावित बन्न पुगेको थियो । सशस्त्र द्वन्द्वको बेला कोटवाडा विमानस्थल निर्माणको नाममा हवाई विभाग र ठेकेदारको मिलेमतोमा लाखौ रकम अनियमितता भएको एमाले सांसद तुलाराज विष्टको दावी छ ।

भौगोलिक विकटता, न्यून रकम विनियोजन हुनु र स्थानीय बासिन्दामा अपनत्वको भावना नहुनुजस्ता समस्याले पनि विमानस्थल निर्माण अलपत्र परेको स्थानीयको भनाई छ । दलीय उपभोक्ता समिति बनाएर परम्परागत औजारले विमानस्थल खन्दा काममा ढिलाई भएको स्थानीय हिरामणि उपाध्यायले बताए ।

प्रकाशित : माघ २९, २०७३ १९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT