नेपालको शान्ति प्रक्रियाको सफल सन्देश विश्वमा फैलाउन आवश्यक : कोलम्बियन राष्ट्रपति

चन्द्रशेखर अधिकारी

वासिङ्टन डिसी (अमेरिका) — लामो द्वन्द्वपछि शान्ति उन्मुख कोलम्बियाले नेपालको शान्ति प्रक्रियालाई एक सफल मोडल भनेको छ । यो मोडलबारे विश्वभर चर्चा हुनपर्ने कोलम्वियन धारणा छ । नेपालको ‘होमग्रोन’ शान्ति प्रक्रिया विश्वकै लागि एक उदाहरण रहेकोले यो उपलब्धिलाई नेपालले उपयोग गर्न सक्नुपर्ने सुझाव कोलम्बियाको छ ।

नेपालको शान्ति प्रक्रियाको सफल सन्देश विश्वमा फैलाउन आवश्यक : कोलम्बियन राष्ट्रपति

लामो द्वन्द्वपछि शान्ति उन्मुख कोलम्बियाले नेपालको शान्ति प्रक्रियालाई एक सफल मोडल भनेको छ । यो मोडलबारे विश्वभर चर्चा हुनपर्ने कोलम्वियन धारणा छ ।

नेपालको ‘होमग्रोन’ शान्ति प्रक्रिया विश्वकै लागि एक उदाहरण रहेकोले यो उपलब्धिलाई नेपालले उपयोग गर्न सक्नुपर्ने सुझाव कोलम्बियाको छ । माओवादीहरु हतियार बिसाएर शान्ति प्रक्रियामा आएपछि दुईपटक संविधानसभाको निर्वाचन भएर संविधानसमेत जारी भइसकेको अवस्थामा नेपाल सफल मोडलको रुपमा रहेको छ । जारी संविधान कार्यावन्यनलाई पूर्णता दिँदै नेपाल अब दिगो शान्तिमा अघि बढ्न नोवल शान्ति विजेता समेत रहेका कोलम्बियाको राष्ट्रपति जउन मनुअल सन्तोषले सुझाएका छन् । कोलम्बियाको लागि नेपालको गैरआवासीय राजदूत अर्जुनकुमार कार्कीले राष्ट्रपति जउन मनुअल सन्तोषसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

वोगतास्थित राष्ट्रपति कार्यालयमा अन्य पाँच मुलुकका राजदूतसँगै कार्कीले पनि ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए । कोलम्वियाको द्वन्द्व अन्त्यको लागि भूमिका निर्वाह गरेकै कारण राष्ट्रपति सन्तोष सन् २०१६ को नोवल शान्ति पुरस्कारबाट सम्मानित भएका हुन् । उनी पूर्वपत्रकार समेत हुन् । लामो द्वन्द्वको चपेटामा परेको कोलम्बियालाई उनको नेतृत्वले सुरक्षित अवतरण गराएको थियो ।

राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाउने कार्की पहिलो नेपाली राजदूत हुन् । कोलम्बियासँग नेपालको सन् १९८७ मा नै कूटनीतिक सम्बन्ध कायम भए पनि राजदूतले ओहोदाको प्रमाण पत्र बुझाउन जाने गरेका थिएनन् । गैरआवासीय राजदूत तोकिएको भए पनि द्वन्द्वको कारण त्यहाँ राजदूत नपुगेका हुन् । नोवल शान्ति पुरस्कार समेत विजेता रहेका राष्ट्रपतिले राजदूत कार्कीसँग छुट्टै लामा कुरा गरेका थिए । नेपालको शान्ति प्रक्रियादेखि अहिलेसम्मको सबै विषयमा जानकारी लिने र आफ्नो शान्ति प्रक्रियाको अनुभव सुनाउने काम समेत भएको राजदूत कार्कीले बताए ।

अहिले त्यहाँ पनि शान्तिको सुरुवात भएकोले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन कार्की गएका हुन् । उनले नेपालको राजनीतिक अवस्था दुईपक्षीय सम्बन्ध विस्तार लगायतमा लामो कुराकानी भएको जानकारी कोलम्बियाबाट कान्तिपुरलाई बताए । ‘नेपालबारे राम्रो धारणा रहेको पाएँ । नेपाली राजनीतिक दलहरुको मिलन र सहकार्यबाट धेरै मुलुकले ज्ञान आर्जन गर्न सक्ने र त्यसलाई नेपालले पनि प्रमोसन गर्न आवश्यक छ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै राजदूत कार्कीले भने, ‘हामी पनि नेपालसँग निकट रहेर काम गर्न चाहन्छौं । दक्षिण दक्षिण सहकार्यअन्तर्गत धेरै कुरा हुन सक्छ । यसमा दुवै देश मिलेर काम गर्न आवश्यक छ ।’

राजदूत कार्कीले त्यहाँको परराष्ट्रमन्त्री मारिया एन्जेला होल्गुयन क्युलर र राजनीतिक दलका नेताहरुलाई समेत छुट्टा छुट्टै भेटवार्ता गरेर नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका छन् । उनले परराष्ट्रमन्त्रीसँग दुईपक्षीय कूटनीतिक स्थायी संयन्त्र बनाउने विषयमा पनि छलफल गरेको जानकारी दिँदै परराष्ट्रमन्त्रीस्तरको भ्रमण गराउने पहल समेत गरेका छन् । उच्चस्तरको भ्रमण र राजनीतिक दलहरुबीच अनुभवको आदानप्रदान तथा सहकार्य लगायतको विषयमा समेत छलफल भएको उनले बताए । परराष्ट्रमन्त्रीले नेपालीहरु कोलम्बियामा रहेको समेत बताइन् । उनले राजदूत कार्कीसँग छुट्टै कुरा गर्दै आफूले नेपाल भ्रमण गर्न चाहेको समेत बताउँदै नेपालको अनुभव आफूहरुको लागि अमूल्य रहने समेत बताउँदै भनिन्, ‘दलहरुबीचको सहकार्य नेपालको पछिल्लो चासो दिन लाएकाको उदाहरण हो ।’ नेपाल र कोलम्बियाबीच जनस्तरको सम्बन्ध स्थापना गर्न आवश्यक रहेको उनले बताइन् । राजदूत कार्कीले यसमा नेपाल सधैं तयार रहेको भन्दै सहकार्य अघि बढाउन जोड दिएको बताए ।

प्रकाशित : फाल्गुन ६, २०७३ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?