कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अख्तियार कर्मचारी बनेर ठग्ने पक्राउ

लक्ष्मी साह

बारा — अख्तियारको कर्मचारी, सीआइबी प्रहरी, नेपाली सेना र जिल्ला प्रशासनको अधिकृत भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जीतपुरबाट पक्राउ गरेको छ । साविक सप्तरी बिसहरिया ७ बाट बसाई सरी हाल बाराकै प्रसौनी २ स्थित बसोबास गर्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको हो ।

अख्तियार कर्मचारी बनेर ठग्ने पक्राउ

गढीमाई नगरपालिका ७ जीतपुरस्थित सिधरियाटोलमा उनी तीन दिनदेखि डेरा गरी बस्दै आएका थिए । ठगीको घटना सर्लाहीमा भएकाले प्रहरीले उनलाई पक्राउ गरी हरिऔन प्रहरीलाई जिम्मा लगाएको छ ।

प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीका अनुसार पक्राउ परेका चौधरीको डेरामा छापा मार्दा एक थान कम्प्युटरको मोनिटर, ट्याब एक थान, सरकारी नम्बर प्लेट भएको बा२ब २४८३ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल एक थान, सञ्चार सेट (वाकीटकी) एक थान, नगद रुपैंयाँ एक लाख ९० हजार, सुनको सिक्री एक थान, पुरुषले लगाउने सुनको बाला एक थान बरामद गरिएको छ ।

यसैगरी सुनको औंठी एक थान, नेपाली सेनाको कम्ब्याड पोशाक, निजामति कर्मचारीले लगाउने सरकारी पोशाक, प्रहरीले लगाउने वर्दी र बुट, नेपाली सेनाको नक्कली परिचयपत्र, अरुको नामको चालक अनुमति पत्र, उनको सक्कली नागरिकताको प्रतिलिपी, अन्यको नाममा रहेको चेक बुक, एटीएम कार्डलगायत बरामद गरिएको छ ।

चौधरीले सर्लाही जिल्लाको हरिऔनबाट तीन लाख रुपैयाँ बराबरको ठगी गरेर फरार भएपछि उनको खोजी सुरु गरिएको थियो । हरिऔनस्थित सीता प्यालेस होटलमा कार्यरत कर्मचारीहरुसँग प्रति व्यक्ति दश हजारका दरले ८० हजार रुपैयाँ नगद ठगेर फरार भएको प्रहरीले जनायो । होटलमा चौधरीले करिब ४० हजार रुपैयाँ बराबरको उधारो खाएका थिए ।

पक्राउ परेका चौधरीले अरुको जमानीमा हरिऔनको स्थानीय आरती ज्वेलर्सबाट पुरुषले हातमा लगाउने एक थान सुनको बाला, सुनको एक थान सिक्री र सुन कै एक थान औंठीसमेत गरी एक लाख ८३ हजार रुपैयाँ बराबरको गहनाहरु कर्मचारीको परिचय दिएर उधारो लिइ फरार हुँदै आएका थिए ।

उनले आफ्नो नाम अजय गुप्ता भएको बताउँदै आएका थिए । तर उनको डेरामा छापा मार्दा उनको नागरिकता प्रतिलिपीले वास्तविक नाम विजेन्द्र खुलेको हो ।

प्रकाशित : फाल्गुन ७, २०७३ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?